७ कक्षा पढ्दादेखि नै माओवादीमा लागेकी उनी २०५८ मा एसएलसी दिएपछि पूर्णरुपमा युद्धमा होमिइन् । त्यतिबेला उनको काम संगठन बनाउने, रासनदेखि युद्ध सामग्री बोक्नुपर्थ्यो ।
What you should know
कञ्चनपुर — बेलौरी नगरपालिका–७ सिंहपुरकी निराशा चौधरी ७ कक्षामा अध्ययरत रहेकै बेला माओवादीमा लागिन् । त्यतिबेला उनको घरमा मोओवादी नेताको आउजाउ चलिरहन्थ्यो । गाउँकै जीवन चौधरी एरिया कमाण्डर थिए। उनले अन्य नेताको चिठ्ठी आदानप्रदानको काम निराशालाई गराउँथे ।
हुलाकीको काम गर्दागर्दै माओवादी सशस्त्र युद्धमा होमिएकी निराशा अब संसदमा प्रवेश गरेकी छिन् । नेपाल कम्युनिष्ट पार्टीले उनलाई समानुपातिक कोटाबाट सांसद बनाएको हो । शान्ति प्रक्रियापछि घर व्यवहारमै व्यस्त चौधरी फेरि राजनीतिमा सक्रिय भइन् । चौधरीलाई नेकपाले सांसद बनाएपछि उनी निकै खुसी छन् ।
चौधरीको माइती घर कैलालीको कैलारी गाउँपालिका–१ रानामुडा गाउँ हो । त्यहीँबाट उनी माओवादीमा लागेकी हुन् । ७ कक्षा पढ्दादेखि नै माओवादीमा लागेकी उनी २०५८ मा एसएलसी दिएपछि पूर्णरुपमा युद्धमा होमिइन् । त्यतिबेला उनको काम संगठन बनाउने, रासनदेखि युद्ध सामग्री बोक्नुपर्थ्यो । त्यहीँबेला उनको भेट जनमुक्ति सेनाका कम्पनी कमाण्डर कर्णबहादुर डगौंरासँग भयो । दुवै जना एक अर्कोप्रति आकर्षित पनि भए । भेट बाक्लिँदै गएपछि प्रेम बढ्यो ।
२०५९ मा उनी पक्राउ परेर जेल परिन् । शान्ति सम्झौतापछि २०६३ मंसिरमा माक्रै जेलमुत्त भइन् । २०६६ मा उनले कञ्चनपुरको बेलौरी नगरपालिका–७ सिंहपुरका उनै कर्णबहादुर डगौंरासँग विवाह गरिन् । पार्टीका विभिन्न संगठनमा सक्रिय रहेकी निराशा विवाहपछि घरगृहस्थीमै व्यस्त भइन् । छोराछोरी जन्मिएपछि तिनलाई हुर्काउन लागिन् । श्रीमान् खेतीपातीमा लागे ।
‘विवाहपछि केही समय पार्टीबाट सम्पर्कविहीन भए,’ चौधरीले भनिन्, ‘छोराछोरी ठूला भएपछि फेरि आफुले योगदान दिएको पार्टी खोज्दै आए, पार्टीले पनि मलाई उचित सम्मान र जिम्मेवारी दियो ।’ विभेद र उत्पीडनकाविरुद्ध माओवादी युद्धमा होमिएकी चौधरी अब संसद्मा उठान गर्ने उनी बताउँछन् । समग्र सुदूरपश्चिम राज्यबाटै उत्पीडनमा रहेकाले यस क्षेत्रको विकासका लागि आफ्नो पहल हुने उनले बताइन् ।
चौधरीका श्रीमान् कर्ण गाउँमै खेतीपाती गर्छन् । जनमुक्ति सेनाको कम्पनी कमाण्डर बनेका उनी शान्ति प्रक्रियापछि स्वेच्छिक रुपमा घर फर्केका थिए । उनले घर फर्केर कृषि कार्य सुरु गरेका हुन् । त्यसपछि निराशा र कर्णको विवाह भयो । अहिले उनीहरुका १ छोरी र २ छोरा छन् ।
निराशा अहिले नेकपाको कञ्चनपुर जिल्ला कमिटि सदस्य हुन् । यसअघि महिला संघ नगर र जिल्ला अध्यक्ष समेत भइसकेकी थिइन् । बीचमा निष्क्रिय भएपछि उनी फेरि वडा नगर हुँदै जिल्ला कमिटिसम्म पुगेकी हुन् ।
