महिला संघको जगदेखि संसद्सम्म रुक्मिणीदेवी

आधा शताब्दी लामो संघर्ष र लोकतन्त्रप्रतिको विश्वासले रुक्मिणी देवी कोइराला ७० वर्षको उमेरमा प्रतिनिधिसभा सदस्य बन्न सफल भएकी छिन्।

चैत्र १०, २०८२

पर्वत पोर्तेल

Rukmini Devi from the foundation of the Women's Association to Parliament

What you should know

विराटनगर — नेपाली कांग्रेसको राजनीतिमा दशकौंदेखि सक्रिय रहेर पनि लामो समयसम्म ओझेलमा परेकी पात्र हुन् विराटनगरकी कांग्रेस नेतृ रुक्मिणी देवी कोइराला । 

धैर्य, निष्ठा र निरन्तर संघर्षको एउटा जीवन्त उदाहरण बनेकी उनका लागि यसपटकको निर्वाचन न्यायको घडी बनेर आयो । हरेक निर्वाचनमा समानुपातिकको बन्द सूचीमा नाम अटाउने तर अन्तिम छनोटमा नाम काटिने नियतिलाई चिर्दै अन्ततः कांग्रेसले उनलाई यसपटक खस/आर्य क्लष्टरवाट सांसदको रूपमा चयन गरेको छ । ‘मेरो यो उपलब्धि ‘रातारात’ प्राप्त भएको होइन । बरु आधा शताब्दी लामो राजनीतिक तपस्याको प्रतिफल हो’, उनी भन्छिन् । 

राजनीतिमा रुक्मिणीको प्रवेश कुनै पद वा लाभको लालसाले भएको थिएन । विसं २०३६ सालको जनमत संग्रहको समयदेखि नै उनी लोकतन्त्रको पक्षमा उभिएकी थिइन् । त्यस समयमा उनले पार्टीको औपचारिक सदस्यता त लिएकी थिइनन्, तर बहुदलीय व्यवस्थाको पुनर्स्थापनाका लागि भएका आन्दोलनहरूमा उनको सक्रियता भने निरन्तर थियो । ‘त्यतिबेला दलको सदस्य त बनिसकेकी थिइनँ, तर लोकतन्त्रका लागि भएका हरेक आन्दोलनमा मेरो भौतिक र नैतिक सहयोग हुन्थ्यो,’ उनी विगत सम्झिन्छिन् ।

पञ्चायत विरोधी गतिविधिमा संलग्न हुन थालेदेखि नै उनी तत्कालीन सत्ताको ‘आँखाको तारो’ बन्दै आएकी थिइन् । उनको घर पटक–पटक घेराउ भएको थियो । विसं २०४६ सालको जनआन्दोलन आइपुग्दासम्म उनी एक पूर्णकालीन राजनीतिक कार्यकर्ताको रूपमा स्थापित भइसकेकी थिइन् ।

पञ्चायती व्यवस्थाविरुद्धको त्यो ऐतिहासिक लडाइँमा उनी सडकमा मात्र उत्रिनन्, प्रहरीको निर्मम दमन र धरपकडको सामना समेत गरिन् । पञ्चायत विरोधी गतिविधिमा उनी कहिले खुला रूपमा त कहिले भूमिगत शैलीमा सक्रिय भइन्, जसले उनलाई भुइँ तहका कार्यकर्तामाझ लोकप्रिय बनायो । 

बहुदल आएपछि उनी नेपाल महिला संघमा आबद्ध भइन् । यहाँबाट उनको सांगठनिक कौशल थप निखारियो। उनले महिला संघको मोरङ जिल्ला सचिवदेखि जिल्ला सभापतिसम्मको जिम्मेवारी कुशलतापूर्वक निभाइन्।

खासगरी महिला हक, अधिकार र सशक्तीकरणका लागि उनले मोफसलमा बसेर ठूलो संघर्ष गरेको उनलाई नजिकवाट चिन्नेहरु बताउँछन् । महिला संघको केन्द्रीय उपाध्यक्षका रूपमा काम गर्दा उनलाई देशभरका महिला कार्यकर्ताहरूलाई संगठित गर्ने अवसर मिल्यो । महिलाहरूलाई दोस्रो दर्जाको नागरिकका रूपमा हेरिने समाजमा उनले राजनीतिक चेतना भर्ने काम गरिन् । 

रुक्मिणीको राजनीतिक निष्ठाको वास्तविक परीक्षा तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकाल ताका भयो । ज्ञानेन्द्रले सत्ता हातमा लिएका बेला उनी लोकतन्त्रको पक्षमा चट्टानझैं उभिइन् । सोही क्रममा उनी दुई महिनासम्म कठोर थुनामा परिन् । 

विसं २०६२/०६३ को दोस्रो जनआन्दोलनमा पनि उनी अग्रमोर्चामा थिइन् ।  आन्दोलनका क्रममा उनी पटक–पटक पक्राउ परिन् र थुनामा बसिन् । तत्कालीन सत्ताको निसानामा उनी निरन्तर परिरहिन्, तर उनले कहिल्यै सम्झौता गरिनन् । लोकतन्त्रप्रतिको उनको यो अटल विश्वासले नै उनलाई आज यो स्थानमा पुर्‍याएको हो । 
रुक्मिणीको जन्म विसं २०१२ सालमा स्याङ्जामा भएको हो । तर, उनको प्रारम्भिक जीवन र शिक्षाको ठूलो हिस्सा भारतको मेघालयमा बित्यो । पिताको जागिरका कारण सानै उमेरमा मेघालय पुगेकी उनले सिलोङबाट स्नातक तहसम्मको अध्ययन पूरा गरिन् । उनको यो शैक्षिक पृष्ठभूमिले उनलाई राजनीतिमा तार्किक र बौद्धिक रूपमा प्रस्तुत हुन सघाएको छ ।

विदेशी भूमिमा अध्ययन गरे पनि उनको मन सधैं नेपाल र यहाँको माटोमै थियो । ‘अध्ययन पूरा गरेलगत्तै म आफ्नो मातृभूमिमा केही गर्छु भन्ने संकल्पका साथ नेपाल फर्किएँ,’ उनी गर्वका साथ भन्छिन् । 
विसं २०२९ सालमा विराटनगरका नन्दन कोइराला (शैलेस)सँग उनको विवाह भयो । तर, नेपालको प्रजातान्त्रिक आन्दोलनको केन्द्र मानिने कोइराला परिवारसँग उनको खासै साइनो छैन । ‘हामी कोइराला–कोइराला मात्रै हौ’, उनी भन्छिन्,‘नजिकका नातेदार हैनौं ।’ 

लामो समयसम्म महिला संघको राजनीतिमा बिताएपछि नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उनी विधिवत् रूपमा ‘माउ पार्टी’ (नेपाली कांग्रेस) मा संलग्न भइन् । सोही महाधिवेशनपछि उनलाई केन्द्रीय सदस्यमा मनोनित गरियो । 

विगतका कैयौं निर्वाचनमा उनको नाम समानुपातिकको बन्द सूचीमा राखिन्थ्यो, तर पार्टीभिक्रको शत्ति सन्तुलन र पहुँचका कारण उनी सधैं ‘दोस्रो प्राथमिकता’मा पर्ने गर्थिन् । यसपटक भने पार्टीले उनको योगदानको उचित मूल्यांकन गर्दै संसद्को यात्रा तय गराएको छ ।

जीवनको ऊर्जावान् समय लोकतन्त्रका लागि खर्चिएकी उनी आफूलाई कांग्रेसको ‘होल टाइमर’ कार्यकर्ता ठान्छिन् । ७० वर्षको पाको उमेरमा पनि उनी पार्टी कामहरुमा अझै युवा जोसका साथ  सक्रिय छिन् । 
विराटनगरको सामाजिक र राजनीतिक क्षेत्रमा उनले पुर्‍याएको योगदान अविष्मरणीय छ।

विभिन्न सामाजिक संघ–संस्थाहरूमा आबद्ध रहेर उनले समाजसेवामा पनि उत्तिकै हात बढाएकी छन् । ‘मैले पदका लागि कहिल्यै राजनीति गरिनँ, बल्ल पार्टीले मेरो संघर्ष देख्यो’, रुक्मिणी भन्छिन्,‘अब बाँकी जीवन संसदमार्फत जनताको आवाज बुलन्द गर्न र महिला अधिकारका मुद्दाहरूलाई तार्किक निष्कर्षमा पुर्‍याउन खर्चिने छु ।’ 

समानुपातिक सासंद-२०८२

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully