कुलभक्त शाक्यः नेपाल भाषा संरक्षण आन्दोलनदेखि संसद्सम्म 

०४९ सालदेखि एमालेमा जोडिएका उनी यसअघि केन्द्रीय सल्लाहकार परिषद्का सदस्य थिए । संसद्मा उनले एमालेबाट काठमाडौं उपत्यकाको प्रतिनिधित्व गर्ने छन् ।

चैत्र ११, २०८२

गंगा बीसी

Kulbhakta Shakya: From the Nepali Language Preservation Movement to Parliament

What you should know

काठमाडौँ — मानव अधिकारीवादी नेता पद्मरत्न तुलाधरले २०३६ सालतिर राज्यले नेपाल भाषालाई थिचोमिचो गरेको भन्दै आन्दोलन सुरु गरेका थिए । उनको तेतृत्वमा नेपाल भाषा आन्दोलन बनेपा, पाल्पा, वीरगञ्ज हुँदै विराटनगरसम्म फैलिएको थियो ।

काठमाडौंका नेवार समुदायको मातृ भाषा नेपाल भाषाको सम्मान गर्दै सरकारी कामकाजी हुनुपर्ने माग तुलाधरको थियो । त्यो आन्दोलनले पञ्चायती शासकलाई दबाब सृजना गरेको थियो । त्यही भाषा आन्दोलनमा जोडिएका थिए, कुलभक्त शाक्य ।

त्यतिबेला उनी पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढ्दै थिए । वामपन्थी राजनीतिप्रति झुकाव भएका उनी भाषा आन्दोलनसँगै विद्यार्थी आन्दोलनमा पनि जोडिए । तुलाधर आफै वामपन्थी नेता थिए, जो राष्ट्रिय पञ्चायतमा जनपक्षीय उम्मेद्वारको रुपमा विजयी पनि भएका थिए । तुलाधरको प्रभाव शाक्यलाई पनि पर्‍यो ।

एमालेबाट समानुपातिकतर्फबाट सांसद भएका उनले पहिलोपटक संसदको यात्रा सुरु गरेका छन् । २०१७ सालमा काठमाडौंको लगनटोलमा जन्मिएका शाक्यले काठमाडौं उपत्यकाको राजनीतिक उतारचढावलाई नजिकबाट नियालेका छन् ।

‘२०३५ सालमा इन्जिनियरिङ क्याम्पस, पुल्चोकमा पढ्दै गर्दा म विद्यार्थी राजनीतिमा जोडिएँ,’ उनले भने, ‘२०३६ सालतिर पद्मरत्न तुलाधरको नेतृत्वमा नृवाद भाषा आन्दोलन सुरु भएपछि म उहाँसँग निकट भएको थिएँ । त्यसकै माध्यमबाट म सामाजिक अभियानतिर लागेँ ।’

पञ्चायतकालमा सुरु भएको भाषा आन्दोलनको नेतृत्वकर्ता तुलाधरसँग उनको करिब एक दशक नजिकको सम्बन्ध रह्यो ।

‘म काटमाडौंको आदिवासी भएको कारणले पद्मरत्न तुलाधरजीको सामिप्यमा करिब १० वर्ष काम गरेँ । उहाँबाट राजनीति, सामाजिक अभियानलगायत धेरै विषय जान्ने मौका पाएँ,’ उनले भने, ‘नेवार समुदायका धेरै सामाजिक संस्थाहरू हुन्छन् । ती संस्थाहरूमा रहेर काम गरे ।’

विगतमा अरु राजनीतिज्ञलाई संसद् पुर्‍याउन भूमिका खेलेका शाक्य यसपटक भने आफै सांसद बनेका छन् ।

‘राजनीति गर्ने साथीभाइहरूलाई विगतमा मद्दत गर्ने, कसैलाई मेयरमा पुर्याउने, कसैलाई संसद्मा पुर्याउने भूमिकामा थिएँ । यसपटक पार्टीले नै सांसदको रुपमा अघि सार्‍यो । अब आफ्नो अनुभवलाई सदुपयोग गर्छु,’ उनले भने ।

स्थानीय राजनीतिसँगै उनी भाषा, संस्कृति, सम्पदामा बढी चासो राख्छन् । पञ्चायतमा जस्तो विभिन्न भाषाभाषीले विभेद भोग्न नपरे पनि त्यसको संरक्षणमा अहिले पनि आवश्यकताअनुसार काम नभएको उनी ठान्छन् ।

०४९ सालदेखि एमालेमा जोडिएका उनी यसअघि केन्द्रीय सल्लाहकार परिषद्का सदस्य थिए । संसद्मा उनले एमालेबाट काठमाडौं उपत्यकाको प्रतिनिधित्व गर्ने छन् ।

‘मेरो यो संसद् यात्रा पहिलो हो । आदिवासी, जनजातिहरूका मुद्दा छन् । आफ्नै पार्टीको मुद्दाहरू उठाउने मेरो भूमिका हुन्छ,’ उनले भने, ‘संसद्मा धेरै मातृभाषा बोल्नेहरू संसद्भित्र छन् । मातृभाषा बोल्नेहरूमाथि विभेद भएको खण्डमा कुरा उठ्नु स्वभाविक हुन्छ ।’

काठमाडौं उपत्यकाका पालिकाहरूमा सरकारी कामकाजीको भाषा नेवारी भएकाले आगामी दिनमा अरु नै विषय बढी प्राथमिकतामा पर्ने उनको भनाइ छ । ‘अहिले बागमती प्रदेशमा कामकाजी भाषा नै छन् ।

काठमाडौंमा नेपाल भाषा, अरु पालिकामा तामाङ भाषा कामकाजी बनाइएको छ,’ उनले भने, ‘अब फेरि भाषा संरक्षण र संरक्षणका लागि अर्को आन्दोलन होइन, संस्कृतिलाई जोगाउनु पर्छ । सम्पदालाई जोगाउनु पर्छ । आदिवासीहरूको मर्मलाई आत्मसाथ गरी अघि बढ्नुपर्छ भन्ने लागेको छ ।’

गंगा

Link copied successfully