संविधान निर्माणको अनुभव लिएर संसद् छिर्दै आङ्देम्बे

२०३६ सालको जनमत संग्रहमा बहुदलका पक्षमा उभिएका भीष्मराज आङदेम्बे त्यसपछिका विभिन्न आन्दोलनमा सक्रिय रहे । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पाँचथर क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

चैत्र ८, २०८२

लक्ष्मी गौतम

Angdembe enters parliament with experience in constitution-making

What you should know

पाँचथर — फाल्गुनन्द गाउँपालिका–१ (साविक नवमीडाँडा)मा २०२० सालमा जन्मेका भीष्मराज आङदेम्बे नेपाली कांग्रेसका तर्फबाट समानुपातिक प्रणाली अन्तरगत प्रतिनिधिसभा सदस्यमा चुनिएका छन् ।

राजनैतिक पृष्ठभूमिको परिवारमा जन्मेका उनी २०३६ सालको जनमत संग्रहदेखि निरन्तर विभिन्न जिम्मेवारीमा छन् । २०३६ सालको जनमत संग्रहमा बहुदलका पक्षमा उभिएका उनी त्यसपछि भएका विभिन्न आन्दोलनमा सक्रिय रहे ।

उनले नेपाल विद्यार्थी संघ, तरुण दल र कांग्रेसका विभिन्न पदमा रहेर जिम्वेवारी निर्वाह गरिसकेका छन् । २०३६ सालको जनमत संग्रह नै आफ्नो राजनीतिक जीवनको प्रारम्भिक मोड बनेको उनी सुनाँउछन् । ‘पञ्चायती व्यवस्थाविरुद्धको त्यो संघर्षले मेरो राजनीतिक सोच र यात्राको आधार तय गर्‍यो,’ उनी सम्झन्छन् ।

उनले २०४२ सालमा नेविसंघको सदस्यता लिएका थिए । उनको औपचारिक राजनैतिक जीवन भने त्यसपछि सुरु भएको हो । नेविसंघ सदस्यबाट सुरु भएको उनको यात्रा नेतृत्व तहसम्म पुग्यो । २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै उनी अग्रपंक्तिका युवा नेताका रूपमा स्थापित भए । सोही आन्दोलनले देशमा बहुदलीय लोकतन्त्र पुनःस्थापना गर्‍यो, जसमा आङ्देम्बेको सहभागिता उल्लेखनीय रहृयो। आन्दोलनका क्रममा उनी पक्राउ समेत परेका थिए ।

२०४६ देखि २०५२ सालसम्म नेविसंघको केन्द्रीय सदस्यका रूपमा दुई कार्यकाल निर्वाचित हुँदै उनले संगठन निर्माण, कार्यकर्ता परिचालन र लोकतान्त्रिक मूल्यको विस्तारमा महत्वपूर्ण भूमिका खेले । यही अवधिमा उनले नेतृत्व र क्षमता विकास गर्दै पार्टीमा अलग पहिचान बनाउन सफल भए ।

विद्यार्थी राजनीतिबाट युवा राजनीतिमा प्रवेश गर्दै आङ्देम्बे २०५४ सालमा नेपाल तरुण दलको केन्द्रीय उपाध्यक्ष बने । यो जिम्मेवारीले उनलाई कांग्रेसभित्र युवा पुस्ताको प्रभावशाली नेताका रूपमा स्थापित गर्‍यो । 
२०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा राजतन्क्रविरुद्ध सत्रिय सहभागिता जनाउँदै उनी पुनः सडक संघर्षमा समाहित भए । सो क्रममा पनि उनी पक्राउ परे ।  

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा पाँचथर क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित भए । संसदीय राजनीतिमा उनको त्यो प्रवेश पहिलो थियो । त्यसअघि २०५६ सालको प्रतिनिधिसभा सदस्यमा पाँचथर–२ बाट उम्मेदवार बनेका उनी एमालेका डम्बरसिंह सम्वाहाम्फेसँग पराजित भएका थिए ।

संविधानसभा सदस्यमा निर्वाचित भएपछि उनले संविधानसभा अन्तर्गत उद्योग, वाणिज्य तथा उपभोक्ता हकहित समितिको सभापतिको जिम्वेवारीमा रहेर आर्थिक नीति, व्यापार व्यवस्था र उपभोक्ता अधिकारका विषयमा नेतृत्वदायी भूमिका सम्हाले ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पुनः पाँचथरबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उनी नेकपाका वसन्तकुमार नेम्वाङसँग पराजित भए । २०७७ मा कांग्रेसको केन्द्रीय अनुशासन समिति संयोजकको जिम्मेवारी सम्हाल्दै उनले पार्टीभित्र अनुशासन कायम गर्ने, आन्तरिक विवाद समाधान गर्ने तथा संगठनलाई सुदृढ बनाउने काममा सक्रिय भूमिका खेले ।

२०७८ मा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनबाट आदिवासी जनजातितर्फ केन्द्रीय सह–महामन्त्रीमा निर्वाचित हुँदै उनी पार्टीको शीर्ष नेतृत्वमा पुगे । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव लड्दा पुनः एमालेका वसन्तकुमार नेम्वाङसँग ४६ मतको झिनो अन्तरले पराजित भए । यसपटक कांग्रेसले उनलाई आदिवासी जनजाति कोटाबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्यको जिम्वेवारीमा पुर्याएको हो।

यो जिम्वेवारीलाई जिल्लाका बासिन्दाले आङ्देम्बेको राजनीतिक यात्रा आन्दोलन, संगठन निर्माण र नेतृत्व विकासको निरन्तर प्रक्रियाका रुपमा लिएका छन् । विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा आज राष्ट्रिय कानुन निर्माण गर्ने थलोमा प्रवेश गरेको छ । 

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully