राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान प्रभावित क्षेत्रकी खनाल आयोजनालाई अघि बढाउन पहिलो प्राथमिकतामा राखेर कुरा उठाउने बताउँछिन् ।
What you should know
गोरखा — गण्डकी गाउँपालिका–५ दर्वुङकी शोभा खनाल सानैदेखि राजनीतिबारे चासो राख्थिन् । समाजमा देखिएका विभेद, बेथितिविरुद्ध निर्धक्क कुरा राख्थिन् । स्थानीय महिला समूह, विद्यालय व्यवस्थापन समितिको सदस्य बनेर आमाले देखाएको सक्रियताले पनि शोभालाई समाजसेवी बन्ने प्रेरणा मिल्यो । उनका हजुरबुवा र बुवा गाउँमा राजनीतिक रूपमा सक्रिय थिए । पारिवारिक राजनीतिक वातावरणमा हुर्कँदा खनाललाई धेरथोर समाज र देशको बारेमा बुझ्ने मेसो पनि मिल्यो ।
गण्डकी–५ मा रहेको रत्नेश्वर माविबाट २०६० सालमा एलएलसी दिएपछि भने शोभा उच्चशिक्षाका लागि काठमाडौं पुगिन् । मनमोहन मेमोरियल कलेज सोह्रखुट्टेबाट १२ कक्षा पूरा गरेकी उनले पद्मकन्या क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् । पढाइ सकेपछि खनाल ४ वर्ष काठमाडौंमा रहेर ट्रेकिङ पेशामा आवद्ध भइन् । २०७० सालबाट भने खनालले आफ्नै अग्रसरतामा ट्रेकिङ कम्पनी खोलेर महिला उद्यमी बन्ने पाइला अघि बढाइन् । खनाल हिमालयन समिट टेक्स एण्ड एक्सपेडिसन प्रालि, एस्योर्ड ट्राभल एण्ड टुर्स प्रालि, हिमालय डिजिटल सोलुसन प्रालि र इक्लुसिभ लर्निङ एण्ड रिसर्च सेन्टरको संस्थापक निर्देशक समेत हुन् ।
१५ वर्षदेखि पर्यटन क्षेत्रमा आबद्ध बनेकी खनाल जेनजी आन्दोलन अघिसम्म कुनै दलसँग आबद्ध थिइनन् । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति भने उनमा लगाव थियो । जेनजी आन्दोलनलाई उनले प्रत्यक्ष रुपमा अवलोकन गर्ने मौका पाइन् । ‘जेनजी भाईबहिनीहरुले सुशासनको मुद्दा बोकेर भ्रष्टाचारप्रति विमती जनाउँदै आन्दोलन गर्दा आफ्नै देशको आँगानमा गोली हानेर मारियो,’ उनले भनिन्,‘प्रधानमन्त्री, मन्त्री भनेको परिवारको बुवाआमा जस्तो हो, बाबुआमासँग जायज कुरामा विमति जनाउँदा गोली हानिन्छ भने मेरो बच्चा पनि सुरक्षित छैनन् भन्ने फिल भयो, अर्को कुरो देशमा सुशासन कायमका लागि हामी हात बाँधेर बसेर मात्र हुँदैन भन्ने लागेर आफैं राजनीतिक यात्रा सुरु गरेकी हुँ ।’
जेनजी आन्दोलनपछि शोभा रास्वपामा सक्रिय बनिन् । उनलाई रास्वपाले खस आर्य कलस्टरबाट समानुपातिक तर्फको उम्मेदवार बनायो । खनाल पनि गोरखा–१ का रास्वपाबाट उम्मेदवार बनेका सुधन गुरुङसँगै मत माग्दै गाउँगाउँ डुलिन् । गोरखा–१ का विभिन्न गाउँ पुग्दा आधारभूत पूर्वाधार विकासमा पछि परेको उनले नजिकबाट नियाल्ने अवसर पाइन् । ‘धेरैजसो ठाउँमा सडक राम्रो छैनन्, उत्तरी गोरखामा महिला सुत्केरी हुनका लागि हेलिकप्टरबाट काठमाडौं लैजानुपर्ने बाध्यता छ,’ उनले भनिन्,‘शिक्षा, स्वास्थ्य, पूर्वाधारको क्षेत्रमा केही न केही गर्नुपर्ने छ ।’
खनाल १२ सय मेगावाट क्षमताको राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजनाको डुबान प्रभावित क्षेत्रकी बासिन्दा हुन् । बूढीगण्डकी आयोजनालाई पहिलो प्राथमिकतामा राखेर सदनमा कुरा उठाउने उनले बताइन् । ‘पहिलो प्राथमिकता भनेको बूढीगण्डकी हो,’ उनले भनिन्,‘यहीँ ठाउँमा बाल्यकाल बित्यो, डबान हुने भनेपछि विद्यालयमा विद्यार्थी छैनन्, डुबान प्रभावित क्षेत्रका धेरैजसो घर खाली छन्, यस क्षेत्रमा विकासको काम ठप्प छ, अब यसलाई अलमलमा राख्नु हुँदैन, आयोजना अघि बढाउने विषयमा प्राथमिकतामा साथ आवाज उठाउँछौं।’
डेड दशक पर्यटन क्षेत्रमा बिताएकी खनाल पर्यटन क्षेत्रको विकासका लागि संसदमा आवाज बुलन्द पार्ने भूमिकामा पुगेकी छन् । ‘टुरिजम क्षेत्रमा सुधार गर्नुपर्ने धेरै कुरा छन्, यससँग सम्बन्धित विज्ञहरुसँग समन्वय र अध्ययन गरेर देशको अर्थतन्त्रको खम्बाको रुपमा रहेको पर्यटन क्षेत्रमा केही गरौं भन्ने छ,’ उनले भनिन्,‘टुरिजमलाई अझै व्यवस्थित कसरी बनाउन सकिन्छ, के कुरा परिमार्जन गर्नुपर्ने छ सांसदको तर्फबाट यसमा भूमिका खेल्छु ।’
