बैंकर, उद्यमी, अवैतनिक महावाणिज्यदूत हुँदै सांसद भएकी राणाले समृद्धि, उत्पादन क्षेत्रको सुदृढीकरण, आत्मनिर्भरता र महिला सशक्तीकरणका लागि निरन्तर समर्पित रहने बताएकी छिन् ।
What you should know
काठमाडौँ — रास्वपाको प्रतिनिधिसभा समानुपातिकतर्फका ५७ सांसदहरूमध्ये उद्यमी विदुषी राणा पनि हुन् । खस/आर्य ‘क्लस्टर’ को महिलातर्फ सूचीमा ४ नम्बरमा रहेकी राणा सांसद बनेकी हुन् ।
निर्वाचन आयोगबाट बिहीबार सांसदको प्रमाणपत्रसमेत लिइसकेपछि उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘रास्वपाबाट समानुपातिक सांसदको प्रमाणपत्र प्राप्त गर्न पाउँदा सम्मानित महसुस भएको छ । यो अत्यन्त ठूलो जिम्मेवारी हो र म इमानदारी, उद्देश्य र जवाफदेहिताका साथ शतप्रतिशत योगदान दिने प्रतिबद्धता व्यक्त गर्दछु ।’
समृद्धि, उत्पादन क्षेत्रको सुदृढीकरण, आत्मनिर्भरता र महिला सशक्तीकरणका लागि निरन्तर समर्पित रहने उनले बताएकी छिन् ।
गोल्डस्टार स्ट्रायड लिमिटेडकी कार्यकारी निर्देशक रहेकी राणाको नाम समानुपातिक बन्दसूचीमा परेपछि उनलाई प्रश्नहरू उठिरहेका थिए । त्यतिबेला उनले आफ्नो नाम समावेश भएकोबारे सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिँदै लेखेकी थिइन्, 'समानुपातिक सूची मेरो अधिकार होइन, जिम्मेवारी हो । म भोलिको पुस्ताको आवाज लिएर यहाँ आएकी हुँ ।'
आफूले कहिल्यै व्यक्तिगत राजनीतिक महत्त्वाकांक्षा बोकेर अघि नबढेको र आफ्नो परिचय राजनीति नभई उद्योग, उत्पादन र श्रमसँग जोडिएको उनले बताउँदै आएकी छिन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको आग्रहमा समानुपातिकतर्फ उम्मेदवारी दिन सहमत भएको उनले बताएकी थिइन् ।
नेपालको संविधान २०७२ को धारा ८४ र समानुपातिक निर्वाचन निर्देशिका २०८२ को व्यवस्थाअनुरूप नै आफ्नो उम्मेदवारी सिफारिस भएको उनी बताउँछिन् । संविधानले तोकेको दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिमको प्रतिशतअनुसार नै आफ्नो प्रतिनिधित्व भएको उनको भनाइ छ ।
'हाम्रो संविधानमा र समानुपातिक निर्वाचन निर्देशिकामा एकदम राम्रोसँग लेखिएको छ । सबैजना प्रत्यक्ष मात्रै लड्नै पर्छ भन्ने पनि छैन एउटा महिला भएर र समानुपातिकमार्फत जान नपाउने भन्ने पनि कतै लेखेको छैन,' उनले भनिन्, 'एकदमै नचाहिने बहस भइरहेको छ । अर्को महँगो गाडी चढ्नु भयो भन्ने पनि छ । आफ्नै व्यवसाय गरेर, सरकारलाई राजस्व तिरेर, रोजगारी सिर्जना गरेर आफूले कमाएको पैसाले गाडी चढ्दा पनि किन चढ्यो रे । चोरेर वा भ्रष्टाचार गरेर चढेको भए पो किन चढ्यो भनेर सोध्नी त ?’
राणा नेपालका लागि आइसल्यान्डको अवैतनिक महावाणिज्यदूतसमेत हुन्, उनलाई २०८१ जेठमा नियुक्त गरिएको थियो । उनी नेपाल उद्योग परिसंघकी पदाधिकारी हुन भने परिसंघको महिला नेतृत्व फोरम (विमेन लिडरसिप फोरम) की सदस्यसमेत हुन् ।
फोरमको नेतृत्व गर्दै महिला उद्यमशीलता प्रवर्द्धन र महिलासम्बन्धी मुद्दाहरूमा सक्रिय रूपमा काम गरिरहेको उनले बताइन् । ‘जोन्टा संगठनसँग आबद्ध भएकाले ग्रामीण क्षेत्रका महिलाहरूको सशक्तीकरण, बालविवाह न्यूनीकरण र नीतिनिर्माण तहमा महिलाको सहभागिता बढाउने कार्यमा पनि संलग्न छु,’ उनल भनिन् ।
नेपाल भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको संस्थापक सदस्य, नेपाल अमेरिका चेम्बर अफ कमर्स एन्डी र नेपाल भियतनाम चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकी कार्यसमिति सदस्यसमेत भइसकेकी छिन् । काठमाडौंको सेन्ट मेरीबाट विद्यालय शिक्षा र भारतको बैंग्लोरबाट उच्च शिक्षा लिएकी उनले शंकरदेव क्याम्पसबाट ‘बिजनेस एडमिनिस्ट्रेसन’मा स्नातक गरेकी हुन् ।
नेपालबाट उत्पादन र निर्यात प्रवर्द्धनका लागि नीतिगत पहलको काम गरिरहेको उनले बताइन् । ‘मेरो विश्वास छ कि नेपाललाई आत्मनिर्भर बनाउँदै उत्पादन र निर्यातमुखी अर्थतन्त्रतर्फ अघि बढाउन सबैले मिलेर प्रयास गर्नुपर्छ,’ उनले भनिन्, ‘म दृढ विश्वास गर्छु कि देश निर्माण कुनै एक व्यक्ति वा केवल राजनीतिबाट मात्र सम्भव हुँदैन यो प्रत्येक नेपालीको साझा जिम्मेवारी हो । हामी सबै एकजुट भएर अघि बढे मात्र समृद्ध नेपाल निर्माण सम्भव छ ।’
राजनीतिमा नयाँ नाम सुनिए पनि व्यावसायिक क्षेत्रमा विदुषी परिचित नाम हो । विगत १२ वर्षदेखि पारिवारिक व्यवसायमा संलग्न उनले १९ वर्षको उमेरमा अमिरप्रताप राणासँग विवाह गरेकी थिइन् । २०५७ सालमा उनका ससुरा नूरप्रताप जंगबहादुर राणाले कुमारी बैंक सुरु गरेपछि विदुषीले त्यहीँ मार्केटिङ तथा ब्रान्ड म्यानेजरका रूपमा आफ्नो करिअर सुरु गरिन् । ८ वर्ष काम गरेर ब्रान्च म्यानेजरसमेत भएकी उनले त्यसपछि जागिर छाडेर १० वर्ष घरमै बसेर छोरा र छोरी हुर्काइन् । छोराछोरी हुर्किएपछि उनलाई आफ्नै केही गर्नुपर्छ भन्ने लाग्न थाल्यो । उनले ट्राभल एजेन्सी र आईटी कम्पनीसमेत सञ्चालन गरिन् तर ती सफल हुन सकेनन् ।
२०७२ मा फोक्सोको बिरामी नूरप्रताप राणाको निधन भएपछि व्यावसायिक अवस्था फरक भयो । उनका एक्लो छोरा आमिरले सबै कम्पनी हेर्नुपर्ने भयो । वि.सं. २०३० को दशकमा नूरप्रतापले सुरु गरेको 'हात्तीछाप' चप्पल ५४ वर्षदेखि निरन्तर यात्रामा छ । कम्पनीको सस्तो, बलियो र भरपर्दो 'युनिक सेलिङ प्वाइन्ट' (यूएसपी) का कारण यो छोटो समयमै ब्रान्ड बन्न सफल भएको थियो ।
बुवाको निधनपछि आमिर व्यस्त हुने भएपछि विदुषी पनि श्रीमान्को खानपान र समयको ख्याल गर्दै गोल्डस्टार जान थालिन् र पछि पूर्ण रूपमा पारिवारिक व्यवसायमा संलग्न भइन् ।
गोल्डस्टारको बिक्री राम्रो भए पनि सुरुमा उनीहरूले एउटै किसिमको मात्र जुत्ता बनाइरहेका थिए । त्यसपछि आमिरले विदुषीका लागि तीन जनाको टिम बनाइदिए । टिमको अध्ययनले गोल्डस्टार राम्रो भए पनि 'बुवाहरूले लगाउने जुत्ता' भनेर युवा पुस्ताले नरुचाएको तथ्य पत्ता लगायो । त्यसपछि नयाँ मेसिन र प्रविधि ल्याएर युवा पुस्ताले मन पराउने जुत्ता बनाउन थालिएको विदुषी सम्झिन्छिन् । हाल आमिर कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक छन् भने विदुषी कार्यकारी निर्देशक । द्वन्द्वकालमा माओवादीले लगाउने जुत्ताका रूपमा चिनिएको गोल्डस्टारले अहिले डिजाइन परिवर्तन गरेर स्टाइलिस र फेसनेबल 'जी १०' सिरिज उत्पादन गरिरहेको छ ।
उत्पादित जुत्ताचप्पलमध्ये मुलुकमा ५० प्रतिशत र भारतीय बजारमा ५० प्रतिशत निर्यात हुने गरेको छ । नयाँ मेसिन, प्रविधि र लगानी थपिएसँगै भारत र अन्य मुलुकका लागि पनि जुत्ता उत्पादन गरिरहेकाले भविष्यमा निर्यात बढ्ने बताइएको छ ।
काठमाडौंको चप्पल कारखानाबाट सुरु भएको यो उद्योग अहिले बालाजु औद्योगिक क्षेत्र र भैरहवासम्म फैलिएको छ । नेपालमा यसका ८० भन्दा बढी आफ्नै फ्रेन्चाइज स्टोर छन् र ३५ सयभन्दा बढी कर्मचारी छन् । विदुषीका अनुसार शिक्षितलाई अवसर धेरै भए पनि अशिक्षितले रोजगारी पाउने ठाउँ उत्पादनमूलक उद्योग नै हो । 'नेपालमा उद्योगधन्दा बढ्यो भने रोजगारी सिर्जना हुन्छ र रोजगारीकै लागि कोही बाहिर जानु पर्दैन,' उनी भन्छिन् ।
पार्टीले दिने जिम्मेवारी पूरा गर्ने सुनाउँदै उनले आफ्नो विज्ञता उत्पादनमूलक उद्योग, महिलाको आर्थिक सशक्तीकरण, निर्यात प्रवर्द्धन र लगानीमैत्री वातावरण सिर्जना गर्नेमा रहेको बताइन् । ‘मलाई सानोमा बोल्न डर लाग्थ्यो, बैंकमा काम गर्दासमेत खुलेर र निर्धक्कसँग बोल्न डर लाग्थ्यो, कन्फिडेन्स भन्ने थिएन,’ उनले भनिन्, ‘अहिले मलाई बोल्न डर लाग्दैन । भाषण गर्छु । स्कुल/कलेजमा आफ्नो अनुभव सुनाउँछु । रमाइलो लाग्छ । यसमा श्रीमान्को ठूलो योगदान छ ।’
