पहिले छोरीले पनि राजनीति गर्ने हो भन्दै कुरा काट्नेहरू नै अहिले गंगादेवीको कामको कदर गर्न थालेका छन् । अहिले त धेरैले उनलाई भन्छन् पनि, 'महिलाहरू राजनीतिमा नआई त केही पनि हुँदो रहेनछ !'
What you should know
काठमाडौँ — धादिङ नीलकण्ठ-७ की गंगादेवी श्रेष्ठ सानै थिइन् । एकदिन नेकपा एमालेले आयोजन गर्न लागेको एक समारोहमा जाने मौका पाइन् । सानैदेखि उनी राजनीतिसम्बन्धी कार्यक्रम कस्तो हुँदो रहेछ भनेर जिज्ञासु थिइन् । आफूसँग स्कुल पढ्दै गरेका धेरै साथीहरू समारोहमा जाने भनेपछि घरबाट अनुमति लिएर गंगादेवी पनि गइन् ।
तर उनले अचम्मको प्रश्न सामना गर्नुपर्यो । गंगादेवी र उनकी साथी बसेकै ठाउँमा आएर एक पुरुषले बारम्बार प्रश्न गरे, ‘आइमाईले राजनीति गर्दैनन् । किन आएको ?’ ती व्यक्ति त्यतिमै रोकिएनन्, र प्रश्न थपे, ‘बिहे गरेर घर सम्हाल्ने हो राजनीतिमा लागेपछि समाजमा नराम्रो सोच्ने गर्छन् भोलिबाट कुनै कार्यक्रममा नजानू ।’
ती प्रश्नले गंगादेवीको मथिंगल हल्लियो । मन फुरुङ्ग बनाएर कार्यक्रममा पुगेकी उनी थप प्रश्न बोकेर घर फर्किइन् । ‘छोरी मान्छेसँग राजनीति गर्ने हक किन छैन ?’ ‘राजनीतिमा महिला आउँदा किन समाजले नराम्रो भन्ने ?’ उनी उत्तर खोज्न थालिन् । उनी भन्छिन्,‘कार्यक्रममा एक पञ्च नेताले भनेको कुराले मनमा काँडा बिझेजस्तो भयो । त्यतिबेला नै मलाई राजनीतिका बारेमा सबै थाहा पाउँछु भन्ने अठोट लिएँ ।’
उनी पढ्ने स्कुलमा एक शिक्षक थिए, जो कक्षामा समानता, स्वतन्त्रता र महिला अधिकार तथा हकहितका कुरा भन्थे । शिक्षकले पढाएको कुराले खुसी हुन्थिन् उनी । तर समाजमा समानता कतै देखेकी थिइनन् । उनलाई लाग्यो- महिला र पुरुषबीचको खाडल पुरिनुपर्छ । समाजमा हुने जातीय विभेद हट्न पर्छ, देशको रक्षाका लागि युवाहरू राजनीतिमा होमिनुपर्छ ।‘समाजमा व्याप्त सामाजिक विभेद र लैङ्गिक असमानता देखेपछि राजनीतिमा लाग्ने प्रेरणा मिल्यो र म राजनीतिमा होमिएँ,’ उनी भन्छिन् ।
स्कुल पढ्दै गर्दा राजनीतिक यात्रा सुरू गरेकी गंगादेवी ३ दशकभन्दा बढी एमालेमा सक्रिय छिन् । अहिले भने उनी आदिवासी जनजाति महिला क्लस्टरबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी छिन् । गंगादेवीलाई सांसद बनेपछि जिम्मेवारी थपिएको महसुस भएको छ ।
उनी भन्छिन्,‘यस्तो विषम् परिस्थितिमा चुनाव भयो । त्यसैले खुसीभन्दा पनि मैले अब देशका लागि धेरै काम गर्नु छ भन्ने भएको छ ।’ सांसदका रूपमा अब उनले विशेषगरी महिला अधिकारका कानुनहरूको कार्यान्वयन र जनसरोकारका विषयहरूमा सदनमा आवाज उठाउने लक्ष्य राखेकी छिन् । उनी सरकारका राम्रा कामलाई समर्थन गर्ने र जनहितविपरीतका काम भएमा सशक्त प्रतिपक्षको भूमिका निभाउने कुरामा प्रतिबद्ध छिन् ।
गंगादेवीको राजनीतिक संघर्ष
परिवारको आर्थिक अवस्था कमजोर थियो । त्यसैले सानैदेखि पारिवारिक जिम्मेवारीमा रहिन् उनी । छोरी मान्छेले पढेर के गर्ने भन्ने समाजको प्रश्न सुन्दै उनले एसएलसीसम्म मात्र पढ्न पाइन् । ‘हाम्रो परिवारमा ७ जना दाजुभाइ दिदीबहिनी । जिल्लामा कलेज थिएन । काठमाडौं आएर पढ्न आर्थिक अवस्था कमजोर थियो । बुबा बिरामी हुनुहुन्थ्यो त्यसैले पढ्न पाइनँ,’उनी भन्छिन् । उनी ०४६ को जनआन्दोलनमै सरिक भइन् । त्यसबेला पढ्न मात्र होइन, राजनीति गर्न पनि सजिलो थिएन महिलाहरूलाई । ‘पार्टीको सभा, समारोह, कार्यक्रममा जान पनि निकै गाह्रो थियो । फलानोको छोरी त बिग्रिछ भन्थे,’ उनी भन्छिन्,‘घरपरिवारलाई आएर के-के भन्थ्थे । तर आफू सत्यको बाटो हिँडेपछि अरूले जे भने पनि फरक पर्दैन भन्ने सोचेर अगाडि बढेँ ।’
तर यस्ता सानातिना कुराले डगमगाइनन् गंगादेवी । २०४७ सालमा उनी अनेरास्ववियुको प्रारम्भिक कमिटीको कोषाध्यक्ष बनेकी थिइन् । त्यसपछि २०४९ मा वडा कमिटी सदस्य, २०५० मा तत्कालीन गाउँ विकास समिति सदस्य र २०५१ मा अखिल नेपाल महिला संघ (अनेमसंघ) को जिल्ला कमिटी सदस्य भएर काम गरेकी थिइन् ।
उनले अनेमसंघको जिल्ला सचिव, कोषाध्यक्ष र दुई कार्यकाल जिल्ला अध्यक्षका रूपमा जिम्मेवारी वहन समेत गरेकी थिइन् । पार्टीको जिल्ला कमिटी सदस्य र प्रदेश कमिटी सदस्य (दुई कार्यकाल) हुँदै हाल उनी अनेमसंघको केन्द्रीय कमिटी र स्थायी कमिटी सदस्य छिन् ।
गंगादेवी २०७४ मा नीलकण्ठ नगरपालिकाको उपमेयर पदमा लडिन् । त्यसरी नै २०७९ मा मेयर पदका लागि चुनाव पनि टिकट पाएकी थिइन् । तर दुवैमा उनी पराजित भइन् । राजनीति हार र जितभन्दा पनि आफूले निस्वार्थ समाजमा गरेको काममा विश्वास राख्ने गंगादेवीको संघर्ष र धैर्यले आज सदनमा देशका लागि आवाज उठाउने स्थानमा पुगेकी छिन् ।
भाइबहिनी हुर्काउन र पढाउनमा पनि लागिन् उनी । १० वर्षसम्म थला परेका बिरामी बुवाको स्याहारसुसारमा उनले निकै ध्यान दिइन् । घरखर्च चलाउन उनले धादिङबेंसीमा केही समय दुग्ध व्यवसाय पनि गरिन् । परिवारबाटै राजनीतिमा आउने पहिलो व्यक्ति हुन् । पहिले छोरीले पनि राजनीति गर्ने हो भन्दै कुरा काट्नेहरू नै अहिले गंगादेवीको कामको कदर गर्न थालेका छन् । अहिले त धेरैले उनलाई भन्छन् पनि, 'महिलाहरू राजनीतिमा नआई त केही पनि हुँदो रहेनछ !'
गंगादेवी आफू सधैं देशको हक हितका लागि काम गरेको र आउँदा दिनमा पनि त्यसमै समर्पित हुने बताउँछिन् । मदन भण्डारीलाई आदर्श मान्ने उनी भन्छिन्,‘हरेक नागरिकको हक हितका लागि म सधैं लड्ने छु । सत्यका लागि बोल्न कहिल्यै पछि हट्ने छैन ।’
