पार्टी विस्तारका क्रममा प्रभा ढकाल बागमती प्रदेशका १३ वटै जिल्लाका गाउँबस्ती र डाँडापाखासम्म पुगिन् । उनको यो संक्रियतालाई पार्टीले मुल्यांकन गर्दै खस आर्य क्लस्टरबाट सांसद् बनाएको छ ।
What you should know
बारा — कोल्हवी नगरपालिका-४ सपहीकी ३९ वर्षीया प्रभा ढकालले गाउँकै विद्यालयबाट माध्यमिक तहसम्मको शिक्षा प्राप्त गरिन् । त्यसपछि उनले चितवनको भरतपुरबाट नर्सिङ तह र स्नातकोत्तरसम्म अध्ययन गरिन् । अध्ययनसँगै सामाजिक र मानव सेवामा जुटिन् । सामाजिक सेवाकै क्रममा उनी लायन्स क्लब सप्तरंगीमा जोडिन पुगिन् ।
त्यहाँबाट उनले सुरुवात गरिन् मानव सेवा । पढाइसँगै उनले सडकमा अलपत्र परेका मानिसहरूलाई आश्रमसम्म पुर्याउन थालिन् । सँगसँगै विपन्न बिरामी, पहुँच नभएका र पैसाको अभावमा उपचारबिना छट्पटिन्थे त्यस्तालाई अस्पतालसँग समन्वय गरेर निःशुल्क उपचारमा सहयोगी गर्न थालिन् । यो क्रममा उनले सयौं त्यस्ता अनाथ, सडक मानवलाई उपचार र आश्रममा राख्ने काममा समाजसेवीका रुपमा पहिचान बनाइन् ।
यही क्रममा उनी रास्वपासँग जोडिन पुगिन् । रास्वपामा जोडिएर चितवन जिल्ला पार्टी उपसभापति र बागमती प्रदेश सदस्यको जिम्मेवारी सम्हाल्न थालिन् । पार्टी विस्तारका क्रममा प्रदेशका १३ वटै जिल्लाका गाउँबस्ती र डाँडापाखासम्म पुगिन् । उनको यो संक्रियतालाई पार्टीले मुल्यांकन गर्दै खस आर्य क्लस्टरबाट सांसद् बनाएको छ । उनले भनिन्, 'अहिले नै सांसद् बन्छु भन्ने सोचेकै थिइन।'
उनी चितवनमा रास्वपाका सभापति रवि लामिछानेको क्रेज र प्रभावबाट संक्रिय राजनीतिमा तानिएको बताउँछिन् । तीनवटा निर्वाचनमा रविले चितवनमा हासिल गरेको ह्याट्रिक विजयीमा उनको पनि राम्रो साथ रह्यो । हालै सम्पन्न निर्वाचनमा पनि उनी चुनावी कमान्डर टिमको सदस्य भएर इलाम, गोर्खा, धादिङ, चितवन र बारामा समेत संगठन निर्माणमा जुटिन् । चितवनमा त रवि लामिछानेलाई जिताउन गठित निर्वाचन परिचालन समितिको उनी कमाण्डर नै थिइन् ।
पार्टी सभापति लामिछाने जेलमा पर्दा हस्ताक्षर संकलनमा पनि उनको भूमिका महत्वपूर्ण रह्यो । उनी भन्छिन्, 'यदि मेरो कर्म क्षेत्र चितवन भरतपुर नभएको भए सायद राजनीतिमा लाग्ने थिइन । न त सांसद नै बन्थेँ ।' उनी भरतपुरलाई कार्यक्षेत्र बनाएर साढे २ दशकदेखि सेवारत छिन् ।
२५ मंसिर २०४३ मा जन्मेकी ढकाल समाजसेवामा लाग्न परिवारबाटै प्रेरणा मिलेको बताउँछिन् । बुबा आमाले सधैं गरिब दु:खीकाे सेवा गर्न भन्ने गरेको उनी सम्झन्छिन् । 'समाज सेवाका क्रममा भोगेका पीडा र समाजमा रहेको असमानताले राजनीतिमा लाग्न उत्प्रेरित गरेको हो । पहुँच नहुने र गरिब दुःखीले समाज र राज्यबाट पाउने सेवामा कति झन्झट पाउँछन् भनेर मैले राम्रोसँग भोगेकी छु । यही विभेद् र झन्झटिलो व्यवस्था सुधार गर्नु मेरो लक्ष्य हुनेछ,' उनले भनिन् ।
उनका बुबा कृष्णबहादुर ढकालको कोल्हवी बजारमै खाद्यान्न पसल छ । यही पसलको आम्दानीनै उनको परिवारको प्रमुख स्रोत हो । आमा सरस्वती ढकाल गृहिणी हुन् । उनी रास्वपाको स्थापनादेखि नै आबद्ध छिन् । हाल चितवन भरतपुर महानगरपालिका-१० हाकिमचोकमा बसोबास गर्दै आएकी छन् ।
