राजनीति गरेको ३५ वर्षपछि संसद्‌मा रिना

०४७ तिर पद्मकन्या क्याम्पसमा अध्ययन गर्दै उनी विद्यार्थी राजनीतिमा लागिन् । कोषाध्यक्ष, सचिव, इकाई सभापति हुँदै उनी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिसम्म बनिन् ।

चैत्र ६, २०८२

प्रकृति दाहाल

Rina returns to Parliament after 35 years in politics

What you should know

काठमाडौँ — कांग्रेसको समानुपातिक सूचीमा रिना उप्रेतीको नाम समावेश भएसँगै निकै चर्चा भएको थियो । पूर्वमन्त्री बलबहादुर केसीकी श्रीमतीले खस आर्य क्लष्टरको पहिलो नम्बरमा स्थान पाएको भनेर बहसको विषय बनेको थियो ।

चर्चा र विवादबीच पार्टीभित्रै केही नेताले सूची सच्चाउन दबाब समेत दिएका थिए । कांग्रेसले बलबहादुरलाई २०४८ सालदेखिका सबै चुनावमा सोलुखुम्बुबाट एकल उम्मेदवार बनाउँदै आएको थियो । उनले २०६४, २०७४ र २०७९ सालको चुनावमा पराजय व्यहोरे भने २०४८, २०५१, २०५६ र २०७० मा जितेका थिए ।

यसपटक भने बलबहादुरले चुनावमा नउठ्ने घोषणा गरेका थिए । उनले श्रीमतीलाई समानुपातिकमा समावेश गरेको भन्दै आलोचना भएको थियो । यो आलोचना र विवादलाई भने रिनाले ‘अनावश्यक विवाद’को संज्ञा दिएकी छन् ।

आफ्नो योग्यता, क्षमता र लामो राजनीतिक योगदानभन्दा पनि वैवाहिक सम्बन्धलाई प्राथमिकता दिएर मुल्यांकन गरिएको उनको भनाइ छ । सधैं श्रीमान्लाई राजनीतिमा सहयोग गर्दै आएकी रिना यसपटक भने प्रत्यक्ष निर्वाचनमार्फतै संसद् प्रवेश गर्ने योजनामा थिइन् । जिल्ला तहबाट उनको नाम सिफारिस भए पनि कोशी प्रदेशबाट समानुपातिकमा उठाउने निर्णय भएकाले प्रत्यक्षबाट पछि हटेको उनले बताइन् । 

रिना राजनीतिमा बलबहादुर केसीकी श्रीमतीको रुपमा चिनिए पनि उनी लामो समयदेखि संगठनमा सक्रिय थिइन् । विद्यार्थी राजनीतिदेखि केन्द्रसम्मको पहुँच र निरन्तर योगदानका आधारमा प्रत्यक्षबाटै चुनाव लड्ने योजनामा उनी थिइन् ।  उनले भनिन्, ‘प्रत्यक्षबाटै लड्ने योजना थियो, पार्टीभित्रको सहमति र समीकरणका कारण समानुपातिकबाट संसद्मा पुग्ने योजना बनाए ।’

रिनालाई समानुपातिक सूचीमा बस्न यसअघिका निर्वाचनमा पनि प्रस्ताव आएको थियो । तर, ती अवसरभन्दा श्रीमान्लाई नै प्रत्यक्ष निर्वाचनमा सहयोग गर्ने निर्णय लिइन् । 

रिना २०४६ सालको जनआन्दोलनदेखि निरन्तर राजनीतिमा सक्रिय छिन् । भूमिगत गतिविधिदेखि विद्यार्थी राजनीति, संगठन निर्माणदेखि जिल्ला तहको काममासम्म उनले निरन्तर योगदान दिएकी छन् । उनी कांग्रेसको ११औं महाधिवेशनदेखि नै महाधिवेशन प्रतिनिधिका रुपमा रहेकी छन् ।

उनी बाल्यकालदेखि नै कांग्रेस राजनीतिमा नजिक भइन् । उनका बुबा कांग्रेसप्रति आस्था राख्थे । २०२८ सालमा पञ्चायत सरकारले गरेको दमनबाट उनको परिवार प्रभावित भएको थियो । त्यतिबेला घरमा प्रहरीको निगरानी सधैं हुने गरेको उनले सम्झिइन् ।

राजनीतिक गतिविधिमा संलग्न भएका कारण उनी १९ वर्षकै उमेरमा जेल समेत परिन् । उनले भनिन् ‘जेल पर्दा म १९ वर्षकी थिए, मेरी बहिनी १५ वर्षकी थिइ । २०४६ मा बहुदल घोषणापश्चात मात्रै हामी छुटेका हौं ।’

उनको बाल्यकाल राजनीतिक वातावरण, प्रहरीको निगरानी र डरबीत बित्यो । २०४६ सालतिर कांग्रेस नेता कृष्ण सिटौला उनको घरमा भुमिगत अवस्थामा बस्थे । यतिबेला राजनीतिक घटनाक्रमलाई थप बुझ्ने अवसर पाइन् । यही पृष्ठभूमिले उनलाई २०४६ सालको जनआन्दोलनमा सक्रिय बनायो । क्यासेटमा रेकर्ड गरेका नेताका भाषण सुन्ने, घरमा लुकाएर राख्ने, भूमिगत नेताहरूलाई सहयोग गर्ने, सन्देश पुर्‍याउने जस्ता गतिविधिमा उनी सक्रिय थिइन् । 

२०४७ मा काठमाडौं आएपछि उनको राजनीतिक सक्रियता अझ फैलियो । पद्मकन्या क्याम्पसमा अध्ययन गर्दै उनी विद्यार्थी राजनीतिमा लागिन् । कोषाध्यक्ष, सचिव, इकाई सभापति हुँदै उनी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिसम्म बनिन् । नेविसंघको केन्द्रीय सचिवको जिम्मेवारी पनि सम्हालिन् । २०५६ सालसम्म उनी जिल्ला र संगठनमा निरन्तर सक्रिय रहिन् । 

२०६१ सालमा बलबहादुरसँग विवाह गरेपछि उनको भूमिका अलि फरक बन्यो । सोलुखुम्बु पुगेर पनि उनले राजनीति गर्न भने छोडिनन् । तर अग्रपंक्तिमा देखिनुभन्दा संगठन र पारिवारिक राजनीतिक यात्रामा सहयोग गर्न केन्द्रित भइन् । २०६४ सालदेखि उनले निरन्तर रुपमा श्रीमान्लाई सहयोग गरिरहिन् ।  

उनका अनुसार नेपाली राजनीतिमा महिलामाथि गरिने व्यवहार पनि समान छैन । महिलाले सफलता हासिल गर्दा त्यसलाई व्यक्तिगत क्षमताभन्दा सम्बन्धसँग जोड्ने प्रवृत्ति रहेको उनको अनुभव छ । उनले भनिन्, ‘महिलालाई नेतृत्वले विश्वास नगर्ने, उनीहरूको क्षमतामाथि प्रश्न गरिरहने प्रवृत्ति अझै छ । तर, महिलाले पनि अवसर पाए गर्न सक्छन् भन्ने मानसिकता विकास गर्नुपर्छ ।’

समानुपातिक प्रतिनिधित्व गर्दै संसद् पुगेकी उनी एउटै व्यक्तिलाई पटकपटक समानुपातिकबाट अवसर दिनु भने उचित नभएको बताउँछिन् । उनले भनिन्, ‘एकपटकको अवसर उपयोग गरेर आफूलाई प्रमाणित गर्नुपर्छ । पटकपटक अवसर लिए समानुपातिक प्रणालीमाथि अविश्वास बढ्छ ।’

संसद् यात्रालाई सिक्ने अवसरको रुपमा लिएको उनले बताइन् । संसदीय अभ्यास, संविधानको मर्म र जनताको सरोकारलाई केन्द्रमा राखेर काम गर्ने उनको योजना छ । हिमाली जिल्लाका मुद्दामा केन्द्रित रहने उनले बताइन् । सोलुखुम्बुसहितका हिमाली क्षेत्रको विकास, स्थानीय स्रोतको उपयोग र आर्थिक आत्मनिर्भरता उनका प्राथमिक एजेन्डा हुन् । उनले भनिन्, ‘हिमाल र हाइड्रोपावरबाट उठ्ने रोयल्टी ५० प्रतिशतसम्म स्थानीय स्तरमै खर्च गर्न पाउने व्यवस्था भए विकासका लागि केन्द्र सरकारमाथि निर्भर हुनु पर्दैन ।’

रिना यसअघि सामाजिक कार्यमा पनि सक्रिय थिइन् । रिनाले धेरै बालबालिका हुर्काउनका साथै पढाएकी छन् । अहिले पनि उनले पाँचजना बालबालिका हुर्काइरहेकी छन् ।

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully