पुष्पराज कँडेल : १४ वर्षमा औपचारिक पढाइ सुरु, ७० वर्षमा संसद्को यात्रा

साढे चार दशक बढी एमालेमा योगदान गरेपछि कँडेल यसपटक समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेका छन् ।

चैत्र ११, २०८२

यज्ञ बञ्जाडे

Pushparaj Kandel: Formal education began at 14, journey to parliament at 70

What you should know

काठमाडौँ — काठमाडौंको छिमेकी जिल्ला धादिङमा जन्मिएका भए पनि पुष्पराज कँडेल १४ वर्षको उमेरमा एकैपटक विद्यालयमा ७ कक्षामा भर्ना भए। यो सुन्दा अचम्म लाग्न सक्छ, तर सत्य यही हो । उनी जन्मिएको २०१२ साल ताका उनको गाउँ नजिकमा स्कुल थिएन ।

काठमाडौं आएर पढ्न घरको आर्थिक अवस्थाले दिएन । कँडेलका बुबा किसान थिए। खान पुग्ने उब्जनी भए पनि धेरै नगद साथमा हुँदैनथ्यो । मामाघरका हजुरबुबा भने कहलिएका ज्योतिषी र पुरेत थिए । उनको मामाघर पनि धादिङमै हो । 

चार दाजुभाइ र चार दिदीबहिनीमध्ये सबैभन्दा जेठा कँडेल स्कुल पढ्नुको साटो हजुरबुबाकै साथ लागेर कर्मकाण्ड पढे र हजुरबुबाबाट नै उनले रुद्री, चण्डी पढ्न सिके । तर उनमा औपचारिक शिक्षा (विद्यालय अध्ययन) लिने मन थियो । किनकि, उनका ठूलोबुबाका छोरो घनश्याम उपाध्याय भारतमा पढेर नेपालमा त्रिभुवन विश्वविद्यालयमा पढाउँथे । 

कँडेललाई पनि धेरै पढेर दाइजस्तै बन्ने रहर जाग्यो । अनि, विसं २०२६ मा धादिङ गजुरीमा खुलेको जिल्लाको पहिलो स्कुल आदर्श हाइस्कुलमा ७ कक्षामा भर्ना भए। ढिला पढ्न थालेको भए पनि एसएसली भने १९ वर्षमै पास गरे । त्यसपछि कँडेलले कहिल्यै पछि फर्किनु परेन। जेहेन्दार विद्यार्थी भएकै कारण विद्यालयदेखि विश्वविद्यालसम्म उनले छात्रावृत्तिमै पढ्न पाए । 

नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सरेन्द्र पाण्डे विद्यालय र कलेजका सहपाठी हुन् । सुरेन्द्र पाण्डेका दाइ एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले पनि सोही विद्यालयमा अध्ययन गरेका हुन् । विद्यालय अध्ययनकै क्रममा कँडेल विद्यार्थी युनियनको कोषाध्यक्षसमेत भएका थिए । 

२०३० मा एसएलसीमा जिल्लाभरिको पहिलो भएर दोस्रो श्रेणीमा उत्तीर्ण भएका थिए। त्यसपछि उच्च शिक्षाका लागि उनी काठमाडौंको सरस्वती क्याम्पसमा आईकममा भर्ना भए । विज्ञान संकायमा पढ्ने रहर भए पनि उनले पढ्न पाएनन् । किनकि, उनले पढेको स्कुलमा ऐच्छिक गणित पढाइ हुँदैनथ्यो । विज्ञान संकाय पढ्न स्कुलमा ऐच्छिक गणित पढेको हुनुपर्थ्यो । 

काठमाडौं नरदेवी आसपास तीन जना साथी मिलेर एउटा कोठा भाडा लिएर उनले आईकम पढ्न थाले । कोठा भाडा महिनाको सामान्यतया ५० रुपैयाँ थियो, जुन तीनजनाले भाग लगाएर तिर्नुपथ्र्यो । मामासँग १३ सय रुपैयाँ सापटी मागेर उनी काठमाडौं पढ्न आएका थिए । पहिलो श्रेणीमा आईकम उत्तिर्ण गरे । त्यसपछि गाउँ फर्केर आफुले पढेकै माध्यमिक विद्यालयमा शिक्षण गर्न थाले । शिक्षणबापत उनले मासिक २ सय ९२ रुपैयाँ पाउँथे । 

तर एक वर्ष मात्र अध्यापन गरेपछि उनी फेरी बिकम अध्ययन गर्न काठमाडौं आए र शंकरदेव क्याम्पस भर्ना भए । त्यही बेला आमाको निधन भयो । परिवारको जेठो छोरो भएकोले उनले अध्ययनसँगै काम पनि गर्न थालेका थिए । भूमि सुधारमा अस्थायी नासुको काम गर्न थाले । तलब करिब मासिक ३ सय थियो । 

त्यतिबेलासम्म उनका भाइबहिनाहरु पनि काठमाडौंमा पढ्न आइसकेका थिए । उनको तलबले आफूसँगै भाइबाहिनीको पढाइ खर्च धान्ने र घरमा पनि केही सहयोग गर्नुपथ्र्यो । 

शंकरदेव क्याम्पसमै एमकम (स्नातकोत्तर) भर्ना भए र प्रथम श्रेणीमा उत्तिर्ण गरे । त्यतिबेलासम्म उनले नासुको जागिर छोडेर महालेखा परीक्षकको कार्यालयमा अधिकृतको जागिर सुरु गरिसकेका थिए । तर दरवन्दी अस्थायी थियो । 

कँडेललाई स्कुलदेखि विद्यार्थी राजनीतिले छोएको थियो । विद्यालय अध्ययनरत रहदा उनी विद्यार्थी युनियनको कोषाध्यक्ष थिए । उनले पढेको स्कुल वामपन्थी निकट मानिसले स्थापना गरेका थिए । यसकारण पनि उनी वामपन्थी विचारप्रति नजिक थिए । 

क्याम्पस पढ्दा तत्कालीन अखिल पाँचौंबाट विद्यार्थी राजनीति सुरु गरेका कँडेल  नेकपा एमालेको धादिङ–काठमाडौं सम्पर्क मञ्चका संस्थापक अध्यक्ष भए । त्यसपछि सरकारी जागिरे भएर राजनीतिमा लागेको भन्दै उनको जागिर खोसियो । 

अस्थायी दरबन्दीमा कार्यरत कँडेलको करार नवीकरण नगरिदिएपछि जागिर छोड्नु पर्‍यो । त्यतिबेलै उनले परराष्ट्र मन्त्रालयले कोलम्बो प्लान अन्तर्गत भारतमा चार्टर्ड एकाउन्टेन्ट (सीए) छात्रावृतिका लागि छनोट भए। 

तर, त्यतिबेला नेपालमा सूर्यबहादुर थापाको नेतृत्वको सरकारलाई अविश्वासको प्रस्तावमार्फत फालेर लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री बने । यो परिवर्तनले भारत सरकार रिसायो र कोलम्बो प्लान अन्तर्गतको छात्रावृत्ति रोक्यो । उनले सीए पढ्न पाएनन् । त्यसपछि केही महिना काठमाडौंमा स्कुलमा पढाए । 

विस २०४२ सालमा सरस्वति क्याम्पसमा एसिस्टेन्ट लेक्चरको अस्थायी जागिर पाए । २०४६ सालको आन्दोलनपछि उनी स्वतह स्थायी भए । 

२०५४ मा विद्यावारधि गर्न भारत गए र दिल्ली विश्वविद्यालय, दिल्ली स्कूल अफ इकोनोमिक्सको कमर्स डिपार्टमेन्टबाट कर्पोरेट टेक्सले लगानीमा पार्ने प्रभाव भन्ने विषयमा विद्यावारिधी गरे। तर राजाको निरंकुश शासनको विरोध गर्दै उनको हातबाट विद्यावारिधी पदक भने लिएनन्। 

विस २०५१ मा सरकारले उनलाई केही महिना नेपाल चुन उद्योगको सञ्चालक समिति सदस्य बनायो । यसबीचमा मनमोहन सरकारले बनाएको मदन दाहाल संयोजकत्वको करप्रणाली पुनरावलोकन कार्यदलको उनी सदस्य बने । 

Pushparaj Kandel: Formal education began at 14, journey to parliament at 70विस २०५२ मा करिब ३ महिना उनी राष्ट्रिय वाणिज्य बैंकमा सञ्चालक र २०६२/६३ को आन्दोलनपछि करिब डेढ बर्ष उनी नेपाल बैंकको संचालक बने । २०७५ मा उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बने । करिब सवा ३ वर्ष काम गरे। 

त्यसअघि नै विस २०७२ मा उनले त्रिभुवन विश्वविद्यालयको जागिरबाट राजिनामा दिइसकेका थिए । २०४९ मा एमालेको पाँचौ महाधिवेसनबाट उनी केन्द्रीय लेखा आयोगका सदस्य भए । २०६४ मा आठौं महाधिवेसनबाट सोही आयोगका अध्यक्ष बनेका उनी अहिले पनि अध्यक्ष नै छन् । 

कँडेलले नेपालको कर प्रशासन, वाणिज्य शास्त्र, अर्थतन्त्रलगायतमा दर्जनभन्दा बढी पुस्तक लेखेका छन् । उनका केही पुस्तक पाठ्यक्रममा आधारित र केही पुस्तक राजनीतिक अर्थशास्त्रसँग सम्बन्धित छन् । २०६५ सालमा भएको एमालेको आठौै महाधिवेशनमा उनले संघीयता नेपालमा ठीक छैन भनी प्रस्तावसमेत प्रस्तुत गरेका थिए । 

साढे चार दशकबढी एमालेमा योगदान गरेपछि कँडेल यसपटक समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बनेका छन् । २०७४ सालमा पनि उनी एमालेको समानुपातिक सूचीको तीन नम्बरमा थिए । तर सांसद बन्न पाएनन् । यसपटक सख आर्य पुरुष क्लष्टरबाट दोस्रो नम्बरमा रहेका कँडेल सांसद बन्न पाए । जीवनका ७० वसन्त पारगरिपछि मात्र संसदीय यात्रा थाल्न लागेका कँडेलका धेरै विद्यार्थी पनि संसद् पुगेका छन् ।

संसद्‍मा आफ्नो भूमिका रचनात्मक हुने उनको भनाइ छ । ‘पार्टीको नीति र सिद्धान्तमा रहेर संसद्‍मा मेरो भूमिका रचनात्मक हुनेछ,’ कँडेलले भने, ‘आवश्यकता र परिस्थितिअनुसार मेरो भूीमका विज्ञ, सल्लाहकार र अभिभावकीय रहनेछ ।’ 

मुलुकको हित हुने काममा सहयोगी र अहित हुने काममा खबरदारी गर्ने उनको भनाइ छ। 

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully