अम्बिकादेवी संग्रौला : श्रम अभियानदेखि संसद्सम्म

न त उनी स्थापित नेता थिइन्, न त कुनै ठूला आन्दोलनको अगुवाइमा देखिएकी पात्र  ।बरु उनको पहिचान साधारण सामाजिक सक्रियता र स्थानीय स्तरको श्रम अभियानमा सीमित थियो । यही सामान्यताभित्र लुकेको असामान्य यात्राले उनलाई आज संघीय संसद्को ढोकासम्म पुर्‍याएको छ  ।

चैत्र ८, २०८२

एलिना राई

Ambikadevi Sangraula: From labor campaign to parliament

धरान — खस आर्य महिला क्लस्टरबाट समानुपातिक प्रणालीमा सांसदका लागि सिफारिसमा परेकी अम्बिकादेवी संग्रौलाको नाम सार्वजनिक भएपछि धेरैका लागि यो चासोको विषय बन्यो।

न त उनी स्थापित नेता थिइन्, न त कुनै ठूला आन्दोलनको अगुवाइमा देखिएकी पात्र  ।बरु उनको पहिचान साधारण सामाजिक सक्रियता र स्थानीय स्तरको श्रम अभियानमा सीमित थियो । यही सामान्यताभित्र लुकेको असामान्य यात्राले उनलाई आज संघीय संसद्को ढोकासम्म पुर्‍याएको छ  ।

२०३१ सालमा तेह्रथुम जिल्लाको हेदापमा जन्मिएकी उनी बाल्यकालदेखि नै झापा जिल्लाको कमल गाउँपालिकामा हुर्किइन् । उनका बुबा इन्डियन आर्मीमा कार्यरत थिए, जसका कारण परिवारको आर्थिक अवस्था सामान्यभन्दा केही सहज थियो। उनी आफना बाल्यकालका दिन सम्झिँदै भन्छिन्, ‘हामीलाई खान, लगाउन खासै समस्या थिएन, तर जीवनमा केही गर्ने सोच सानैदेखि थियो।’

उनले २०४८ सालमा एसएलसी उत्तीर्ण गरिन् र त्यसपछि २०५१ सालमा दमक बहुमुखी क्याम्पसबाट कमर्समा आईए पूरा गरिन् । २०५० सालमा परिवारसँगै धरान बसाइँ सरेर आइन् । शिक्षा पूरा गरेपछि उनको जीवन पारिवारिक जिम्मेवारीतर्फ केन्द्रित भयो। विवाहपछि उनी धरान उपमहानगरपालिका वडा नं. १३ मा बसोबास गर्न थालिन् । उनका श्रीमान् सरकारी सेवामा कार्यरत छन् र उनका दुई सन्तान छन्। लामो समयदेखि धरानमै बस्दै आएकी उनले करिब १८ वर्षदेखि सानो व्यवसाय सञ्चालन गर्दै आएकी छन्। जुत्ता–चप्पलदेखि कस्मेटिक सामानसम्मको व्यापार गर्दै उनले आफना पारिवारिक जिम्मेवारी पूरा गर्दै आएकी हुन्। यो व्यवसायले उनलाई आत्मनिर्भर बनायो, तर समाजमा उनको परिचय अझै ‘साधारण गृहिणी र व्यवसायी’ कै रूपमा सीमित थियो।

राजनीतिक यात्रा भने उनको जीवनमा निकै ढिलो सुरु भयो । उनी स्वयं स्वीकार्छिन् कि राजनीति उनका लागि कहिल्यै प्राथमिकता थिएन तर जिज्ञासा र चासोको विषय भने थियो  । ‘म कुनै पार्टीमा लागेकी थिइन्, राजनीति बुझन् भने मन लाग्थ्यो,’ उनी भन्छिन्। तर, यो धारणा २०७९ सालको स्थानीय तह निर्वाचनपछि बदलियो।

धरान उपमहानगरपालिकामा हर्क साम्पाङ स्वतन्त्र उम्मेदवारका रूपमा मेयरमा निर्वाचित भएपछि उनले सुरु गरेको श्रमदान अभियानले धेरै स्थानीय नागरिकलाई आकर्षित गर्‍यो। यही अभियान संग्रौलाको जीवनको टर्निङ प्वाइन्ट बन्यो। उनी भन्छिन्, ‘उहाँको कार्यशैली, श्रमप्रतिको सम्मान र समाजप्रतिको समर्पणले मलाई धेरै प्रभावित गर्‍यो।’

सुरूमा उनी केवल सहभागीका रूपमा श्रमदानमा जोडिइन्। पानी आपूर्ति सुधारदेखि लिएर पार्क निर्माणसम्मका काममा उनले नियमित रूपमा योगदान दिइन्। विस्तारै, उनी अभियानको सक्रिय सदस्य बनिन्। यही सक्रियताले उनलाई सामाजिक नेतृत्वतर्फ धकेल्यो।

श्रम अभियानअघि उनको सबैभन्दा ठूलो सामाजिक भूमिका टोल सुधार समितिको अध्यक्ष हुनु थियो। तर, अभियानमा जोडिएपछि उनको दायरा फराकिलो बन्दै गयो। २०८० सालमा उनी ‘स्वतन्त्र दिदीबहिनी समूह’को सह-सचिव बनिन्। त्यसपछि २०८२ सालमा ‘श्रमसंस्कृति दिदीबहिनी समूह’को सचिवको जिम्मेवारी सम्हाल्दै आएकी छन्। साथै, उनी अमर पथ कोलोनी समाज (टोल विकास संस्था) की अध्यक्ष पनि हुन्।

स्थानीय स्तरमा महिलाहरूलाई संगठित गर्ने, श्रमदानमा परिचालन गर्ने, र साना-साना समस्याहरू समाधान गर्ने क्रममा उनले व्यवहारिक राजनीति सिक्दै गइन्। श्रम संस्कृति पार्टीको स्थापनासँगै उनी केन्द्रीय सदस्य बनिन् । यही पृष्ठभूमिका आधारमा उनलाई समानुपातिक प्रणालीअन्तर्गत खसआर्य महिला क्लस्टरमा सांसदका लागि सिफारिस गरियो । यो सिफारिस धेरैका लागि ‘अप्रत्याशित’ भए पनि, श्रम अभियानसँग जोडिएका मानिसहरूका लागि भने ‘स्वाभाविक’ जस्तै थियो। उनी स्वयं पनि यसलाई ‘बोनस’को रूपमा लिन्छिन्। ‘म त केवल काम गरिरहेको थिए, यो अवसर मेरो लागि बोनस जस्तै हो,’उनी भन्छिन्।

संसद्‍मा पुग्ने तयारी गर्दै गर्दा उनी आफूलाई ‘सिक्दै जाने’ नेताका रूपमा प्रस्तुत गर्छिन्। ‘राजनीति मा पोख्त छैन, तर सिक्ने इच्छा छ,’ उनी खुलेर भन्छिन्। उनी विशेषगरी महिलाहरूको अधिकार र हितका लागि आवाज उठाउने बताउछिन्। ‘महिलाहरू अझै पनि धेरै क्षेत्रमा पछाडि छन्, उनीहरूको हकअधिकारका लागि म लड्ने छु,’ उनी भन्छिन्। तर, उनको दृष्टि केवल एउटा समूहमा सीमित छैन। उनी देशका समग्र समस्या र मुद्दाहरूलाई संसद्‍मा उठाउने प्रतिबद्धता जनाउँछिन्।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully