आधा शताब्दी लामो संघर्ष र लोकतन्त्रप्रतिको विश्वासले रुक्मिणी देवी कोइराला ७० वर्षको उमेरमा प्रतिनिधिसभा सदस्य बन्न सफल भएकी छिन्।
What you should know
विराटनगर — नेपाली कांग्रेसको राजनीतिमा दशकौंदेखि सक्रिय रहेर पनि लामो समयसम्म ओझेलमा परेकी पात्र हुन् विराटनगरकी कांग्रेस नेतृ रुक्मिणी देवी कोइराला ।
धैर्य, निष्ठा र निरन्तर संघर्षको एउटा जीवन्त उदाहरण बनेकी उनका लागि यसपटकको निर्वाचन न्यायको घडी बनेर आयो । हरेक निर्वाचनमा समानुपातिकको बन्द सूचीमा नाम अटाउने तर अन्तिम छनोटमा नाम काटिने नियतिलाई चिर्दै अन्ततः कांग्रेसले उनलाई यसपटक खस/आर्य क्लष्टरवाट सांसदको रूपमा चयन गरेको छ । ‘मेरो यो उपलब्धि ‘रातारात’ प्राप्त भएको होइन । बरु आधा शताब्दी लामो राजनीतिक तपस्याको प्रतिफल हो’, उनी भन्छिन् ।
राजनीतिमा रुक्मिणीको प्रवेश कुनै पद वा लाभको लालसाले भएको थिएन । विसं २०३६ सालको जनमत संग्रहको समयदेखि नै उनी लोकतन्त्रको पक्षमा उभिएकी थिइन् । त्यस समयमा उनले पार्टीको औपचारिक सदस्यता त लिएकी थिइनन्, तर बहुदलीय व्यवस्थाको पुनर्स्थापनाका लागि भएका आन्दोलनहरूमा उनको सक्रियता भने निरन्तर थियो । ‘त्यतिबेला दलको सदस्य त बनिसकेकी थिइनँ, तर लोकतन्त्रका लागि भएका हरेक आन्दोलनमा मेरो भौतिक र नैतिक सहयोग हुन्थ्यो,’ उनी विगत सम्झिन्छिन् ।
पञ्चायत विरोधी गतिविधिमा संलग्न हुन थालेदेखि नै उनी तत्कालीन सत्ताको ‘आँखाको तारो’ बन्दै आएकी थिइन् । उनको घर पटक–पटक घेराउ भएको थियो । विसं २०४६ सालको जनआन्दोलन आइपुग्दासम्म उनी एक पूर्णकालीन राजनीतिक कार्यकर्ताको रूपमा स्थापित भइसकेकी थिइन् ।
पञ्चायती व्यवस्थाविरुद्धको त्यो ऐतिहासिक लडाइँमा उनी सडकमा मात्र उत्रिनन्, प्रहरीको निर्मम दमन र धरपकडको सामना समेत गरिन् । पञ्चायत विरोधी गतिविधिमा उनी कहिले खुला रूपमा त कहिले भूमिगत शैलीमा सक्रिय भइन्, जसले उनलाई भुइँ तहका कार्यकर्तामाझ लोकप्रिय बनायो ।
बहुदल आएपछि उनी नेपाल महिला संघमा आबद्ध भइन् । यहाँबाट उनको सांगठनिक कौशल थप निखारियो। उनले महिला संघको मोरङ जिल्ला सचिवदेखि जिल्ला सभापतिसम्मको जिम्मेवारी कुशलतापूर्वक निभाइन्।
खासगरी महिला हक, अधिकार र सशक्तीकरणका लागि उनले मोफसलमा बसेर ठूलो संघर्ष गरेको उनलाई नजिकवाट चिन्नेहरु बताउँछन् । महिला संघको केन्द्रीय उपाध्यक्षका रूपमा काम गर्दा उनलाई देशभरका महिला कार्यकर्ताहरूलाई संगठित गर्ने अवसर मिल्यो । महिलाहरूलाई दोस्रो दर्जाको नागरिकका रूपमा हेरिने समाजमा उनले राजनीतिक चेतना भर्ने काम गरिन् ।
रुक्मिणीको राजनीतिक निष्ठाको वास्तविक परीक्षा तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकाल ताका भयो । ज्ञानेन्द्रले सत्ता हातमा लिएका बेला उनी लोकतन्त्रको पक्षमा चट्टानझैं उभिइन् । सोही क्रममा उनी दुई महिनासम्म कठोर थुनामा परिन् ।
विसं २०६२/०६३ को दोस्रो जनआन्दोलनमा पनि उनी अग्रमोर्चामा थिइन् । आन्दोलनका क्रममा उनी पटक–पटक पक्राउ परिन् र थुनामा बसिन् । तत्कालीन सत्ताको निसानामा उनी निरन्तर परिरहिन्, तर उनले कहिल्यै सम्झौता गरिनन् । लोकतन्त्रप्रतिको उनको यो अटल विश्वासले नै उनलाई आज यो स्थानमा पुर्याएको हो ।
रुक्मिणीको जन्म विसं २०१२ सालमा स्याङ्जामा भएको हो । तर, उनको प्रारम्भिक जीवन र शिक्षाको ठूलो हिस्सा भारतको मेघालयमा बित्यो । पिताको जागिरका कारण सानै उमेरमा मेघालय पुगेकी उनले सिलोङबाट स्नातक तहसम्मको अध्ययन पूरा गरिन् । उनको यो शैक्षिक पृष्ठभूमिले उनलाई राजनीतिमा तार्किक र बौद्धिक रूपमा प्रस्तुत हुन सघाएको छ ।
विदेशी भूमिमा अध्ययन गरे पनि उनको मन सधैं नेपाल र यहाँको माटोमै थियो । ‘अध्ययन पूरा गरेलगत्तै म आफ्नो मातृभूमिमा केही गर्छु भन्ने संकल्पका साथ नेपाल फर्किएँ,’ उनी गर्वका साथ भन्छिन् ।
विसं २०२९ सालमा विराटनगरका नन्दन कोइराला (शैलेस)सँग उनको विवाह भयो । तर, नेपालको प्रजातान्त्रिक आन्दोलनको केन्द्र मानिने कोइराला परिवारसँग उनको खासै साइनो छैन । ‘हामी कोइराला–कोइराला मात्रै हौ’, उनी भन्छिन्,‘नजिकका नातेदार हैनौं ।’
लामो समयसम्म महिला संघको राजनीतिमा बिताएपछि नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उनी विधिवत् रूपमा ‘माउ पार्टी’ (नेपाली कांग्रेस) मा संलग्न भइन् । सोही महाधिवेशनपछि उनलाई केन्द्रीय सदस्यमा मनोनित गरियो ।
विगतका कैयौं निर्वाचनमा उनको नाम समानुपातिकको बन्द सूचीमा राखिन्थ्यो, तर पार्टीभिक्रको शत्ति सन्तुलन र पहुँचका कारण उनी सधैं ‘दोस्रो प्राथमिकता’मा पर्ने गर्थिन् । यसपटक भने पार्टीले उनको योगदानको उचित मूल्यांकन गर्दै संसद्को यात्रा तय गराएको छ ।
जीवनको ऊर्जावान् समय लोकतन्त्रका लागि खर्चिएकी उनी आफूलाई कांग्रेसको ‘होल टाइमर’ कार्यकर्ता ठान्छिन् । ७० वर्षको पाको उमेरमा पनि उनी पार्टी कामहरुमा अझै युवा जोसका साथ सक्रिय छिन् ।
विराटनगरको सामाजिक र राजनीतिक क्षेत्रमा उनले पुर्याएको योगदान अविष्मरणीय छ।
विभिन्न सामाजिक संघ–संस्थाहरूमा आबद्ध रहेर उनले समाजसेवामा पनि उत्तिकै हात बढाएकी छन् । ‘मैले पदका लागि कहिल्यै राजनीति गरिनँ, बल्ल पार्टीले मेरो संघर्ष देख्यो’, रुक्मिणी भन्छिन्,‘अब बाँकी जीवन संसदमार्फत जनताको आवाज बुलन्द गर्न र महिला अधिकारका मुद्दाहरूलाई तार्किक निष्कर्षमा पुर्याउन खर्चिने छु ।’
