रिगला यादव पार्टीभित्रका विभिन्न द्वन्द्वबाट खारिएकी महिला नेतृ हुन् । प्रष्ट वक्ता र हक्की स्वभाव अनि राजनीति र समाजसेवामा निरन्तर सक्रियता उनको विषेशता हो ।
What you should know
नवलपरासी — ४० वर्षीया रिगला यादव एमालेको समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्यमा चुनिएकी छन् । उनी मधेशी महिला क्लस्टरबाट सांसद चुनिएकी हुन् । एमालेले उनको नाम मधेशी महिला क्लस्टरको एक नम्बरमा राखेको थियो ।
उनी नवलपरासी पश्चिममा भाडामा लिएकोसहित गरेर १६ बिगाह जग्गामा खेतीपाती गर्दै आएकी छन् । व्यवसायिक रुपमा खेतिकिसानी गर्दै आएकी यादव पार्टीले दिएको जिम्मेवारीलाई इमान्दरिताका साथ पूरा गर्ने बताउँछिन् । खेतिपाती मात्रै होइन् उनले २५ जनालाई रोजगारी दिनेगरी नेपाल गार्मेन्ट प्रालि पनि सन्चालन गरेकी छन् ।
उनले भनिन्, '२२ वर्षदेखि सक्रिय राजनीतिमा पनि छु । राजनीतिमार्फत समाजमा जोडिएकी छु । यही कारण पार्टीले मलाई समानुपातिक सूचीकाे एक नम्बरमा राखेर सांसद् बनाएको होला ।' खेती र गार्मेन्टमा गरेर ७० भन्दा बढीलाई उनले रोजगारी दिएकी छन् ।
उनी पार्टीभित्रका विभिन्न द्वन्द्वबाट खारिएकी महिला नेतृ हुन् । प्रष्ट वक्ता र हक्की स्वभाव अनि राजनीति र समाजसेवामा निरन्तर सक्रियता उनको विषेशता हो । २०७० सालमा तत्कालीन नवलपरासी क्षेत्र नम्बर ६ मा एमालेबाट संविधानसभा सदस्य निर्वाचनमा उम्मेदवार थिइन् । यद्यपि, उनी पराजित भएकी थिइन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा पाल्ही नन्गदन गाउँपालिकाबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी यादव त्यहाँ पनि पराजित भएकी थिइन् ।
संविधानसभा सदस्य (पश्चिम नवलपरासी-६ बाट ) पराजित भएपछि गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बनेको भनेर पार्टीभित्र उनको आलोचना समेत भएको थियो । पार्टीले सुम्पिएको जिम्मेवारी सधै पूरा गर्न कोशिश गरेको उनको भनाइ छ ।
विद्यार्थीकालमै अनेरास्ववियूको केन्द्रीय सदस्य बनेर ०६२ सालबाट उनी राजनीतिमा लागेकी थिइन् । २०६५ सालमा परासीस्थित पाल्ही बहुमुखी क्याम्पसमा स्ववियू उपाध्यक्षमा उम्मेदवार हुँदा उनी ६ मतले पराजित भएकी थिइन् । त्यसपछि अनेरास्ववियूको केन्द्रीय सदस्यमा निर्वाचित भएर पार्टीमा काम गरेकी थिइन् ।
लगातार तेस्रोपटकसम्म एमाले जिल्ला कमिटि सदस्य रहेकी यादव एमाले जिल्ला कमिटिको उपसचिव हुन् । उनी एमाले पश्चिम नवलपरासीको महिला फाँटको जिल्ला इन्चार्ज समेत हुन् । ४० वर्षीया पाल्कीनन्दन गाउँपालिका-६ सनही नन्दन ताल निवासी हुन् । उनका श्रीमान् खेती किसानी गर्छन् । राजनीतिमा श्रीमान्ले पूर्ण सहयोग गरिरहेको उनको भनाइ छ ।
