जेन–जी घाइतेकी दिदीको संसद् यात्रा

सामान्य परिवारबाट उठेर गैरसरकारी संस्थामा आफ्नो राम्रो पहिचान बनाएकी उनको जीवनले २३ भदौपछि राजनीतिक मोड लिएको हो ।

चैत्र ९, २०८२

बरुण पनेरु

Injured Jane's sister visits Parliament

डडेलधुरा — अमरगढी नगरपालिका–५ सेलागाउँकी आकृति अवस्थी पनि प्रतिनिधिसभामा रास्वपाबाट समानुपातिक सांसद बनेकी छन् । सामान्य परिवारबाट उठेर गैरसरकारी संस्थामा आफ्नो राम्रो पहिचान बनाएकी उनको जीवनले २३ भदौपछि राजनीतिक मोड लिएको हो ।

उक्त दिनको जेन–जी आन्दोलनमा सहभागी हुन संसद् भवननजिक पुगेका उनका माइला भाइ मुकेश अवस्थी प्रहरीको गोली लागेर घाइते भएका थिए । गम्भीर घाइते अवस्थामा उपचाररत मुकेशले अन्ततः आफ्नो बायाँ खुट्टा गुमाउनुपर्‍यो । अवस्थी परिवारका लागि यो घटना निकै पीडादायी बन्यो ।

राजनीतिमा खासै चासो नभए पनि रास्वपाले जेन–जी आन्दोलनका घाइते परिवारका सदस्यलाई संसद्मा पुर्‍याउन प्राथमिकता दिँदा आकृतिले नयाँ भूमिका पाएकी हुन् । यसअघि गैरसरकारी क्षेक्रमा क्रियाशील आकृतिको यात्रा संसद्सम्म पुगेको छ । संघर्ष, पीडा र सामाजिक प्रतिबद्धताले आकार दिएको यो यात्राले उनको अब भने फरक पहिचान बनेको छ ।

चेतराज र अर्मापति अवस्थीकी जेठी छोरी आकृतिले सानैदेखि सामाजिक, खेलकुद र कलासंस्कृतिका क्षेत्रमा रुचिरहेको बताइन् । गैरसरकारी क्षेत्रमै भविष्य देखेर स्नातक पनि सामाजिक विषयमा गरेको बताइन् ।

पछिल्लो समय कञ्चनपुरमा रहेको ‘निड्स’ नामक संस्थामा कार्यक्रम संयोजकका रूपमा कार्यरत उनी त्यहाँ रहँदा समुदायका विझिन्न सामाजिक मुद्दा, सचेतना कार्यक्रम र नागरिक सशक्तीकरणका गतिविधिमा सक्रिय भूमिका निर्वाह गरिन् ।

‘जेन–जी आन्दोलनका घाइते परिवारबाट रास्वपाले मलाई स्थान दिएको छ,’ आकृतिले भनिन्, ‘अब देशमा सुशासन कायम गर्ने र भ्रष्टाचार रोक्ने मेरो प्रयास हुनेछ । सामाजिक क्षेत्रमा रहेर सामुदायिकको काम गरिरहेको थिएँ, अब पनि त्यही समुदायको सुशासन सुधार गर्न पहल गर्नेछु ।’ 

बरुण

Link copied successfully