सामाजिक अभियान र महिला सशक्तिकरणमा सक्रिय रहँदै, साजिदा सिद्धीकी एमालेको समानुपातिक सूचीबाट संघीय संसद्मा निर्वाचित भएकी छन् ।
What you should know
दाङ — मुस्लिम समुदायकी चेली, घरबाहिर निस्कन कठिन थियो । बुर्का फालेर हिँड्न त झन् असम्भव जस्तै थियो । तर दाङकी साजिदा सिद्धिकीले यी हरेक कठिनाईलाई सम्भव बनाइन् । मुस्लिम महिलाको अधिकारबारे आवाज उठाउँदै किशोरावस्थामै उनले सामाजिक नेतृत्वको सुरुवात गरेकी थिइन् ।
१९ वर्षको उमेरमा उनले दाङमा पहिलोपटक मुस्लिम महिलाहरुलाई लक्षित गर्दै 'सिसा' नामक सामाजिक संस्था गठन गरिन् । त्यसको नेतृत्व गर्दै मुस्लिम महिलाहरुलाई आर्थिक रुपमा सशक्तीकरण गर्ने उपाय खोज्न थालिन् । २३ वर्षअघि स्थापना भएको सिसा संस्थानै सिद्धीकीको पहिचान हो ।
बिभिन्न सामाजिक अभियानमार्फत स्थापित हुँदै राजनीतिमा प्रवेश गरेकी सिद्धिकी अहिले नेकपा एमालेबाट समानुपातिक सांसद् भएकी छिन् । मुस्लिम कोटाबाट उनी सांसद् भएकी हुन् । ४२ वर्षीया सिद्धीकीले संसदसम्मको यात्रामा प्रवेश गर्नुअघि अनेक संघर्षहरु गरिसकेकी छन् ।
समाजले बच्चाबच्चीका कुरा पनि के सुन्नु भनिरहेको बेला उनले मुस्लिम समुदायको अगुवाई गरेकी थिइन् । ‘संस्था गठन गर्दा सुरुमा सबैले गाली गरे । पुरुषहरु सचेत नहुँदासम्म महिला बाहिर निस्कन सक्दैनन् भन्ने सोचेर पुरुषहरुलाई पनि संस्थामा समेटें,’ उनले भनिन्, ‘पहिले त पुरुषहरु पनि विधानमा सही गर्न डराए । धेरै कुरा बुझाएपछि मात्र सहमत भए ।’
उनी सिसा नेपाल संस्थाको अध्यक्ष हुँदै सिसा कलश बचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष समेत भइन् । मुस्लिम समुदायलाई राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा अघि बढाउन उनले अनेक प्रयास गरिन् । उनी अहिले नेपाल मुस्लिम ईत्तेहाद संगठनको केन्द्रीय उपाध्यक्ष छन् ।
अहिले दाङमा एमालेबाट कोही पनि सांसद् छैन । उनी नै एमालेबाट दाङ जिल्लाको एकल प्रतिनिधित्व गर्दैछिन् । एमाले केन्द्रीय सदस्य सिद्धिकीले संसद्को पहिलो यात्रालाई फलदायी बनाउने योजना बनाएको बताइन् । ‘मेरो पहिलो संसदीय यात्रालाई उपलब्धिमूूलक बनाउन चाहन्छु,’ उनले भनिन्,‘नीति निर्माण तहमा प्रभावकारी भूमिका खेल्ने छु ।’
राजनीतिमा प्रवेश गर्नुअघि उनी सामाजिक क्षेत्रमा क्रियाशील थिइन् । उनको त्यही सक्रियताले राजनीतिमा स्थान बनाएको हो । सामाजिक न्याय, महिला सशक्तिकरण तथा पछाडि पारिएको समुदायको उत्थानका क्षेत्रमा उनले दुई दशक काम गरेकी छन् ।
आफूले पार्टीप्रति देखाएको निष्ठा, समर्पण र सक्रियताको मूल्यांकन गर्दै एमाले नेतृत्वले समानुपातिकतर्फबाट संघीय संसदमा पठाएको उनले बताइन् । संसदमा दाङ जिल्लाको विकास, सामाजिक न्याय तथा पछाडि परेका समुदायको आवाज उठाउने उनले बताइन् ।
विशेषगरी महिला, मुस्लिम समुदाय, दलित तथा विपन्न वर्गको हकअधिकार सुनिश्चित गर्न आफूले सक्रिय भूमिका खेल्ने उनले बताइन् । ‘दाङको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा रोजगारीका अवसर सिर्जनाका विषयलाई पनि प्राथमिकताका साथ उठाउने छु,’ उनले भनिन्,‘मैले जनताको आवाज बनेर संसद्को गरिमा बढाउने काम गर्नेछु ।’
स्थानीय स्तरमा सामाजिक कार्यबाट पहिचान बनाउँदै राष्ट्रिय राजनीतिमा प्रवेश गर्न सफल सिद्धिकीको संसदीय यात्रा दाङका महिला र अल्पसंख्यक समुदायका लागि प्रेरणाको स्रोत बनेको छ । सिद्धिकीले सामाजिक तथा राजनीतिक क्षेत्रसँगै सञ्चार क्षेत्रमा पनि योगदान पुर्याएकी छिन् । उनले सिसा मिडिया हाउस स्थापना गरी 'ग्रामीण अपडेट अनलाइन' सञ्चालन गरिरहेकी छिन् ।
ग्रामीण क्षेत्रका गतिविधि, विकास र जनताका समस्यालाई उजागर गर्दै स्थानीय आवाजलाई राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले उक्त अनलाइन सञ्चालन गरिएको सिद्धीकले बताइन् । समाजसेवा, सामुदायिक नेतृत्व र राजनीतिक सक्रियताबाट उनले आफ्नो फरक पहिचान बनाएकी हुन् ।
मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्दै संघीय संसदमा पुग्नु उनका लागि मात्र नभई दाङका मुस्लिम समुदाय तथा महिलाका लागि पनि महत्वपूर्ण उपलब्धि मानिएको छ । घोराहीमा जन्मे, हुर्केकी सिद्धीकी सानैदेखि फरक काम गर्ने स्वभावकी थिइन् । परम्परागत शैलीलाई बदल्दै नयाँ समाजसँग परिचित हुन खोज्ने उनको शैलीले नै उनलाई सामाजिक अगुवा हुँदै सांसद बनाएको छ ।
उनले सामाजिक क्षेत्रमा काम गर्दा विभिन्न समुदायका समस्याहरु नजिकबाट चिन्ने मौका पाइन् । महिला सशक्तीकरण, सामाजिक समावेशिता, शिक्षा र स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूमा उनी सक्रिय रहिन् । उनले सशस्त्र द्वन्दबाट प्रभावितहरुका लागि पनि काम गरेकी छन् ।
कोभिड महामारीका समयमा पनि उनले सक्रिय भएर स्वास्थ्य, सचेतना र असहायलाई राहत वितरणको काम गरिन् । जिल्ला स्तरका सबैजसो समसामयीक बहस र छलफलमा सक्रियरुपमा सहभागी हुने सिद्दिकी कुनै पनि काममा तत्काल पहल कदमी लिनसक्ने अगुवा हुन् । उनले सिसा संस्थाको अध्यक्ष भएर महिला, बालबालिका तथा विपन्न समुदायका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिन् । सामाजिक चेतना अभिवृद्धि, सीप विकास, महिला आत्मनिर्भरता र सामुदायिक नेतृत्व विकास जस्ता गतिविधिमा उनले संस्थामार्फत काम गरिन् ।
सिद्धिकीले विशेषगरी मुस्लिम समुदायका महिला तथा अन्य वञ्चित वर्गका महिलालाई सामाजिक तथा आर्थिक रूपमा सक्षम बनाउने अभियानमा योगदान पुर्याएकी छिन् । ग्रामीण क्षेत्रमा महिला चेतना अभिवृद्धि गर्ने, बालबालिकाको शिक्षा सुनिश्चित गर्ने र सामाजिक समावेशिताको वातावरण निर्माण गर्ने कार्यमा उनको सक्रियता थियो ।
सिद्धिकीले महिला अधिकार र समावेशी समाज निर्माणका पक्षमा निरन्तर आवाज उठाउँदै आएकी छिन् । अल्पसंख्यक तथा मुस्लिम महिलाले भोगिरहेका समस्या र चुनौतीबारे विभिन्न कार्यक्रममा उनले आवाज उठाउँदै आएकी छिन् । महिला शिक्षित र सशक्त भए समाजमा सकारात्मक परिवर्तन सम्भव हुने बिश्वासका साथ सामाजिक अभियानमा जोडिएको उनले बताइन् ।
समाज परिवर्तनका लागि नीति निर्माण तहमा पुग्नुपर्ने आवश्यकता महसुस गर्दै राजनीतिक गतिविधिमा सक्रिय भएको उनले बताइन् । एमालेसँग आवद्ध भएदेखि उनी निरन्तर पार्टीका काममा सक्रिय छिन् । एमालेभित्र मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै आफ्नो समुदायका पक्षमा उनले निरन्तर काम गर्दै आएकी छिन् ।
विगतमा सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्दा प्राप्त अनुभवलाई संसदमा पनि उपयोग गर्ने उनले बताइन्। ‘मैले लामो समय सामाजिक क्षेत्रमा काम गर्दा जनताका समस्या बुझ्न पाएको छु,’ उनले भनिन्,‘राजनीतिक अभियानका क्रममा पनि जनताका आबश्यकताबारे परिचित छु । जनताको प्रतिनिधि बनेर संसद्मा सधैं उभिने छु ।’
उनी २०७९ मा पनि समानुपातिक सूचीमा परेकी थिइन् । त्यतिबेला सांसद् छनौट नभए पनि विचलित नभई उनी निरन्तर पार्टीमा सक्रिय रहिन् । पार्टीमा दुईपटक केन्द्रीय सदस्य भएर काम गरिन् । मुस्लिम इत्तेहाद संगठनमा पनि दुईपटक उपाध्यक्ष भएर काम गरिन् । दोहोरिएर पाएका जिम्मेवारीले पनि आफूलाई थप सुदृढ बनाएको उनले बताइन् । बुर्कामुक्त हुन गरेको संघर्षदेखि संसद्मा प्रवेश गर्दासम्मका अनेक दुःखसुखका कथाहरु बोकेर उनी संसदीय यात्रामा लम्किएकी छन् ।
