उर्मिला थपलिया : प्रतिगमनविरुद्धको साहसी यात्राबाट संसद्‍सम्म

राजतन्त्रविरुद्ध सडकमा उत्रिएकी उर्मिला थपलियाले विद्यार्थी जीवनदेखि निरन्तर राजनीतिक संघर्ष गरिन् । अब उनी समानुपातिक सांसद बनेर संसद् छिर्दै छिन् ।

चैत्र ६, २०८२

आरती पौडेल

Urmila Thapaliya: From a courageous journey against regression to Parliament

What you should know

काठमाडौँ — तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ गते राजकीय सत्ता आफ्नो हातमा लिएपछि त्यसविरुद्ध सात राजनीतिक दल सडकमा थिए । प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखेर सडकमा दिनहुँ विरोध जुलुस र धर्ना हुन्थे । त्यसको केन्द्रविन्दु बनेको थियो- पद्मकन्या क्याम्पस, बागबजार अनि पुतलीसडक ।

जहाँ पद्मकन्याका सयौं छात्रा सडकमा निर्धक्क प्रतिगमनका विरुद्ध आगो ओकेल्थे । त्यही भिडको अग्रमोर्चामा हुन्थिन्- उर्मिला अर्थात् सीता थपलिया ।

उनीसँगै विनिता अधिकारी, उमा शिवाकोटी, महेश्वरी कुँवर, सृजना अधिकारी, कृष्णकुमारी बस्नेत, टीका चौधरी, इन्जिला न्यौपाने, चन्दा अधिकारीलगायत विद्यार्थीको रुटिन नै बनेको थियो–आन्दोलनको । बिहान ९/१० बजेतिर जम्मा हुन्थे । दिनभर धर्ना, जुलुस हुन्थ्यो । प्रहरी धरपकड र दमनमा उत्रन्थ्यो । उनीहरु पछि हट्थेनन् । कफन बाँधेर निस्कन्थे । अश्रुग्यास चल्थ्यो । लाठीचार्ज हुन्थ्यो । घाइते हुन्थे । अस्पताल जान्थे । फर्कन्थे । बिहान ९/१० बजेबाट सुरु भएर अपराह्न ४/५ बजेसम्म चल्थ्यो । यतिबेला अखबारका पानामा सबैभन्दा बढी तस्बिर सम्भवतः पद्मकन्याका विद्यार्थीले गरेको आन्दोलनकै छापिन्थे । 

सात राजनीतिक दलको आन्दोलन निर्णायक हुन नसकेपछि सशस्त्र द्वन्द्वमा रहेको माओवादीसँग १२ बुँदे सहमति भयो । त्यसपछि सुरु भयो, सात दल र माओवादीको संयुक्त आन्दोलन । आन्दोलन सफल भयो । गणतन्त्र आयो । नयाँ संविधान जारी भयो । संविधान जारी भएर मुलुक नयाँ राज्य संरचनामा प्रवेश गरेको पनि १० वर्ष पुग्यो ।

यसबीच आन्दोलनका तीन जुझारु नेता कोही विदेश पुगे । कोही कता । कतिपय अझै राजनीतिमा सक्रिय छन् । त्यही सक्रिय राजनीतिलाई निरन्तरता दिदै आएकी उर्मिला अहिले समानुपातिक सांसद बनेकी छन् ।

मेरो राजनीतिक जीवनको सुरुवात गिरिजाबाबुलाई स्वागत गर्ने क्षणमा वाचन गरेको कविताबाट नै भएको हो आन्दोलनकै क्रममा अश्रुग्यासको असरले उनी देब्रे कान सुन्दिनन् । आन्दोलनमा घाइते हुँदा झन्डै तीन महिना उनले शिक्षण अस्पतालमा बिताइन् । ‘०६० चैत ३० गते टाउकोमा गम्भीर चोट लाग्यो । सामान्य उपचार गरेर घर गएँ । सुशील कोइराला, दीपक गिरी र तीर्थराम डंगोल म बसेको कलंकीको घरमै भेट्न आउनुभयो,' उनले सम्झिइन्, 'भोलिपल्ट त मेरो मुख बांगियो । वर्तमान केन्द्रीय कार्यसमितिका सदस्य अजयबाबु शिवाकोटी त्यतिबेला इमेज च्यानलमा काम गर्नुहुन्थ्यो । अफिसको गाडी लिएर मलाई शिक्षण अस्पताल महाराजगन्ज लग्नुभयो ।' त्यसपछि उनी अस्पतालमै रहिन् । 'त्यतिबेला गिरिजाप्रसाद कोइराला फलफूल बोकेर दिनुहुँजसो भेट्न आउनुहुन्थ्यो । ती घटना बिर्सन सक्दिनँ,’ उनी भन्छिन् ।

गिरिजाप्रसादलाई उनी आदर्श पिता ठान्थिन् । देहान्तपछि उनका बारेमा लेखिएका लेखहरुको पुस्तक नै उर्मिलाले प्रकाशन गरेकी छन् । त्यसपछि सुशील कोइराला उनका आदर्श भए । सुशीलको निधनपछि उनी शशांक समूहमा छिन् । सोही समूहबाट उनले सांसद बन्ने अवसर पाइन् ।

०००

धादिङ सिद्धलेक गाउँपालिकामा जन्मिएकी उर्मिला सानैदेखि संघर्षशील थिइन् । बाल्यकालदेखि नै उनमा जिज्ञासु स्वभाव थियो । 

धादिङको निलकण्ठ माध्यमिक विद्यालयमा ६ पढ्दै गर्दा उनमा राजनीतिप्रति चासो बढेको थियो । त्यसबेला एक कार्यक्रमका लागि गिरीजाप्रसाद कोइराला धादिङ पुगेका थिए । उनको कविता सुनेर प्रशंसा गर्नेमा गिरिजाप्रसाद पनि थिए । 

उनी गिरीजासँगै मञ्चमा थिइन् । भोलिपल्ट बिहानदेखि गाउँभरि चर्चा भयो- गिरिजाप्रसादसँगै बसेको भनेर । ‘मेरो राजनीतिक जीवनको सुरुवात गिरिजाबाबुलाई स्वागत गर्ने क्षणमा वाचन गरेको कविताबाट नै भएको मान्छु,’ उनलाई गर्व लाग्छ । 

२०५४ सालमा आफूले पढ्दै गरेको माविमा उनी नेविसंघ इकाई उपाध्यक्ष भइन् । २०५६ सालमा नेविसंघ जिल्ला कोषाध्यक्षको जिम्मेवारी लिइन् । राजनीतिमा महिला आउनुपर्छ भन्ने मुद्दा उठाउन थालिन् । निरन्तरको सक्रियताले २०५९ सालमा नेविसंघ जिल्ला सचिव बनिन् । 

२०६२ सालमा विश्वभाषा क्याम्पसको स्ववियु सचिव, २०६३ मा नेविसंघ केन्द्रीय सदस्य र कांग्रेसको १२औं महाधिवेशनपश्चात् महासमिति सदस्य भएर केन्द्रीय राजनीतिमा उक्लिइन् । महासमिति सदस्यसँगै नेविसंघ केद्रीय उपाध्यक्ष र महामन्त्रीसम्मको अवसर उनले पाइन् ।

Urmila Thapaliya: From a courageous journey against regression to Parliament

०६२/०६३ को आन्दोलनका बेला तीन महिना अस्पताल बसेकी उनीसँग तीनपटक हिरासत बसेको अनुभव पनि छ । ‘जति बाधा अवरोध आए पनि राजनीति छोड्ने सोच कहिल्यै आएन । बरु अझ बलियो हुनुपर्छ भन्ने महसुस भयो,’ उनी भन्छिन् । 

हरेक दिन बलात्कारका घटना बढेका छन् । कानुन परिमार्जन गर्नुपर्ने विषयलाई जोड दिनेछु२०५९ सालमा ‘अनुभूतिका तरंगहरु’ नामक गद्य कविता संग्रह प्रकाशन गरेकी उर्मिलाका विभिन्न विधाका ५ पुस्तक प्रकाशनमा छन् । उनले धेरै लेख लेखेकी छन् । गीत गाएकी छिन् । 

‘म सानो हुँदा राजनीतिप्रति चासो राख्दा परिवारले निकै साथ दिनुभयो । विवाहपश्चात् राजनीति गर्न कुनै कुराले असहज भएन,’ उनले भनिन्, ‘तिमीले राजनीति गर्नुपर्छ । सत्यका लागि बोल्न कहिल्यै पछि पर्नु हुँदैन भनेर श्रीमान्, सासू, ससुरा घरपरिवार सबैले हौसला दिनुभयो । त्यसैले म जे छु त्यो परिवारको कारण छु ।’ २०७२ सालमा वैवाहिक सम्बन्धमा बाँधिएकी उनका २ सन्तान छन् । 

युवालाई रोजगार साथै उद्यमशीलतासँग जोड्ने वातावरण देशमै सिर्जना गनुपर्ने र भ्रष्टाचार अन्त्य गर्नुपर्ने विषयलाई अब सदनमा जोडतोडले उठाउने उनको बाचा छ । युवाशक्ति राजनीतिमा आउनुपर्छ भन्ने चाहना आफूले जहिल्यै राखेको र त्यसैका लागि लडेको उनी बताउँछिन् । 

देशमा भइरहेका खराब कार्यहरुको खबरदारी गर्ने र विषेशगरी महिलाको विषयमा आवाज उठाउने सोचसमेत रहेको उनले सुनाइन् । ‘हरेक दिन बलात्कारका घटना बढेका छन् । यस्ता घटनाले छोरीहरु घरमा हुन् वा बाहिर, सुरक्षित छैनन् । कानुन परिमार्जन गर्नुपर्ने विषयलाई जोड दिनेछु,’ उनले भनिन् । 

जति धेरै संघर्ष गरेर महिला नेतृत्वमा आए पनि सामाजिक विभेद भने अन्त्य नभएको उनको बुझाइ छ । ‘हरेक कुरामा धेरै  विभेद छ । पुरुष राजनीतिमा आउँदा नेता भनिन्छ । तर महिला राजनीतिमा आउादा महिला नेतृ भनिन्छ । यसमा पनि विभेद नै छ,’ उनी भन्छिन्, ‘अब युवाहरुको बाहुल्य भएको सदनले यस्ता भाष्यलाई चिरेर अघि बढ्नुपर्छ ।’

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully