नीतिगत अनुसन्धानकर्मी सुजताको संसद् यात्रा

समुदायको सशक्तिकरण र दिगो कृषि क्षेत्रमा लामो समय काम गरेकी डा. सुजता तामाङ अब संसदमा नीति निर्माण र पैरवीमा संलग्न हुने बताउँछिन्।

चैत्र १२, २०८२

होम कार्की

Policy researcher Sujata's visit to Parliament

What you should know

काठमाडौं — डा. सुजता तामाङले संघीय संसदतर्फ कहिले आँखा लगाइएकी थिइनन् । उनलाई लाग्थ्यो,‘यो ढोका राजनैतिक पुष्ठभूमि भएकाहरुका लागि मात्रै हो ।’  

‘हामीले जे अभ्यासहरु देखेका थियौं, सांसदहरु राजनैतिक पुष्ठभूमिबाट आउनुहुन्थ्यो,’ ललितपुर भैंसेपाटी–१८ स्थित नीजि निवासमा भेटिएकी उनले भनिन्,‘मेरो कहिले पनि दलीय राजनीतिमा संलग्नता भएन । संसद्मा पुगिएला भन्ने कुनै अपेक्षा र सोच नै थिएन ।’

आफ्नो करियरलाई कृषि तथा प्राकृतिक स्रोतको दिगोपना र समुदायको सशक्तिकरणका लागि नीतिगत अध्ययन–अनुसन्धानमै केन्द्रीत गर्दै आइरहेकी सुजतालाई राष्ट्रिय स्वतन्त्र पार्टीले कृषि अनुसन्धान विज्ञको रुपमा आदावासी जनजातितर्फ समानुपातिक सूचीमा राखेको थियो ।

त्यहीँ सूचीले उनलाई संसद्को ढोका खोलिदियो । ‘दलगत राजनीति नगरे पनि नीतिगत अनुसन्धान र अभ्यास गर्दा राजनीति महत्वपूर्ण हो भन्ने लाग्थ्यो । तर, अहिलेकै बेथितीको अवस्थामा राजनीतिमा गइहाल्ने सोच थिएन । अहिले नै संसद्मा पुग्छु भन्ने योजना पनि थिएन,’ उनले भनिन्,‘राजनीतिमा जोडिने र नीतिगत योगदान हुने कामको अनुभवको आधारमा नवयुवा आन्दोलनले सिर्जना गरेको वातावरणमा जनजाति महिला र विषयगत योगदान गर्न प्रतिनिधित्व गर्न आएको प्रस्तावलाई स्वीकारेको हो ।’  

उनी संखुवासभाको तुम्लिङारमा किसान परिवारमै जन्मे–हुर्केकी हुन् । पछि मकवानपुरको  चित्लाङमा विहे गरिन् । उनका श्रीमान् हङकङ विश्वविद्यालयमा अनुसन्धान र अध्यापन गर्दै आएका छन् । उनी सात छोराछोरीमा उनी छैठौं हुन् । उनको परिवार पुरापुर खेतीकिसानमा नै निर्भर थियो । खानलाई अन्न छैन भन्ने अवस्था थिएन । तर, अन्य आवश्यकता पूरा गर्न नगदको अभाव हुन्थ्यो । बुवा बलराम बैद्य र आमा डम्बरकुमारी एक्लैले सबै सन्तानलाई सार्वजनिक स्कुलमै पढाउन पनि त्यति सहज थिएन । ‘धेरै जना भएकोले परिवारभित्र एउटा ‘सपोट सिस्टम’ बन्यो । ठूलो दाईले दिदीहरुलाई पढ्न सघाउने । त्यहाँ भन्दा मूनिकोले आफू भन्दा मूनिकोलाई पढ्न सघाउने परिस्थिति बन्यो,’ उनले भनिन्,‘मलाई माइला दाईभाउजुले पढाउनुभयो।’

उनले सात कक्षासम्म तुम्लिङटारमा पढिन् । त्यसपछि माइला दाई–भाउजु जागिरको सिलसिलामा जताजता पुग्थे, उनको पढाई पनि त्यतै भयो । दाई–भाउजुसित उनी धरान, हेटौंडा, चितवन हुँदै काठमाडौंमा आइपुगिन् । उनको करियर भने फरेष्ट एक्सन नेपालमा फ्रन्ट डेस्कबाट सुरु भएको थियो । ‘त्रिभुवन विश्वविद्यालयमा ग्रामीण विकासमा स्नाकोत्तर गर्न काठमाडौं आएपछि फ्रन्ट डेस्कबाट कामको अनुभव लिन थालेको उनले बताइन् । त्यसपछि कार्यक्रम अधिकृत, अनुसन्धानदाता हुँदै कार्यकारी संयोजक पदमा काम गरिन् ।

वितेका १७ वर्ष उनले नेपालको खेतीपाती दिगोपनाको लागि साना, महिला, सिमान्त र स्थानीय आदिवासी समुदायलाई समेट्ने विषयमा सहभागितात्मक अनुसन्धान र वकालतमा संलग्न थिइन् । यही सेरोफेरोमा उनले अष्ट्रेलियाको युनिभर्सिटी अफ न्यू साउथ वेल्सबाट स्नाकोत्तर तथा पिएचडी गरिन् । स्नाकोत्तर र पिएचडी पूरा हुनसाथ उनी अष्ट्रलियामै फर्किहालिन् ।  ‘मलाई अष्ट्रेलियाबाट फर्कन दुई वटा कुराले गाइड गर्‍यो । एउटा मेरो दाईहरु नै पनि पढ्न जानु भयो । उहाँहरु पनि फर्किनु भयो । बाआमाले पनि नेपालमै काम गर्दा एक खाले इज्जत पाइन्छ भनिराख्नुहुन्थ्यो,’ उनले भनिन्,‘अर्कोतिर बस्छु भन्दैमा पनि सजिलो छैन ।’

उनले नेपालमा ‘फेमिनाइजेसन अफ लोकल कम्युनिटीज एण्ड इट्स इम्प्याक्ट अन फुड सेक्युरिटी’मा पिएचडी गरेकी थिइन् । यो सोधले खाद्य सुरक्षामा देखिएका दुष्चक्रमाथि गहिरो विश्लेषण गरेको छ । 

उनले अबको संसद्मा नीतिगत अनुसन्धान र पैरवीबाट संगालेको अनुभव र ज्ञानलाई नेपालको दिगो खेती प्रणालीको विकासमा नै केन्द्रीत गर्ने बताइन् । ‘साना किसान, महिला किसान, सिमान्तकृत समूहको प्राकृतिक स्रोतसँगको सम्बन्ध र उनीहरुको अधिकार स्थापना गर्ने नीतिहरु बनाउने, समिक्षा गर्ने विषयमा आफुलाई केन्द्रीत गर्ने हो,’ उनले भनिन्,‘पहिला म नीतिगत खडालहरु देख्ने ठाउँमा थिए । अब त्यसलाई पुर्ने ठाउँमा आइपुगेकी छु ।’  

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully