धार्मिक सहिष्णुताका पक्षधर ताहिरको संसद् यात्रा

धार्मिक सद्भाव र सामाजिक एकताका लागि सधैं अग्रपंक्तिमा रहने ताहिर अली अब प्रतिनिधिसभामा नीति निर्माणमा सक्रिय हुनेछन् ।

चैत्र ९, २०८२

माधव ढुंगाना

Tahir, an advocate of religious tolerance, visits Parliament

What you should know

भैरहवा — धार्मिक सद्भाव कायम राख्नका लागि जहिल्यै अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्ने रूपन्देहीका ६१ वर्षीय ताहिर अलीले संसदीय यात्रा तय गरेका छन् । तीन दशकको जागिरे जीवन, समाजसेवा र राजनीतिमा सत्रिय रहँदै आएका रूपन्देहीको रोहिणी गाउँपालिका–३ का अली राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट समानुपातिकतर्फ निर्वाचित भएर बिहीबारदेखि प्रतिनिधिसभा सदस्य बनेका हुन् । उनी राप्रपाको मुस्लिम क्लस्टरबाट समानुपातिकमा परेका हुन् । 

प्रतिनिधिसभा सदस्य भएपछि उनलाई यतिबेला साथीभाइ, इष्टमित्र, नातेदार र छरछिमेकबाट बधाइ तथा शुभकामना दिनेसँग भलाकुसारी गर्न भ्याइनभ्याइ छ । घरनजिकैको धकधइ बजारमा आइतबार साथीभाई र शुभेच्छुकबाट बधाइ ग्रहण गरिरहेका भेटिएका अली सबै धर्म र समुदाय बीच आपसी सद्भाव कायम राख्दै सामूहिक भावनाले अगाडि बढ्न सुझाव दिइरहेका थिए ।

सबै धर्म र समुदायबीच सद्भाव र भाईचाराको सम्बन्धलाई बलियो बनाउँदै सामाजिक एकताको बलमा विकास निर्माण गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उनले बताए । ‘कुनै पनि धर्मका नाममा विवाद सुरु हुन थाल्यो भने आपसी सद्भाव कायम राख्नका लागि सबैभन्दा पहिला म अग्रपंक्तिमा रहेर खट्ने छु,’ अलीले भने, ‘नेपालमा धार्मिक सहिष्णुता तथा सामाजिक एकता हुनुपर्छ भन्ने भावनाले नै म मुस्लिम परिवारमा जन्मे पनि राष्ट्रको पहिचानका लागि हिन्दु धर्म कायम रहुन पर्छ भन्ने मान्यता राख्ने पार्टीमा आबद्ध छु ।’

छरछिमेक तथा समस्यामा परेका जोकसैको कामकालागि जुनसुकै बेला पनि प्रहरी प्रशासन तथा विभिन्न निकायमा बिना राजनीतिक भेदभाव तत्कालै खटेर उनले समाजमा आफ्नो पहिचान बनाएका हुन् । उनका राजनीतिक गुरु भने राप्रपाका स्वर्गीय नेता दिपक बोहरा हुन् । बोहराकै प्रेरणाले आफू राजनीतिमा आएको उनले सुनाए । 

उनी रूपन्देहीको तत्कालीन धकधही गाउँपञ्चायत–५ मा विसं २०१९ सालमा सामान्य परिवारमा जन्मेका थिए । घरनजिकै स्कुल भए पनि उनी केही समय साढे २ किमी टाढा पोखरभिण्डीस्थित हजुरआमाको घरमा बसेर पढे। कक्षा ९ मा पुगेपछि उनी बल्ल आफ्नै घरबाट नजिकैको श्रीराम नरेश आदर्श माविमा पढेका थिए ।

विसं २०३६ सालको जनमत संग्रहपछि विद्यालय स्तरमा पनि स्वतन्त्र विद्यार्थी संगठन खोल्न पाइने प्रावधान आएपछि उनी कुनै राजनीतिक दलमा आबद्ध नरहेर पनि २०३७ सालमा श्रीराम नरेश आदर्श माविको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएका थिए । 

स्ववियू अध्यक्ष भएपछि उनले विद्यालयका तत्कालीन प्रधानाध्यापक नारायण घिमिरेलाई साथ दिँदै जिल्ला प्रशासन र मालपोत कार्यालय धाएर विद्यालयको स्वामित्वमा रहेको करिब १४ बिगा जमिनको लालपूर्जा निकालेका थिए । उनी विद्यालयको भौतिक र शैक्षिक गतिबिधिमा सक्रिय हुन थाले । 

२०३८ सालको राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा चुनाव लडेका दिपक बोहराको प्रचारप्रसारको क्रममा श्रीराम नरेश मावि आएपछि विद्यार्थी नेताको रुपमा बोहरासित उनको पहिलो चिनजान भएको थियो । ‘त्यतिबेला जनपक्षीय उम्मेदवारको रुपमा चुनाव लडेका बोहरासँगको कुराकानीबाट प्रभावित भएर म उहाँको चुनावमा खटिएर लागे,’ उनले भने, ‘बोहरा विजयी भएपछि म उनको प्रिय हुन पुगें ।’

२०४१ सालमा दिपक बोहरा पर्यटन मन्त्री बनेपछि शाही नेपाल वायु सेवा निगम (आरएनएसी) मा अलीलाई जागिर लगाइदिएका थिए । जागिरकै दौरान अली बोहराको नजिक रहेर राजनीतिक तथा सामाजिक कार्यमा संलग्न हुन थाले । बोहरासँगको सामिप्यताबाट आफूले सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्ने तरिका सिकेको उनले बताए ।  

जागिरे जीवनमा उनी आरएनएसीको हेड लोडरसम्म भए । राजनीतिक भेदभाव नराखेर सबैलाई समान व्यवहार गर्ने बानी आफूले बोहराबाटै सिकेको उनले बताए ।  ‘ताहिर अलीले काठमाडौंमा रहेर आरएनएसीमा जागिरे रहँदा पनि यस क्षेत्रबाट काठमाडौं गएका बेखर्ची साथीभाई र अन्यलाई समेत बस्ने खाने प्रबन्ध मिलाइदिने गर्थे,’ देवदह नगरपालिका–१२ का राजु चौधरीले भने, ‘स्थानीय स्तरमा कसैको काम परेर सहयोग मागेमा उनले बिना स्वार्थ र राजनीतिक भेदभावले नहेरी जानुपर्ने ठाउँमा पुगेर गरिदिन्थे ।’

२०७० मा जागिर छाडेपछि अली सामाजिक र राजनीतिक क्षेत्रमा पूरै समर्पित भएर लागे । आफू पढेको विद्यालयको दुई कार्यकाल व्यवस्थापन समिति अध्यक्ष भएका थिए । धकधही खानेपानी योजनाको अध्यक्ष भएर लथालिंग अवस्थामा रहेको योजनालाई सफल बनाएका थिए । 

२०७० मा संविधानसभा सदस्यमा राप्रपाबाट आफ्नो सट्टा अरुलाई बनाइएपछि उनी केही समय नेतृत्व तहप्रति असन्तुष्टि जनाउँदै पार्टी त्यागेका थिए । एमालेमा प्रवेश गरेका अली तीन महिनापछि फेरि राप्रपामै फर्किका थिए । ‘त्यो एउटा अकल्पनीय घटना थियो,’ उनले भने, ‘त्यतिबेला तीन महिनापछि म फेरि आफ्नै राजनीतिक घर फर्किए ।’ राप्रपा रुपन्देहीका अध्यक्ष सागरप्रताप राणा त्यतिबेला उनीमाथि भएको अन्यायको पूर्ति अहिले समानुपातिकमा नाम समावेश गरेर भएको बताउँछन् । संसद्मा ताहिरको उपस्थितीले जनपक्षीय कानुन निर्माण हुने र पार्टीको संगठन बलियो बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा पार्टीले राखेको राणाले बताए । 

तहिर २०७४ र २०७९ को स्थानीय तहको निर्वाचनमा रोहिणी गाउँपालिकाको अध्यक्षमा चुनाव लडे पनि दुवै पटक झिनो मतले पराजित भएका थिए । दुवै पटक पालिकाका अन्य पदहरुमा भने विजयी बनाएर पार्टीको उपस्थितीलाई बलियो बनाउन सफल रहे ।  

प्रतिनिधिसभा सदस्य भएपछि अब संसदमा कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, सडकलगायतका पूर्वाधार निर्माण, पिछडिएको वर्गको उत्थान, सामाजिक सशक्तिकरणलगायतका विषयमा प्रभावकारी नीति नियम बनाउन आफ्नो भूमिका केन्द्रित रहने उनले बताए । 

उनका अनुसार किसानले समयमै बीउ, मलखाद नपाउनु, कृषि उपजले राम्रो मूल्य नपाउनु, सिँचाइ अभाव वर्षौंदेखिका समस्या छन् । रुपन्देही–१ मा कलेज नहुँदा धेरै विद्यार्थी १२ कक्षापछि  पढ्न टाढा जानु परेको छ। छात्राले टाढा जान असुरक्षित ठानेर बीचमै पढाइ छाड्ने गरेका छन् । न्यूनतम स्वास्थ्य सेवा सेवा नजिकमा नपाउँदा अकालमै मृत्यु हुने गरेको छ । बेरोजगारी समस्या पनि बढ्दो छ । किसान लाभान्वान्ति हुने गरी सरकारी पक्षबाट कृषि उपज बस्तुको न्यूनतम समर्थन मूल्य कायम गरी खरिद गर्ने, भएका स्वास्थ्य संस्थाको स्तरोन्नति गरी न्यूनतम स्वास्थ्य सेवा निःशुल्क बनाउने, धकधहीमा एउटा डिग्री कलेजको स्थापना, मुस्लिमलगायत शिक्षा र आर्थिक रुपमा पिछडिएका सबै समुदायमा आयआर्जनका लागि सीपमूलक शिक्षा प्रदान गर्नेलगायतका विषयमा नीतिनियम बनाउन संसद्मा आवाज बुलन्द बनाउने उनले योजना सुनाए।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully