राष्ट्रिय युवा परिषद्को नमूना संसद् अभ्यासमा सभामुख बनेकी २७ वर्षीया श्रद्धा कुँवर रास्वपाबाट खस–आर्य महिलातर्फ समानुपातिक सांसद निर्वाचित भएकी छन्।
What you should know
बुटवल — राष्ट्रिय युवा परिषद्ले सञ्चालन गरेको नमूना युवा संसद् अभ्यासमा पाँच वर्षअघि ‘काल्पनिक’ सभामुख बनेकी २७ वर्षीया श्रद्धा कुँवर सामाजिक संघर्षबाटै प्रतिनिधिसभा सदस्य बन्न पुगेकी छन् ।
रूपन्देहीको देवदह नगरपालिका–७ मा २०५५ सालमा जन्मिएकी श्रद्धाले जेन–जी प्रदर्शनकै दिन भदौ २३ मा सामाजिक सञ्जालमार्फत आफू राजनीतिक रुपमा आबद्ध एमाले र युवा संघको जिम्मेवारी त्यागेकी थिइन् । त्यसअघि उनी एमाले निकट युवा संघको केन्द्रीय सदस्य, कोषाध्यक्ष, हुँदै एमाले रूपन्देहीको जिल्ला कमिटि सदस्य थिइन् । पारिवारिक राजनीतिक चेतले राजनीतिसँगै समाजसेवा गर्दै हुर्केकी उनी विभिन्न सामाजिक संघसंस्थाको पनि नेतृत्वदायी भूमिका निर्वाह गर्दै राजनीतिक नेतृत्वमा पुगेकी हुन् ।
श्रद्धाले ‘लायन्स इन्टरनेशनल’मार्फत आफ्नो नेतृत्व यात्रा सुरु गरेकी थिइन् । संस्थाको पहिलो महिला अध्यक्षका रूपमा सफल कार्यकाल पूरा गरेकी उनले महिला सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन तथा युवामुखी कार्यक्रममा नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन् ।
उनी आबद्ध युवा संघले सन् २०२१ मा युवाहरुलाई संसदीय अभ्यास सिकाउने उद्देश्यले ‘नमूना युवा सांसद’ कार्यक्रम संचालन गरेको थियो । युवा संघमा आबद्ध उनले त्यतिबेलै नमुना संसद्मा सभामुखको भूमिका निर्वाह गरेकी थिइन् । त्यतिबेलै आफूलाई सभामुखको भूमिका निर्वाह गर्न सक्ने र नेतृत्व गर्न सक्छु भन्ने लागेको उनले बताइन् ।
दुःखी, अन्यायमा परेका महिला, बालबालिका र राजनीतिक पहुँच भन्दा बाहिरका भूँइ मान्छेको सेवा गर्ने हुटहुटी उनमा सधैं थियो । आफु आबद्ध राजनीतिक दलमा पनि उनले सामाजिक सेवा र आवाजविहीनहरुको आवाज बनेर विषयबस्तु राख्ने, बहस तथा छलफल गर्ने गर्थिन् । तर, त्यो नेतृत्व तह र नीति निर्माण तहमा पुग्न सक्दैन्थ्यो । त्यसैले पनि उनले आफै नेतृत्वमा पुग्ने र सबैको साझा बन्ने प्रयत्न गरिरहिन् ।
त्यसका लागि उनी लियो क्लब अब देवदहदेखि राष्ट्रिय नेतृत्वसम्म पुग्ने प्रयास पनि गरिन् । त्यसमा उनका बुबा गुमानसिंह कुँवरको साथ, सहयोग र समर्थन सबै पाइन् । आफू १६ वर्षकै हुँदा क्यान्सर रोगबाट आमा गुमाएकी श्रद्धाले बाबुको संरक्षणमै बहिनीलाई पनि नेतृत्व प्रदान गर्दै घर परिवार, आफ्नो अध्ययन र सामाजिक कामको अभियानको संघर्ष निरन्तर गरिन् । श्रद्धा त्रिभुवन विश्वविद्यालयमा अहिले वातावरण, विपद् व्यवस्थापन र पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययनरत गरिरहेकी छन् ।
श्रद्धाका बुबा अहिले पनि एमालेमै छन् । जेन–जी प्रदर्शनपछि युवाहरुको अगुवाई र नेतृत्व प्रदान गर्नुपर्छ भन्ने उद्देश्यका साथ आफूले एमाले र युवा संघ छाडेको उनले बताइन् । त्यसपछि उनले केही समय स्वतन्त्र रुपमा सामाजिक अभियान सञ्चालन गरिन् । गएको मंसिरतिर रास्वपामा आबद्ध भएर राजनीतिक भूमिकामा सक्रिय बनिन् । त्यसकै परिणाम उनलाई रास्वपाले खस–आर्य महिलातर्फ समानुपातिकमा निर्वाचित गरेको हो ।
निर्वाचनका क्रममा उनी रूपन्देही, गुल्मी, अर्घाखाँचीलगायतका जिल्लामा मत माग्दै मतदाताको घरदैलोमै पुगेकी थिइन् । गुल्मी बाबुको जन्मथलो एवं उनको पुर्ख्यौंली जिल्ला हो ।
लामो समयदेखि युवा तथा महिला सशक्तीकरण, नेतृत्व विकास र सामाजिक अभियानमा सक्रिय रहँदै आएकी युवा नेतृ कुँवरले अब प्रतिनिधिसभामा विशेषगरी युवा र महिलाका सवाललाई प्राथमिकतामा राखेर नीति निर्माण तहमा भूमिका बढाउने बताइन् । ‘म विशेषगरी युवा र महिलाको प्रतिनिधित्व गर्दै संसदीय यात्रामा अघि बढेकी छु,’ उनले भनिन्, ‘मैले सामाजिक अभियान र राजनीतिक नेतृत्व गर्दै गर्दा देखेका समस्या, भोगेका अप्ठ्यारा, र युवा पुस्ताको आवश्यकता अनि चाहना अनुसार नीति बनाउन दबाव सिर्जना गर्नेछु ।’
‘मैले जसरी आमाविहीन छोरीले घरपरिवार र समाजको बाउण्ड्री तोडेर सामाजिक अभियानमा जोडिए त्यसरी नै अन्य महिला र युवा नेतृत्वमा आउनु पर्छ भन्ने चेतनाको विकास गर्ने प्राथमिकता हुन्छ,’ उनले भनिन् ।
राष्ट्रिय युवा परिषद्द्वारा सञ्चालित नमूना युवा संसद अभ्यास कार्यक्रममा सभामुखको जिम्मेवारी सम्हालेको अनुभवले संसदीय अभ्यास र राजनीतिक नेतृत्वमा आफूलाई थप सक्षम बनाएको उनले बताइन् ।
