सशस्त्र द्वन्द्वका बेला मेरुदण्डमा गोली लागेर अपांग भएका बयकले लामो राजनीतिक र सामाजिक संघर्षपछि संघीय संसदमा प्रतिनिधित्व गर्ने अवसर पाएका छन्।
What you should know
धनगढी — तत्कालीन माओवादीमा आवद्ध भएर सशस्त्र द्वन्द्वमा होमिँदै भूमिगत भएपछि कैलालीको लम्कीचुहाका प्रेमबहादुर बयक ठूल्ठूला फौजी संघर्षमा सामेल भए ।
धेरै पटक मृत्युको मुखबाट जोगिए पनि कैलालीकै मसुरियामा भएको भिडन्तका क्रममा उनको मेरुदण्डमा गोली लाग्यो । त्यहीँ कारण उनले सदाका लागि दुबै खुट्टा नचल्नेगरी बहुअपांग भए । उनै बयकको संघर्षपूर्ण यात्रा यतिबेला संघीय संसद् प्रवेश गरेको छ ।
लम्कीचुहा नगरपालिका–४ पौवापुरका ४५ वर्षीय बयकले मोतीपुरको विद्यालयमा प्राथमिक शिक्षा, त्यसपछि लम्कीचुहाकै जनजागृति मावि चौरीमा माध्यमिक शिक्षा लिए । आइएसम्म धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा अध्ययन गरे । क्याम्पसमा अध्ययनरत रहेकै बेला उनी ०५४/५५ तिर माओवादी निकट अखिल क्रान्तिकारीमा आवद्ध भए । दुई वर्ष नबित्दै माओवादीको पार्टी राजनीतिमा सक्रियत भएका उनी ०५७ सालदेखि भूमिगत भए ।
भूमिगत हुँदा सैन्य मोर्चा रोजेका उनी तत्कालीन ‘जनमुक्ति सेना’को सातौं डिभिजन अन्तर्गतको ‘अर्बान’ कमाण्डर (सहरी गुरिल्ला) थिए । त्यस क्रममा पश्चिम नेपालका सबै जिल्लामा खटिए । अछामको मंगलसेन, जुम्लाको खलंगा, रोल्पाको गाम, लिस्ने, रुकुमको खारा, बेनी, अर्घाखाँची, दार्चुलाको गोकुलेश्वरका लडाइँमा सहभागी भए । कैयौं सानाठूला भिडन्तका साँची बने । ‘थुप्रै एम्बुसबाट पनि जोगिएर अगाडि बढेको थिएँ,’ उनले भने, ‘०६१ फागुन १४ मा कैलालीको मसुरिया बडैपुरमा भएको दोहोरो भिडन्तमा भने मेरा लागि पनि कहाली लाग्दो दिन बनेर आयो । मलाई गोली लाग्यो र सधैंका लागि घाइते भएँ ।’
त्यस घटनालाई स्मरण गर्दै बयक भन्छन् ‘दुबैतिर क्षति भएको थियो । फर्किने क्रममा सेनाले प्रहार गरेको गोली पछाडिबाट मेरो मेरुदण्डमा लाग्यो । तत्काल साथीहरुले उद्धार गरेर उपचारका लागि भारतको दिल्ली पुर्याए, ज्यान त बच्यो, तर सदाका लागि दुबै खुट्टा नचल्नेगरी अपांग भएँ ।’
उपचारकै क्रममा उनी भारतको अस्पतालमै भारतीय प्रहरीद्वारा ६ महिना गिरफ्तारीमा परे । अस्पतालमै हिरासत खडा गरेर उनलाई प्रहरी नियन्त्रणमा राखियो । तर गिरफ्तार हुनुको कारण भने अनौठो थियो । उनी उपचार गराउन पुगेकै बेला दिल्लीनजिकैको गाजियावादमा चोरी भएको रहेछ । फ्रहरीको अनुसन्धानमा चोरीमा संलग्न ब्यक्तिको हुलिया बयकसँग मिल्दोजुल्दो रहेछ । ती व्यक्तिलाई पनि बयकको जस्तै पछाडिबाट मेरुदण्डमा गोली प्रहार गरिएको रहेछ । त्यसैले बयक भारतीय प्रहरीको फन्दामा परे । ‘पछि यताबाट इन्टरपोलमार्फत जारी रेडकर्नर नोटिसमा भएको नाममा मेरो नामका कारण सुपुर्दगी प्रक्रिया सुरु भएको थियो,’ उनले भने, ‘त्यसपछि दिल्लीको अदालतले ८० हजार भारु धरौटीमा रिहा गरेपछि नेपाल फर्किए । त्यतिबेला नेपालमा शान्ति प्रक्रिया सुरु भइसकेको थियो ।’
अहिले पनि उनी नियमित उपचार गरिरहन्छन् । औषधि सेवन त अपरिहार्य नै भयो । ‘दुबै खुट्टा चल्दैनन् । दुबै खुट्टामा नक्कली खुट्टा (क्यालिफोर) प्रयोग गरेको छु, जसले टेक्न सपोर्ट गर्छ,’ उनले भने, ‘साथै वाकरको सहारामा हिँड्न सहायता पुग्छ । बहुअपांगतामा सूचीकृत छु ।’
शान्ति प्रक्रियापछि माओवादीले उनलाई केन्द्रीय सदस्य बनायो । हाल पनि उनी नेकपाको केन्द्रीय सदस्य छन् । उनी आवद्ध पार्टी बारम्बार सत्तामा गए पनि उनले कतै पनि राजनीति नियुक्तिको अवसर पाएनन् । ०६८ मा माओवादी लडाकुको तथ्यांक संकलन, वर्गीकरण गर्ने कार्यदलको तीन महिने सदस्य बनाइएका थिए ।
पटक–पटक जिल्ला तहबाट विभिन्न पदका लागि नाम सिफारिस भए पनि अन्तिम छनोटमा भने उनी सधैं छुटिरहे । ०६३ मा अन्तरिम प्रतिनिधिसभाका लागि नाम सिफारिस भए पनि परेनन् । ०६४ को संविधानसभा सदस्यका लागि पनि उनी सिफारिस भए पनि बन्दसूचीमा छुटाइए । ०८० मा राष्ट्रियसभाका लागि पनि उनको नाम चर्चामा थियो ।
राजनीतिका अलावा उनी ०७१ देखि सामाजिक सेवामासमेत सक्रिय रहे । उनले अपांगताको क्षेत्रमा योगदान गर्न लम्कीचुहामै अपांग चेतना समाज नामक संस्था गठन गरेर अपांगता भएका व्यक्तिलाई घरघरमै पुगेर पहिचान गर्दै आवश्यक विभिन्न सहयोग गर्न थाले । ‘सहयोगी सामग्री उपलब्ध गराउने, सचेतना, स्वास्थ्य शिविर सञ्चालन गर्ने अभियान चलाएँ,’ उनी भन्छन् ‘पछिल्लो समय लम्कीचुहामा मात्र सीमित नरही प्रदेशभर सेवा विस्तार गर्न सफल भएको थिएँ ।’
त्यसबाहेक उनले लम्कीचुहा क्षेत्रमा भ्रष्टाचार र सुशासनका पक्षमा पनि आवाज उठाउन थाले । साथै उनी शैक्षिक सुधारका लागि पनि केही समय सक्रिय भए । त्यस क्रममा उनले आफैं पढेको राष्ट्रिय नमूना मावि मोतीपुरको व्यवस्थापन समिति अध्यक्ष भएर काम गरे । ‘विद्यालयमा सक्दो सुधार गरे भन्ने लाग्छ । त्यसबेला हाम्रो विद्यालयले सुदूरपश्च्मिमै राम्रो नतिजा ल्याउन सफल भएको थियो,’ उनी भन्छन् ।
दुई छोरा र श्रीमतीसहित चार जना परिवारको संरक्षक उनी यतिबेला आफ्नो यात्रा संसद्तर्फ प्रवेश गरेको खुसी मात्रै होइन जिम्मेवारी बोध भएको बताउँछन् । नेपाली कम्युनिष्ट पार्टीले उनलाई समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत अपांगता कलष्टरको सूचीमा समावेश गरेको थियो । त्यहीँ कलष्टरबाट उनी अन्तिम छनोटमा पर्न सफल भएका हुन् । ‘देश विकासका लागि नीति निर्माण तहको भूमिका उत्कृष्ट ढंगले पूरा गर्नुका साथै मेरो प्राथमिकता अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य सेवा र जीवन रक्षामा बढ्ता केन्द्रीत हुनेछ ।’
