पूर्वगोर्खा सैनिक पूर्ण लिम्बू: युद्धभूमिदेखि संसद्सम्म

श्रम संस्कृति पार्टीबाट जनजाति पुरुष क्लस्टरबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित लिम्बूको जीवनयात्रा साधारण ग्रामीण परिवेशबाट सुरु भई अन्तर्राष्ट्रिय सैन्य सेवा, सामाजिक अभियन्ता हुँदै संघीय संसद्सम्म आइपुगेको हो।

चैत्र ७, २०८२

एलिना राई

Former Gurkha soldier Purna Limbu: From the battlefield to the parliament

What you should know

धरान — धरान उपमहानगरपालिका–१५ का पूर्वगोर्खा क्याप्टेन पूर्ण लिम्बू प्रतिनिधिसभा सदस्यका रूपमा राष्ट्रिय राजनीतिमा प्रवेश गरेका छन् । श्रम संस्कृति पार्टीबाट जनजाति पुरुष क्लस्टरबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित लिम्बूको जीवनयात्रा साधारण ग्रामीण परिवेशबाट सुरु भई अन्तर्राष्ट्रिय सैन्य सेवा, सामाजिक अभियन्ता हुँदै संघीय संसद्सम्म आइपुगेको हो।

पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको चैनपुर नगरपालिका–४ मा जन्मिएका ६२ वर्षीय लिम्बूको बाल्यकाल सामान्य परिवारमा बित्यो । सानैदेखि गोर्खा सैनिक बन्ने सपना बोकेका उनी सन् १९८० मा ब्रिटिस गोर्खा आर्मीमा भर्ती भए ।

प्रारम्भिक शिक्षा नेपालमै हाँसिल गरेका लिम्बूले गोर्खा सैनिक बनेपछि विभिन्न उच्चस्तरीय सैन्य तालिमहरू पूरा गरे। उनले करिब २८ वर्ष बेलायती सेनामा सेवा गर्दै सन् २००८ मा क्याप्टेन पदबाट अवकाश लिए। आफ्नो सेवाकालमा उनले विश्वका विभिन्न द्वन्द्वग्रस्त तथा रणनीतिक क्षेत्रमा काम गर्ने अवसर पाए।

उनको सैन्य जीवनको एक महत्वपूर्ण अध्याय सन् १९८२ को फकल्यान्ड युद्धसँग जोडिएको छ। बेलायत र अर्जेन्टिनाबीच दक्षिण अटलान्टिक महासागरमा रहेको फकल्यान्ड टापुको नियन्त्रणका लागि भएको यो युद्ध १० सातासम्म चलेको थियो। उक्त युद्धमा अर्जेन्टिनाका करिब ६५० र बेलायतका २५५ सैनिकले ज्यान गुमाएका थिए। अन्तत जुन १४, १९८२ मा अर्जेन्टिनाले आत्मसमर्पण गरेपछि टापुहरू पुन: बेलायतको नियन्त्रणमा आएका थिए। उक्त युद्धमा सहभागी हुनु लिम्बूका लागि केवल सैनिक अनुभव मात्र नभई अन्तर्राष्ट्रिय स्तरको सैन्य दक्षता हाँसिल गर्ने अवसर पनि बन्यो।

बेलायती सेनामा रहँदा उनले अफगानिस्तान, बोस्निया, सिएरालियोन, ब्रुनाई, हङकङ र जर्मनी जस्ता देशमा सैन्य तथा शान्ति अभियानमा सक्रिय भूमिका निर्वाह गरे। यी अनुभवहरूले उनलाई विश्व दृष्टिकोण, नेतृत्व क्षमता र संकट व्यवस्थापनमा दक्ष बनायो।

लिम्बूको करियर केवल युद्धमै सीमित रहेन। उनले बेलायतको प्रतिष्ठित गोर्खा प्रशिक्षण केन्द्रमा प्रशिक्षकका रूपमा पनि काम गरे, जहाँ उनले नयाा गोर्खा सैनिकहरूलाई अनुशासन, नेतृत्व र आधुनिक युद्धकला सम्बन्धी तालिम दिए। यसले उनलाई प्रशिक्षक र मार्गदर्शकको रूपमा पनि स्थापित गर्‍यो।

सैन्य सेवाबाट अवकाशपछि उनी नेपाल फर्किए । उनको श्रीमती, दुई छोरा, बुहारी र नाति नातीना बेलायतमा छन् । उनका दुई छोराहरु रोयल सिग्रलमा र बेलायतको एयर फोर्समा कार्यरत छन् । लिम्बू अवकाशपछि पनि विश्राममा बसेनन्। उनले पूर्व गोर्खा सैनिक र तिनका परिवारको हितमा काम गर्ने विभिन्न संस्थाहरूसँग आबद्ध भएर सेवा जारी राखे।

भोजपुर, खादबारी हुँदै धरानसम्म उनले सामाजिक सेवाको दायरा विस्तार गरे। विशेषगरी, पूर्व सैनिकहरूको हकहित, शिक्षा, स्वास्थ्य र पुनर्स्थापनामा उनले महत्वपूर्ण योगदान पुर्‍याए। उनको सामाजिक सक्रियता केवल संस्थागत कार्यमा सीमित थिएन।

२०७२ सालको महाभूकम्पका बेला राहत वितरणदेखि कोरोना महामारीका समयमा घरदैलोमै पुगेर सहयोग गर्ने काममा उनी अग्रपंक्तिमा रहे। निमुखा, असहाय र उत्पीडित वर्गका लागि व्यक्तिगत रूपमा समेत सहयोग गर्दै आएका छन् ।

यहीँ योगदानको कदरस्वरूप उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट २०७२ सालमा 'प्रबल जनसेवाश्री (चतुर्थ)' पदकबाट सम्मानित गरिएको थियो । यो सम्मानले उनको सामाजिक सेवाप्रतिको समर्पणलाई राष्ट्रिय स्तरमा मान्यता दिलायो।

लिम्बूको व्यक्तित्वको अर्को पाटो कला र संस्कृतिसँग पनि जोडिएको छ। उनी गायक, अभिनेता तथा चलचित्र निर्माता–निर्देशकका रूपमा समेत परिचित छन्। खाम्लिङ गाउॅको खानेपानी समस्यालाई सम्बोधन गर्न उनले ‘नाम्लो’ नामक चलचित्र निर्माण गरे, जसलाई नेपालसहित बेलायत र अन्य देशहरूमा प्रदर्शन गरिएको थियो। यस चलचित्रले सामाजिक सन्देशसागै स्रोत व्यवस्थापनमा जनचेतना फैलाउने काम गरेको थियो।

धरान-१३ स्थित श्रमसस्कृति पार्कमा गोर्खा मेमोरियल पार्कको विकास र व्यवस्थापनमा संयोजकको भूमिका निर्वाह गर्दै उनले ऐतिहासिक स्मृतिहरूलाई संरक्षण गर्ने प्रयास पनि गरेका छन्। यो पार्क गोर्खा सैनिकहरूको वीरता र बलिदानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले पूर्व इण्डियन, सिंगापुर र बिट्रिस लाहुरे समुदायको सहयोगमा निर्माण गरिएको हो। विदेशमा लामो समय बिताउँदा पनि उनले आफ्नो थातथलो कहिल्यै बिर्सेनन्। अवकाशपछि परिवारसहित नेपालमै बसोबास गर्दै सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएका छन्।

धरानका तत्कालीन मेयर हर्क साम्पाङले अघि बढाएको श्रम अभियानमा सक्रिय रूपमा जोडिएका पूर्ण लिम्बू त्यहीँ समयदेखि सामाजिक र श्रम गतिविधिमा निरन्तर संलग्न रहँदै आएका छन्। लिम्बूले श्रम संस्कृति पार्क निर्माण, कोकाहा खानेपानी आयोजना, गोर्खा पार्क लगायत विभिन्न परियोजनामा लाहुरे समुदायको प्रतिनिधित्व गर्दै स्वेच्छिक श्रमदान र आर्थिक सहयोगसमेत गरेका थिए।श्रम अभियानसँगै नजिकिएपछि उनले निरन्तर रूपमा स्थानीय विकास र सामुदायिक मुद्दामा आफ्नो उपस्थिति बलियो बनाउँदै गए। 

यही क्रममा श्रम संस्कृति पार्टी स्थापना भएपछि उनी पार्टीको केन्द्रीय सदस्य बने। त्यसपछि उनको राजनीतिक यात्रा औपचारिक रूपमा अघि बढ्यो । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत संखुवासभाबाट आदिवासी जनजाति पुरुष क्लस्टरमा उनी बन्द सूचीमा परेका थिए, जसले उनलाई संघीय संसदसम्म पुर्‍याउने ढोका खोल्यो।

लाहुरे समुदायको प्रतिनिधित्व गर्दै आएका लिम्बूले आफनो प्राथमिकता जनजाति समुदाय र सामाजिक न्यायका मुद्दाहरूलाई आवाज दिने र विशेष गरी ब्रिटिश गोर्खा सैनिकसँग सम्बन्धित मुद्दालाई संसदसम्म पुर्‍याउने बताएका छन् । उनी भन्छन्, 'बिट्रिस आर्मीको मुद्दा सर्वोच्चमा अहिले बिचाराधीन अवस्थामा छ, त्यहाँबाट कतिको सम्बोधन हुन्छ/हुँदैन् ? भएन भने सांसदमा उठाउने छु, अरु थुप्रै कुराहरु छन् । त्यो विषयमा पनि सम्बन्धित व्यक्ति निकाय सबैसँग छलफल गृहकार्य गरी सांसदमा उठाउने कुराहरु उठाउने छु ।’

संसदमा अन्य पार्टीहरुसँग मिलेर काम गर्ने उनले बताए । सदनमा उठाइएका सकारात्मक र जनहितका मुद्दाहरूलाई समर्थन गर्ने र आवश्यक परे खबरदारीको भूमिका पनि निर्वाह गर्ने उनले बताएका छन्।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully