युद्धको छायामा हुर्किएकी क्रान्तिशिखाको राजनीतिक फड्को

पत्रकारिता र मनोपरामर्श हुँदै राजनीतिमा प्रवेश गरेकी क्रान्तिशिखा धिताल समानुपातिकतर्फबाट सांसद बनेकी छन् ।

चैत्र १०, २०८२

प्रकृति दाहाल

The political leap of Krantishikha, who grew up in the shadow of war

What you should know

काठमाडौँ — माओवादी 'जनयुद्ध'को उद्गमथलो रोल्पामा हुर्किइन् क्रान्तिशिखा धिताल । युद्धको धुवाँ, बन्दुकको आवाज, डर त्रासका बीच बाल्यकाल बिताएकी उनी देशको सर्वोच्च नीतिनिर्माण स्थलसम्म आइपुगेकी छिन् ।

हालै सम्पन्न निर्वाचनमा लुम्बिनी प्रदेशबाट खसआर्य महिलाको प्रतिनिधित्व गर्दे संसद् प्रवेश गरेकी छन् । उनको सांसद्को परिचय पछाडि पनि थुप्रै परिचय छन् । उनी पेसाले मनोपरामर्शदाता हुन् भने पूर्वपत्रकार पनि उनको परिचय हो ।  

मानसिक स्वास्थ्यको क्षेत्रमा धेरै काम गर्न बाँकी छ । संसद्‌मा मुख्य एजेन्ड नै यही हुनेछ । रास्वपा पार्टी उदाएको छोटो समयमा नै करिब दुई तिहाइ मतका साथ संसद्मा प्रतिनिधित्व गर्दै छ । पार्टीको केन्द्रीय सदस्य क्रान्तिको पनि छोटो राजनीतिक यात्राले संसद् टेकेको छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ नै उनको दाबी थियो जनतासँग प्रत्यक्ष जोडिने, मतदाताको बीचमा गएर विचार राख्ने र प्रतिस्पर्धा गर्ने । उनको इच्छा भए तापनि पार्टीको निर्णय र समीकरणले उनलाई समानुपातिक प्रणालीतर्फ राख्यो । उनले भनिन्, ‘प्रत्यक्षमा नै लड्ने मेरो योजना थियो तर पार्टीले केही साथी समानुपातिकमै बस्नुपर्ने धारणा भएको र सभापति रवि लामिछानेको निर्देशनले पनि समानुपातिकमा नै बसेँ । ’

समानुपातिकमा बस्ने निर्णयले उनको प्रत्यक्ष चुनाव लड्ने आकांक्षामा रोक लगाएको जस्तो देखिए पनि उनी भने यसलाई दीर्घकालीन रणनीतिका रूपमा लिन्छिन् । चुनाव लड्नका लागि पनि प्रत्यक्षमा मात्रै सम्भव नहुने भएकाले पार्टीको आवश्यकताअनुसार परिचालन हुने उनले बताइन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना कालदेखि नै उनी सक्रिय छिन् । पार्टीको विधान निर्माणदेखि लिएर चुनावी घोषणापत्र तयार पार्ने काममा उनको महत्वपूर्ण भूमिका रह्यो । पार्टी प्रशिक्षणमा पनि सक्रिय रहेको बताउँदै उनले भनिन्, ‘२०७९ को पार्टी विधान निर्माणमा मैले धेरै मेहनत गरेको छु, पार्टी कस्तो बनाउने, कसरी अगाडि बढाउने सन्दर्भमा विधान निर्माण गर्नेदेखि प्रशिक्षण र यो चुनावको बाचापत्र तयारमा सक्रिय भूमिका निभाएको छु । ’

रास्वपा सरकारमा हुँदा उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सल्लाहकार थिइन् । उनले नीति निर्माण र कार्यान्वयनका विभिन्न पक्षमा काम गरिन् । केन्द्रीय सदस्यका रूपमा संगठन निर्माण, प्रशिक्षण र नीतिगत बहसमा पनि उनी सक्रिय छन् ।

आफूलाई चित्त नबुझेका कुरा उनी पार्टीभित्र खुलेर राख्छिन् । उनले भनिन्, ‘पार्टीले गरेको सबै काम राम्रा नहुन सक्छन् । नाकारात्मक पक्षमाथि सधैं प्रश्न गरेँ । गरिरहनेछु । ’

उनमा राजनीतिक चेतना बाल्यकालदेखि नै थियो । रोल्पाका हरेक जनता राजनीतिमा रहेको बताउँदै उनले भनिन्, ‘रोल्पाका मानिसहरूको डीएनएमा नै राजनीति हुन्छ । युद्धको उद्गम स्थल भएकाले राजनीतिक वातावरण रोल्पमा छ । ’

उनको परिवार एमाले निकट हो । मामाघरका हजुरबुवा प्रधानपञ्च थिए । द्वन्द्वकालमा घरमै भूमिगत नेताहरू बस्ने गर्थे । एमालेका नेता शंकर पोखरेल भूमिगत अवस्थामा उनीहरूको घरमा बसेका थिए । माओवादी नेता कृष्णबहादुर महरासँग पनि उनको परिवारको निकट सम्बन्ध थियो । उनका हजुरबाले महरालाई पढाएका थिए भने पछि महराले उनकी आमालाई पढाए । उनकी आमा एमालेको सक्रिय कार्यकर्ता थिइन् । जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म आमाको राजनीति सक्रिय थियो । सरकारी शिक्षक आमा अवकाश भइसकेकी छन् । 

दाङको घोराहीस्थित शान्ति निकेतन विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि क्रान्ति उनी उच्च शिक्षाका लागि काठमाडौं आइन् । गोल्डेन गेट कलेजबाट प्लस टु पूरा गरिन् र त्यहीँबाट मनोविज्ञानमा स्नातक गरिन् । मनोविज्ञानप्रतिको उनको आकर्षण केवल पढाइमा सीमित रहेन, सामाजिक जिम्मेवारीसाग पनि जोडियो । उनले शारीरिक स्वास्थ्यलाई जति प्राथमिकता दिइन्छ, मानसिक स्वास्थ्यलाई त्यति महत्व नदिएको देखेर मनोपरामर्शदाताको रूपमा काम गर्न प्रेरित गर्‍यो । अहिले पनि उनी काउन्सिलिङ क्षेत्रमा सक्रिय छिन् ।

The political leap of Krantishikha, who grew up in the shadow of war

मानसिक स्वास्थ्यको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उनले बताइन् । 'संसद्‌मा मुख्य एजेन्ड नै यही हुनेछ । केन्द्र स्तरदेखि वडा र पालिकामा मानसिक स्वास्थ्य केन्द्र आवश्यक छ,' उनले भनिन्, 'नकारात्मक सोच आउँदा तुरुन्त फोन गर्न सक्ने हटलाइन हुनुपर्छ ।’

राजनीतिमा आउनुअघि क्रान्तिशिखा पत्रकारिता क्षेत्रमा सक्रिय थिइन् । नेपाल प्रेस इन्स्टिच्युटमा १० महिनाको तालिम लिएपछि उनले पत्रकारिता सुरु गरिन् । चिकित्सक भोला रिजाललाई देखेर पत्रकारिता गर्ने सोच आएको उनको भनाइ छ । ‘चिकित्सक भएर पनि मिडियामा सक्रिय देख्दा मलाई पनि त्यस्तै बन्ने इच्छा जागेको थियो । चिकित्सक र पत्रकारिता सँगसँगै लान्छु भन्ने लागेको थियो,’ उनले भनिन् । 

संसद्‌मा पुगेका र अनुभव भएका व्यक्तिले नयाँ पुस्तालाई प्रशिक्षण दिनुपर्छ । यसले राजनीति र संसद्लाई परिपक्व र जिम्मेवार बनाउनेछ ।’उनले जनता टेलिभिजनबाट पत्रकारिता करिअर सुरु गरिन्, त्यसपछि एपीवान टेलिभिजनबाट प्रसारित हुने ‘को बन्छ करोडपति’ मा काम गरिन् । ग्यालेक्सी फोकेमा समाचार वाचन गरिन् । रवि लामिछानेसँगको सहकार्य टेलिभिजबाटै सुरु भयो । पत्रकारिताको त्यही परिवेशले उनलाई राजनीतितर्फ डोर्‍यायो । 

जब रवि लामिछानेले सञ्चार क्षेत्र छाडेर राजनीतिक पार्टी स्थापना गरे, उनी पनि त्यस यात्रामा जोडिइन् । उनी स्पष्ट थिइन्, राजनीति मेरो पेसा होइन भनेर । ‘सफा नियतले काम गर्ने हो राजनीतिलाई पेसा बनाउँदिन भन्ने थियो, त्यसैले भविष्य राम्रो हुन्छ भन्ने विश्वास थियो,’ उनले भनिन् ।

उनी हाल मनोपरामर्शदाताका रूपमा अभ्यास गरिरहेकी छन्, जसले उनलाई आर्थिक र पेसागत रूपमा स्वतन्त्र बनाएको छ । यही कारण उनी स्वतन्त्र रूपमा निर्णय लिन र काम गर्न सक्ने विश्वास राख्छिन् । 

संसद्‌मा पुग्दै गर्दा उनले थुप्रै चुनौती पनि देखेकी छन् । नयाँ अनुहार संसद्‍मा पुगेका छन् । जनताका अपेक्षा पार्टीमा धेरै रहेको उनले बताइन् । तर पार्टी भित्रको टिमवर्कले सहज बनाउने उनको भनाइ छ । ‘संसद्‌मा पुगेका र अनुभव भएका व्यक्तिले नयाँ पुस्तालाई प्रशिक्षण दिनुपर्छ । यसले राजनीति र संसद्लाई परिपक्व र जिम्मेवार बनाउनेछ ।’

सार्वजनिक जीवनमा प्रवेश गरेपछि जिम्मेवारी पनि बढेको उनले अनुभव गरेकी छन् । हिँडाइ, बोलाइ, लवाइखवाइ सबै कुरामा मानिसहरूको नजर पर्ने भएकाले सचेत हुनुपर्ने बताउँदै उनले भनिन्, ‘सार्वजनिक व्यक्ति भएपछि हरेक कुरामा सजग हुनुपर्ने रहेछ । लगाउने लुगादेखि बोल्ने कुरामा सचेत हुनुपर्ने अनुभव गरेको छु ।’

समानुपातिक सासंद-२०८२

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully