बसुमाया तामाङ: बालुवा बोक्ने श्रमिकदेखि उद्यमी हुँदै राजनीतिसम्म

२०४९ सालमा पद्मकन्या कलेजबाट आईए उत्तीर्ण गरे पनि उनले जीवन धान्नकै लागि ऊन कात्ने, स्विटर बुन्ने, राति विष्णुमतीमा बालुवा चाल्ने जस्ता काम गरिन् ।

चैत्र १२, २०८२

सीमा तामाङ

Basumaya Tamang: From sand carrier to entrepreneur to politician

What you should know

काठमाडौँ — धादिङको रुबी भ्यालीमा जन्मिएकी ५४ वर्षीया बसुमाया तामाङ रास्वपाबाट समानुपातिकतर्फ आदिवासी जनजाति क्लस्टअन्तर्गत महिलामा पहिलो नम्बरमा प्रतिनिधिसभा सदस्य सिफारिस भएकी छिन् । उनी दोस्रो प्रयासमा सांसद भएकी हुन् । 

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट उनले धादिङ–२ बाट प्रत्यक्ष उम्मेदवारी दिएकी थिइन् । उक्त निर्वाचनमा ५ हजार ५ सय ५९ मत ल्याए पनि उनी विजयी हुन सकिनन् । त्यस निर्वाचनमा कांग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका थिए । यसपटक अन्य सक्षम व्यक्तिलाई अवसर दिएर आफू समानुपातिकतर्फ गएको उनले बताइन् । 'मभन्दा योग्य साथीहरु हुनुहुन्थ्यो, त्यसैले उहाँहरुलाई ठाउँ दिए,' उनले भनिन् ।

रास्वपा घोषणा भएको दिनदेखि नै सक्रिय तामाङ पार्टीकी संस्थापक केन्द्रीय सदस्य हुन् । हाल उनी पार्टीको सहकोषाध्यक्ष तथा सचिवालय सदस्यका रूपमा कार्यरत छिन् । तर उनको परिचय राजनीतिमा मात्र सीमित छैन- उनी एक सफल उद्यमी पनि हुन् ।

‘नेपाली मन’ ब्रान्डमार्फत अचार उत्पादन गर्दै उनले देशभित्र र विदेशसम्म आफ्नो उत्पादनको पहिचान बनाएकी छन् । तर यो सफलताको यात्रा सजिलो थिएन । काठमाडौंको विष्णुमती किनारमा बालुवा चाल्ने र बोक्ने कामदेखि सडकमा ठेलागाडामा म:म चाउमिन बेच्नेसम्मका काम गरेर उनी यहाँसम्म आइपुगेकी हुन् । 

धादिङको रुबी भ्यालीमा जन्मेकी बसुमाया आठ-नौ वर्षकै उमेरमा काठमाडौं आएकी हुन् । छोराछोरीलाई पढाउनकै लागि बसुमायाका आमाबुवा परिवारसहित धादिङकै ज्वालामुखीमा गाउँपालिकामा झरे । त्यतबेला एक छोरी र दुई छोरालाई पढाउने चाहनाले उनको परिवार काठमाडौंसम्म आइपुगें । आठ-नौ वर्षकै उमेरमा परिवारसहित काठमाडौं आएको उनी बताउँछिन् । २०४९ सालमा पद्मकन्या कलेजबाट उनले आईए उत्तीर्ण गरिन् ।

३० वर्षअघि बुवाको निधनपछि परिवारको जिम्मेवारी थपिएकाले उनले आफ्नो पढाई अघि बढाउन सकिनन् ।  अर्कोतिर प्रमाणपत्र भए पनि उनले कतै जागिर पाइनन् । 'पढेलेखेको भए पनि मैले जागिर पाइन्, अनेक काम गरियो, अहिले यहाँ आइपुगेको छु,' उनले भनिन् । त्यतिबेला जीवन धान्न उनले ऊन कात्ने, स्विटर बुन्ने, राति विष्णुमतीमा बालुवा चाल्ने जस्ता काम गरिन् । पछि सडकमा म:म र चाउमिन बेच्न थालिन् । त्यहीँ व्यवसायमा प्रयोग गरिएको अचारले ग्राहकको मन नजितेपछि व्यापार घट्यो । अचार मिठो नभएको थाहा पाएपछि भने उनलाई बच्चामा टिमुर टिपेको, छोप  बनाएको याद आयो ।

अनि उनको यात्रा सुरु भयो 'अचार' उद्योगतिर । 'बच्चामा छोपमा चोपेर ढिँडो खाँदा रूच्थ्यो, मीठो पनि हुन्थ्यो,' उनले सुनाइन् । त्यहीँ सम्झेर उनले टिमुर, नुन र खुर्सानी किनेर एक किलो छोप बनाइन् । नाङ्लोमा राखेर बेचिन तर एक हजार खर्चेर बनाएको छोप बिक्री गर्न डेढ महिना लाग्यो । तर पनि उनले छोप बनाउन छोडिनन् । त्यसपछि उनले एकैपटक पाँच किलो छोप बनाइन् । उक्त टिमुरको छोप बेच्न भाटभटेनीतिर गइन् ।

अनि थाहा पाइन्, व्यवसायिक रुपमा व्यापार गर्न, उत्पादन मितिदेखि गुज्रने म्याद, नाम सबै चाहिने रहेछ । त्यसलाई प्याकेजिङ गरेर मात्रै बिक्री गर्नुपर्ने थाहा भयो । अनि निरन्तर प्रयासपछि २०६७ सालमा उनले ‘नेपाली मन’ उद्योग दर्ता गरिन् । आज उनी टिमुरको छोपलाई ब्रान्डका रूपमा स्थापित गर्ने अग्रणी महिला उद्यमीमध्ये एक रहेको दाबी गर्छिन् । उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १५० भन्दा बढीलाई रोजगारी दिएको उनले बताइन् ।

तामाङ अहिले एकल महिलाका रूपमा छोराछोरीको साथमा उभिएकी छन् । अब उनको लक्ष्य राजनीति र नीति निर्माणको तहमा फरक पहिचान बनाउने हो । 'हाम्रो पार्टी पहिलेदेखि समावेशी छ,' उनले भनिन् 'अब तामाङ समुदाय, आम नेपालीसहित बोल्न नसक्नेहरूको आवाज बनेर सुशासनयुक्त राष्ट्र निर्माणमा लाग्ने मेरो उद्देश्य छ ।'

जेन–जीको अपेक्षा र जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्दै देशका मूल समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ छ । 'अहिलेसम्म पार्टीको संगठन विस्तारमा काम गरे,  प्राय सबै क्षेत्रहरुमा आफै सहभागी भई पार्टीलाई निरन्तर साथ दिइरहे,' उनले भनिन्, 'जनताले मत दिएर पठाएको छ ।  जनताले खोजेको परिवर्तन र जेन-जीको मागलाई ध्यानमा राखेर अब देश विकासमा संगठित भएर अघि बढ्छौं ।' देशका मूल समस्याहरु पहिचान गरी सानो-ठूलो नभनी सबै मुद्दालाई लिएर नीति नियम निर्माणमा काम गर्ने उनले बताइन् । 

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully