राजनीतिमा प्रवेशसँगै डा. रामविरुद्ध विभिन्न आरोप र चर्चाहरू पनि चले । विशेषगरी कुलमान घिसिङसँगको पारिवारिक सम्बन्ध र सिफारिसको विषयले चर्चा पायो । तर, उनले यी आरोपलाई अस्वीकार गरेका छन् ।
काभ्रेपलाञ्चोक — धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका कक्षाकोठामा अनुसन्धान र प्रोजेक्टहरूमा व्यस्त देखिने डा. राम लामा अब फरक भूमिकामा देखिने छन् । सरकारले बनाएका नीतिमाथि प्रश्न उठाउँने र प्रश्न गर्न सिकाउँदै आएका डा. राम अब आफै नीति निर्माण तहमा पुगेका छन् । अब उनले नै प्रश्नका जवाफ दिनुपर्ने छ ।
उनी रास्वपाबाट प्रतिनिधिसभामा समानुपातिकबाट सांसद् निर्वाचित भएका हुन् । उनले आफ्नो परिचय ऊर्जा विज्ञका रुपमा बनाएका छन् । ऊर्जा क्षेत्रको विकासको लागि दिन रात मिहेनत गर्दै आएका छन् । उर्जा क्षेत्रप्रति उनको लगाब बुझ्न अतितमा पुग्नै पर्छ । जहाँ ‘एउटा गाउँले बालक टुकीको उज्यालोमा सुन्दर भविष्यको सपना देख्दै आएको थियो ।’ काभ्रेको चौरीदेउराली गाउँपालिका–७, मादन कुँडारीमा २०४६ सालमा जन्मिएका लामाको बाल्यकाल सहज थिएन् ।
त्यो समयको विकट गाउँ मादन कुँडारी । जहाँ न व्यवस्थित सडक थियो न भरपर्दो खानेपानी न त बिजुली । विद्यालय जान दैनिक एक घण्टासम्म पैदल हिँड्नु पर्थ्यो । ८ कक्षासम्म नजिकैको विद्यालय र त्यसपछि माथिल्ला कक्षाका लागि अझ टाढाको विद्यालय पुग्नुपर्ने बाध्यता थियो । ३ रुपैँयाको प्लास्टिकको झोलामा किताब बोकेर चप्पल लगाएर स्कुल जानु, कुवाबाट पानी ल्याउनु, फुर्सदको समयमा खेतबारीको काममा आमाबुबालाई सघाउनु यी सबै उनको बाल्यकालका स्मृति हुन् ।
सबैभन्दा गहिरो स्मृति भनेको टुकीको उज्यालो हो । ‘त्यो समयमा गाउँमा बिजुली पुगेको थिएन्, टुकीको उज्यालोमा दिनचर्या टर्थ्यो, हामी तीनजना दाजुभाइ–दिदी एउटै टुकीको बत्ती वरिपरि बसेर पढ्थ्यौं,’ उनले बाल्यकाल स्मरण गरे,
‘रातभर टुकीको उज्यालोमा पढ्दा कालो ध्वाँसो नाक वरिपरि लागेको हुन्थ्यो, बिहान उठेर एक–अर्काको अनुहार हेरेर खुब हाँसिन्थ्यो ।’
अध्याँरो रातमा टुकीको उज्यालोले सुन्दर भविष्यका लागि उनले संघर्ष गरिरहें । उनले त्यतिबेलैदेखि गाउँ–ठाउँ र देशलाई नै उज्यालो बनाउने संकल्प लिएका थिए । त्यो आध्याँरो समयले उनलाई निराश बनाएन बरु ऊर्जा क्षेत्रमा केही गर्ने स्पष्ट लक्ष्य दियो ।
यही प्रेरणाले उनलाई प्राविधिक शिक्षातर्फ डोहोर्यायो । एसएलसीसम्मको पढाई गाउँमा सकेर उच्च शिक्षा अध्ययनका लागि उनी सहर पसे । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयबाट उनले उच्च शिक्षा अध्ययन गर्न थाले । सन् २००६ देखि जोडिएको इन्जिनियरिङको एक विद्यार्थीले शैक्षिक अध्ययनदेखि अनुसन्धान र संस्थागत विकाससम्म उल्लेखनीय यहाँ योगदान दियो । उनले सन् २००६ देखि २००८ सम्म काठमाडौं विश्वविद्यालयमा आइटी अध्ययन गरे । त्यसपछि २००८ देखि २०१२ सम्म ब्याचलर इन मेकानिकल इन्जिनियरिङ अध्ययन गरी स्नातक तह पूरा गरे । त्यसपछि उनी थप उच्च शिक्षा अध्ययनका लागि भारत गए । त्यहाँ उनले मेकानिकल इन्जिनियरिङअन्तर्गत एमटेक इन कम्प्युटर एडेड डिजाइन एन्ड म्यानुफ्याक्चरिङ विषयमा स्नातकोत्तर गरे ।
उच्च शिक्षापश्चात् पुनः काठमाडौं विश्वविद्यालयमा फर्किएका उनले सन् २०१७ देखि २०२१ सम्म पूर्ण छात्रवृत्तिमा पीएचडी गरे । पीएचडीपछि विश्वविद्यालयको एकेडेमिया–इन्डस्ट्री कोअपरेसन विभागको प्रमुख संयोजकका रूपमा काम गर्दै आएका थिए ।
‘अनुसन्धानले दिशा देखाउँछ तर त्यसलाई कार्यान्वयनमा लैजाने शक्ति नीतिमा हुन्छ,’ उनले भने, ‘यही बुझाइले राजनीतिमा प्रवेश गरेको हुँ ।’ सोही बुझाइअनुरुप डा. लामाले राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राजनीतिक यात्रा सुरु गरे । यसअघि कुनै राजनीतिक दलसँग आबद्ध नभएका डा. राम आफूलाई ‘नीतिमा योगदान दिन राजनीतिमा आएको’ व्यक्तिका रुपमा चिनाउँछन् ।
उनका अनुसार, देशलाई सही दिशामा लैजान जान्ने–बुझ्ने मानिसहरू नीति निर्माण तहमा पुग्न आवश्यक छ । राजनीतिमा आएर देशको सेवा थाल्नुअघि नै उनी समाजसेवामा भने क्रियाशिल थिए । ६ वर्षदेखि रोटरी इन्टरनेशनलमा आबद्ध भएर सामाजिक काममा सक्रिय रुपमा लागिरहेको उनी बताउँछन् ।
राजनीतिमा प्रवेशसँगै उनीमाथि विभिन्न आरोप र चर्चाहरू पनि चले । विशेषगरी कुलमान घिसिङसँगको पारिवारिक सम्बन्ध र सिफारिसको विषयले चर्चा पायो । तर, उनले यी आरोपलाई अस्वीकार गरेका छन् । ‘हाम्रो सम्बन्ध पेशागत हो, व्यक्तिगत वा पारिवारिक होइन,’ उनले भने ।
पहिले सरकारले बनाएको नीतिमाथि प्रश्न गर्दै आएका उनी अब आफै नीति निर्माण तहमा पुगेका छन् । डा. राम लामाले संसद्मा ऊर्जा, शिक्षा र उद्योग क्षेत्रलाई केन्द्र बनाएर नीति निर्माण गर्ने योजना बनाएका छन् । हाइड्रोपावरबाट उत्पादन भएको अतिरिक्त बिजुलीलाई ग्रीन हाइड्रोजन उत्पादनमा उपयोग गर्ने विषयमा विशेष ध्यान दिने उनको भनाइ छ ।
डा. लामाले सांसद भएर देशव्यापी अर्थतन्त्रमा प्रभाव पार्ने नीति, कानुन निर्माण र विदेशी लगानीको प्रवाह सुनिश्चित गर्ने उद्देश्य राखेका छन् । विकट जिल्लाहरूमा पनि आधारभूत पूर्वाधार, सडक, पुल, स्वास्थ्य सेवा र दक्ष जनशक्ति पुग्ने व्यवस्था गर्न प्राथमिकता दिइने उनको भनाई छ ।
काठमाडौँ विश्वविद्यालयका एकेडेमी–इन्डस्ट्री कोअर्डिनेटर एवं भाइ लक्ष्मण लामा दाइ संसद्मा पुगेपछि देशको ऊर्जा क्षेत्रमा नवप्रवर्तन र नीतिगत सुधार हुने विश्वास राख्छन् ।
लक्ष्मणका अनुसार राम अत्यन्तै मिहेनती, लगनशील र देशप्रेमी युवा हुन् । उनले निर्वाचनको बेला मतदाता भेटघाट, डेटा रिसर्च र विकास योजनामा सहयोग गरेको सुनाए ।
