मधेशी कलस्टरबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य बन्न सफल भएका उनी देशलाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउने अभियान तहत रास्वपामा प्रवेश गरेको बताउँछन् ।
What you should know
राजविराज — बुवा भूपेन्द्रनारायण कर्णले स्टेसनरी पसल सञ्चालन गरेर इन्जिनिरिङ पढाएका सप्तरीको कञ्चनरूप नगरपालिका–८ सर्वोदय टोलका ४४ वर्षीय खगेन्द्र कर्ण प्रतिनिधिसभा सदस्य बन्न सफल भएका छन् ।
सर्वोदय माध्यमिक विद्यालय कञ्चनपुरमा कक्षा १० सम्म पढेका उनी पोखराबाट स्कलरसीपमा इन्टरमिडिएट इन्जिनियरिङ (आई) सकाएर एकमी इन्जिनियरिङ कलेज काठमाडौंबाट ब्याचलर अफ इन्जिनियरिङ पढेका हुन् ।
उनी इन्जिनिरिङ पढिरहँदा नै ०६२/०६३ मा भएको लोकतान्त्रिक आन्दोलनमा होमिएका थिए । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को सक्रिय सदस्यका रूपमा विद्यार्थी राजनीतिमा सक्रिय भएका उनी विभिन्न जिम्मेवारी हुँदै पूर्वाञ्चल विश्वविद्यालय नेविसंघका संस्थापक अध्यक्षसम्म भए ।
उनी नेविसंघको ११ औं महाधिवेशनबाट उपाध्यक्ष पदका लागि चुनाव पनि लडेका थिए । तर, पराजय भए । पछि उनी नेपाल तरुण दलको केन्द्रीय सदस्यका रूपमा मनोनीत भए । तरुण दलको केन्द्रीय सदस्यमा तीन वर्ष जिम्मेवारी बहन गरेका उनी केही समयअघि मात्रै कांग्रेससँगको १५ वर्ष लामो राजनीतिक यात्रा टुंग्याएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका थिए ।
मधेशी कलस्टरबाट समानुपातिकमा प्रतिनिधि सभा सदस्य बन्न सफल भएका उनी देशलाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउने अभियान तहत रास्वपामा प्रवेश गरेको बताउँछन् ।
‘अहिले प्रतिनिधिसभा सदस्यका रूपमा म कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर योजनाहरू ल्याउनमा जोड दिन्छु,’ उनले भने, ‘कृषि क्षेत्रमा अत्यधिक सम्भावना बोकेको हाम्रो देश हो तर यहाँका कृषकलाई जहिले उन्नत बीउ, मल र सिँचाइका लागि अभाव र समस्या भइरहन्छ ।’ उनले देशमा भूमिगत सिँचाइलाई उपयोग गर्न नसकेको भन्दै भूमिगत सिँचाइमा जोड दिने बताए । उनले व्यावसायिक कृषिका लागि योजना ल्याउन सके मात्रै देश समृद्ध हुन सक्ने भएकाले त्यसका लागि योजना अघि सार्नुपर्ने खाँचो पनि औंल्याए ।
‘कृषि क्षेत्रका लागि ठूल्ठूला योजनाहरू दीर्घकालीन रूपमा ल्याउनुपर्छ । त्यसले पक्कै पनि कृषकको जीवनस्तर र आर्थिकस्तर उकास्न मद्दत पुग्छ,’ उनले भने, ‘कृषि क्षेत्रलाई व्यावसायीकरण गरेर मात्रै देश विकासमा टेवा पुग्न सक्ने मेरो बुझाइ हो । म यिनै योजना नीति तथा कार्यक्रममा समावेश गराउन पहल गर्छु ।’
मधेशका ८ जिल्लामा शिक्षा र स्वास्थ्यको स्तर खस्किँदै गएको भन्दै सांसद कर्णले त्यसमा सुधार गर्नका लागि पूर्ववर्ती सरकारले ल्याएका योजना नै पूरा गर्नमा जोड दिने बताए । ‘२०६२/०६३ अघिको इन्डेक्स र पछिको इन्डेक्स हेर्नुहुन्छ भने धेरै फरक देखिन्छ । मधेशका जिल्लामा शिक्षा र स्वास्थ्यको अवस्था अत्यधिक खस्किँदो छ,’ उनले भने, ‘मधेशका जनतालाई शिक्षा र उपचारका लागि विराटनगर–काठमाडौं धाउनुपर्ने अवस्था छ । त्यसलाई सुधार गर्नका लागि पूर्ववर्ती सरकारले ल्याएका रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बर्दिवास मेडिकल कलेजलगायतका योजना समयमै सम्पन्न गर्नेतर्फ मेरो जोड हुनेछ ।’
अन्य निःशुल्क आयोजनाका साथै पर्यटन क्षेत्रमा काम गर्नका लागि सरकारलाई घचघच्चाउनेसम्मको काम गर्ने सांसद कर्णको भनाइ छ ।
