अर्जुननरसिंह केसीले पार्टीभित्र सधैँ नीति, नेतृत्व परिवर्तन र संस्थागत अभ्यासको पैरवी गरेकै हुन् । तर, अहिले समानुपातिकबाट सांसद भएर संसद् छिरेपछि उनीमाथि युवाहरूलाई अवसर नछाड्ने नेताका रूपमा चौतर्फी प्रश्न तेर्सिएको छ ।
What you should know
काठमाडौँ — कांग्रेसभित्र नेतृत्व, नीति र पुस्तान्तरणको बहस चल्दा बारम्बार सुनिने नाम हो- अर्जुननरसिंह केसी । सात दशक लामो कांग्रेस इतिहासका उतारचढावसँगै अघि बढेका केसी त्यस्ता नेता हुन्, जसले पञ्चायतदेखि संघीय लोकतन्त्रसम्मको राजनीतिक यात्रा प्रत्यक्ष अनुभव गरेका छन् । सत्ता, संघर्ष, गुट राजनीति, आन्दोलन र संसदीय अभ्यास सबै चरण पार गरेका केसी अहिले पनि पार्टीभित्र संस्थागत अभ्यासको वकालत गर्ने नेताका रूपमा चिनिन्छन् ।
विद्यार्थी राजनीतिमा कांग्रेस, त्यसपछि राष्ट्रिय पञ्चायतमा प्रवेश । ०३८ सालमा चुनाव जितेर राज्यमन्त्री । फेरि कांग्रेस प्रवेश । ०४८ साल यताका आठ निर्वाचनमध्ये सात निर्वाचनमा प्रत्यक्ष प्रत्यासी । त्यसमध्ये पाँच निर्वाचनमा सफलता पाएर पटक–पटक शक्तिशाली मन्त्री भएका केसी यसपटक भने सामानुपातिकबाट संसद् छिरेका छन् । अरूको हकमा समानुपातिक र नेतृत्व पुस्तान्तरणको मुद्दाको सैद्धान्तिक व्याख्या गरेर नथाक्ने केसी आफ्नो हकमा भने विरोधाभाषपूर्ण देखिएको भन्दै उनको चौतर्फी आलोचना पनि भइरहेको छ ।
साढे छ दशक अघि शान्ति विद्या गृह माध्यमिक विद्यालयको महामन्त्रीबाट केसीले राजनीतिक यात्रा सुरु भएको थियो । त्यसपछि उनले नेपाल नेसनल कलेज (हाल शंकरदेव क्याम्पस) को उपाध्यक्ष र अध्यक्षमा निर्वाचित भए । २०२९ सालमा कांग्रेसले बराणसीमा आयोजना गरेको लोकतान्त्रिक समाजवादी युवा लिगको केन्द्रीय सदस्य भएका थिए । नेपाल विद्यार्थी संघ स्थापना हुनुअघि बीपी कोइरालाद्वारा गठित विद्यार्थी सभा आयोजक समितिमा रहेर काम गरेका थिए । उनी नेविसंघका संस्थापन सदस्य हुन् । २०३७ सालमा राष्ट्रिय पञ्चायतमा प्रवेश गरेर उनी २०३८ सालमा निर्वाचन जितेर संसद् छिरेका थिए । त्यतिबेला सूर्यबहादुर केसी नेतृत्वको सरकारमा केसी एक वर्षसम्म स्वास्थ्य राज्यमन्त्री भएका थिए ।
जेन-जी विद्रोहको पृष्ठभूमिमा भएको विशेष निर्वाचनमा केसी नै आउँदै गरेको संसद्का सबैभन्दा बढी उमेरका पाका नेता हुन् । उनका समकालीन र उमेरमा हाराहारीका अधिकांश नेताहरू यसपटक उपस्थित छैनन् । संसदीय अभ्यासमा लामो अनुभव बोकेका केसीले ज्येष्ठ सदस्यताको हैसियतबाट आगामी चैत १२ गते २ सय ७४ संसद्को शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग आफूले शपथ लिएपछि अरू सांसदहरूलाई शपथ खुवाउने कार्यक्रम तय भइसकेको छ ।
पार्टीले भावी प्रधानमन्त्रीका रूपमा निर्णय लिएका सभापति गगन थापा र पार्टीका सबै पदाधिकारी निर्वाचनबाट पराजित भएपछि केसीलाई अर्को अवसरको ढोका पनि खुलेको छ- संसदीय दलको नेता बन्ने ।
गत शुक्रबार उनले सार्वजनिक रूपमै पुरानो अनुभव र योगदानका आधारमा आफ्नो दाबी स्वाभाविक हुने बताइसकेका छन् । केसी कांग्रेस सभापति गगन थापाका ससुरा हुन् । तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिले उनलाई समानुपातिक सूचीमा राखेको थियो । समानुपातिकमा निर्वाचित गराउने भूमिकामा थापा नेतृत्वको केन्द्रीय कार्यसमितिबाटै भयो । अब संसदीय दलको नेताका रूपमा अघि सार्ने कि नसार्ने भन्नेमा सभापति थापाकै निर्णयमा भर पर्ने देखिन्छ ।
समानुपातिक सूचीमा राखेदेखि नै त्यसको सबैभन्दा बढी आलोचनामा सभापति थापा नै तानिइरहेका छन् । आफ्नै ससुरालाई समानुपातिकमा राखेको भनेर आलोचना हुन थालेपछि उनले सामाजिक सञ्जालबाटै समानुपातिक सूचीमा केसीको नाम आफूले नराखेको भनेर खण्डन पनि गरे ।
जेन-जी विद्रोहको पृष्ठभूमिमा पार्टी रूपान्तरणको मुद्दा उठाएर थापा र अर्का उपसभापति विश्वप्रकाश शर्माले ‘विद्रोह’मार्फत सभापति देउवालाई पार्टीबाट विस्थापित गरेका थिए । गगन थापा निकटकै कांग्रेस नेताहरू गगन–विश्व टिमले ७८ वर्षीय केसीलाई संसदीय दलमा नेताका लागि अघि सारेमा ८२ वर्षीय देउवालाई निर्वाचनको मुखमा हटाएको औचित्यसमेत पुष्टि गर्न नैतिक संकट उत्पन्न हुने बताउँछन् ।
केसीले पार्टीभित्र सधैँ नीति, नेतृत्व परिवर्तन र संस्थागत अभ्यासको पैरवी गरेकै हुन् । तर, अहिले समानुपातिकबाट सांसद भएर संसद् छिरेपछि उनीमाथि युवाहरूलाई अवसर नछाड्ने नेताका रूपमा चौतर्फी प्रश्न तेर्सिएको छ । उनले ‘ससुरा’ भन्दै मिडियाले आफूमाथि प्रहार गरेकोमा दुखेसो समेत पोख्दै आए ।
‘अहिले कांग्रेस संसदीय दलमा सबैभन्दा सिनियर नेता मै हुँ । संसदीय अभ्यास र यात्रामा मैले ठूलो योगदान गरेको छु, २०४७ सालदेखि संसद्मा कांग्रेस धानिदिने मै हो,’ गत शुक्रबार केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुँदै गर्दा केसीले भनेका थिए,‘दलको नेतामा मेरो दाबी स्वाभाविक रूपमा हुन्छ ।’
केसीको राजनीतिक यात्रा कांग्रेसबाट सुरु भएको थियो । विद्यार्थीकालदेखि उनी कांग्रेसप्रति आकर्षित भएर लागेका थिए । पछि पञ्चायत प्रवेश गरे । २०३८ सालमा राष्ट्रिय पञ्चायत निर्वाचन लडे । त्यस चुनावमा विजयी भएपछि सूर्यबहादुर थापा नेतृत्वको सरकारमा राज्यमन्त्री भए ।
राजनीतिक शास्त्रका प्राध्यापकसमेत रहेका केसीले यसअघि लडेका सात निर्वाचनमा २०४८, २०५१, २०७० र २०७९ गरेर चार निर्वाचनमा विजय हात पारेका छन् । ०५६, ०६४ र ०७४ को निर्वाचनमा पराजय बेहोरे । २०५२, २०५६, २०७३ मा चारपटक मन्त्री भए । स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार र सहरी विकास जस्ता रोजेका मन्त्रालय चलाए ।
संसद् र समितिहरूमा सक्रिय रहे । पार्टीलाई ‘व्यक्तिवादी होइन, नीतिमा आधारित पार्टी’ बनाउनु पर्छ भनेर सार्वजनिक मञ्च र पार्टी बैठकमा पैरवी पनि गर्दै आए । कार्यकर्ताको मूल्यांकन नेतृत्वको ‘परिक्रम’ बाट नभएर ‘पराक्रम’ले हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न खोजे । तर, व्यवहारमा आफै बदलिएनन् । उनले उठाएको मध्ये सबैभन्दा रोचक पक्ष पुस्तान्तरणको बहस हो । बारम्बार युवा नेतृत्वलाई अवसर दिनुपर्ने धारणा राख्दै आए । तर, समानुपातिक सूचीमा आफ्नै नाम राखेर उनले युवालाई बाटो छेके । केसीको यो विरोधाभाष नीतिलाई लिएर अहिले पार्टीभित्र त छँदैछ, बाहिरसमेत आलोचनाको विषय बनेको छ ।
केसीले कांग्रेसभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने मुद्दा पनि कहिल्यै छोडेनन् । पार्टी नीति र कार्यक्रमको बहसलाई नेतृत्व प्रतिस्पर्धाभन्दा माथि राख्नुपर्ने उनको धारणा रहँदै आयो । तर, आफैँ स्वयं विभिन्न शक्ति समीकरणको हिस्सा बन्दै आएका छन् । यही कारण उनलाई सिद्धान्त र व्यवहारमा एकरूपता नभएको नेता भनेर समेत आलोचकहरूले भन्ने गर्छन् ।
केसी कांग्रेसको इतिहाससँगै अघि बढेका एउटा राजनीतिक यात्री हुन् । पञ्चायतकालदेखि संघीय लोकतन्त्रसम्म आइपुग्दा उनले व्यवस्था परिवर्तन, सत्ता संघर्ष, दलभित्रको विभाजन र पुनर्गठन सबै अनुभव गरेका छन् । उनी काठमाडौं केन्द्रित राजनीतिमा सक्रिय देखिए पनि आफ्नो निर्वाचन क्षेत्र नुवाकोटसँग निरन्तर जोडिइरहेका नेता हुन् ।
केसीका ६ दाजुभाइ छन् । तीमध्ये उनी जेठा हुन् । तीन दाजुभाइ आ-आफ्नो पेसा व्यवसायमा छन् । आफू समानुपातिक सूचीमा बसेर भाइ जगदिशश्वरनरसिंह केसीलाई आफू चुनाव लड्दै आएको नुवाकोट-२ बाट टिकट दिलाएका थिए । अर्का भाइ केदारनरसिंह केसी विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य भएका छन् । उनी पेसाले चिकित्सक पृष्ठभूमिका हुन् ।
