सर्वोच्चको मुद्दाले चर्चित एशुदाको संसद यात्रा

बाल्यकालदेखि अपांगता तथा आर्थिक संघर्ष भोगेकी एशुदा बराल शिक्षा, व्यवसाय र समाजसेवासँगै राजनीतिक सक्रियता बढाउँदै समानुपातिक सांसद बनेकी छिन्।

चैत्र ६, २०८२

तुलाराम पाण्डे

Eshuda's visit to Parliament made famous by Supreme Court case

What you should know

कालीकोट — कालीकोटको रास्कोट–८ फूकोटमा जन्मिएकी ३४ वर्षीया एशुदा कुमारी बराल सानैमा अपांग बनिन् । कालीकोटको कठिन भूगोलमा खेल्ने क्रममा ४ वर्षको उमेरमा ढुंगा खसेर दाहिने खुट्टा च्यापिँदा घाइते भइन् ।

बेलैमा उचित उपचार नहुँदा खुट्टा छोटो भएर हिँड्डुल गर्न कठिन भयो । त्यहीँ अपांगता उनका लागि जीवनभरको पीडा बन्यो । ०४८ असोज २५ मा ५ जन्मिएकी एशोदा सानै उमेरदेखि एमालेमा संगठित भएर सक्रिय थिइन् । त्यही राजनीतिक संलग्नताले उनलाई यसपटक एमालेले पिछडिएको क्षेत्र, महिला र अपांग क्षेत्रबाट प्रतिनिधिसभाको समानुपातिक सांसद बनाएको छ । पार्टीले निर्वाचनमा कमजोर नतिजा प्राप्त गर्दासमेत उनी समानुपातिक १६ जनाभित्र पर्न सफल भएकी छन् । 

गाउँकै जनजागृति आधारभूत विद्यालयबाट कक्षा ७ पूरा गरेपछि दैनिक दुई घण्टा उकालोओरालो गरेर बडिमालिका मावि रास्कोटबाट १२ कक्षा पढिन् । विद्यालयमा कक्षा ८ पढ्दा अनेरास्ववियूको प्रारम्भिक कमिटी अध्यक्ष बनेकी उनी १७ वर्षकी हुँदा उच्च शिक्षा पढ्न एक्लै काठमाडौं गइन् । अपांग भए पनि केही गर्न सक्छु भन्ने आत्मविश्वास बोकेर सहर छिरेकी उनलाई नयाँ ठाउँ, परिवेश र वातावरणसँग घुलमिल हुन निकै संघर्ष गर्नु पर्यो । घरको आर्थिक अवस्था बलियो नभए पनि छोरीले पढ्न जान्छु भनेपछि उनका बुवाले ऋणसापट खोजेर खर्च जुटाए । ‘छोरी पढाएर के काम ? भनेर छरछिमेकले कुरा काट्थे,’ एशुदा सम्झिन्छिन् । पढाइलाई निरन्तरता दिएर नेपाल कमर्स क्याम्पसबाट स्नाकोत्तर पास गरेपछि सबैले प्रशंसा गर्न थालेको उनले बताइन् ।

छोरीलाई हेला गर्ने समाज त्यसैमा अपांगता भएकालाई झन् हेप्ने चलन रहेको सुनाउँदै उनले भनिन्, ‘अपांगता भएका व्यक्ति पनि मानव हुन भनेर निकै संघर्ष गर्नुपर्यो ।’ अपांगमैत्री भौतिक संरचना, अपांग मैत्री व्यवहार, बोलीचाली र सहभागिताका लागि आवाज उठाउँदै आएकी एशुदालाई युवाले रोजगारी नपाएर भौतारिएको विषयले निकै सताउने गरेको थियो । आफू काठमाडौंमा बाच्न भृकुटीमण्डपमा फेन्सी पसल संचालन गर्छिन् ।

त्यसैको आम्दानीबाट भाईबहिनी पढाउने र आफ्नो खर्च व्यवस्थापन गर्छिन् । ‘आफ्नै व्यवसायले कसैसँग हात थाप्न परेको छैन । समाज सेवा, राजनीति, व्यवसाय सबै धानेकै छु,’ उनले भनिन् । पसलमा अचेल भाईबहिनी र आमाबुवाले रेखदेख गरिरहेको उनले बताइन् । उनी आफू अविवाहित हुन् । 

राजनीतिसँगै अपांगता भएका व्यक्तिको अधिकारको पैरवी गर्दै सक्रिय एशोदा अनेरास्ववियुको केन्द्रीय सदस्य हुँदै अखिल नेपाल महिला संघको पनि केन्द्रीय सदस्य भइन् । उनी एमाले कालीकोटको जिल्ला कमिटी सदस्य पनि हुन् । बरालले कालीकोटमा निर्माण भइरहेको ४ सय ८० मेगावाट  क्षमताको फुगाड कर्णाली जनताको हितमा हुनुपर्ने माग दाबीसहित दुई वर्षअघि सर्वोच्चमा मुद्दा दायर गरिन् । उनले मुद्दा हालेकाले कालीकोटको गौरवको आयोजनाको काम रोकिएको भन्दै यस पटकको चुनावमा एमाले इतरका दलले चुनावी मुद्दा बनाए । 

उनले फुगाड कर्णालीमा स्थानीयका अधिकार सुनिश्चित हुनुपर्ने, राष्ट्रिय हितलाई ध्यानमा राखेर स्वदेशी लगानीबाट जलविद्युत बन्नुपर्ने मागदाबीसहित ०८० मा सर्वोच्चमा मुद्दा हालेकी एशुदाको मुद्दा निर्देशनात्मक आदेशसहित गत भदौ २३ मा मुद्दा खारेज भइसकेको छ । 

काठमाडौंमा पढ्दा गाउँका युवाहरु रोजगार नपाएर भारतलगायतका खाडीमुलुक गइरहेको देखेर अन्तरिम संविधान २०६३ को धारा १८ मा उल्लेख भएको रोजगारीको हक कार्यान्वयन नभएको भन्दै ०६९ वैसाखमा मन्त्रिपरिषद्लाई विपक्षी बनाइ रिट दायर गरेकी थिइन् ।  अन्तरिम संविधान जारी भएको ६ वर्षसम्म पनि कुनै प्रगति नभएकाले सो व्यवस्था यथावतरुपमा लागू हुन नसक्ने भएकाले कानून बनाएर उचित रोजगारी र सामाजिक सुरक्षाको ग्यारेन्टी गरी पाउँ भनेर गरेको मुद्दामा सर्वोच्चले कानुन बनाएर रोजगारी दिन सरकारका नाममा परमादेश समेत जारी गरेको थियो । यी दुवै मुद्दाका कारण उनको निकै चर्चा पनि भएको थियो । 

अपांगता भएका व्यक्तिले अझै पनि सहभागिता र समानताको अधिकार उपयोग गर्न नपाएको र कर्णालीमा अपांगता भएका व्यक्तिका अलग्गै समस्या रहेको उनले बताइन् । ‘हामीले चाहेर पनि हिृवलचियरको प्रयोग गर्न सक्ने अवस्था छैन,’ उनले भनिन्, ‘जताततै भीरैभीर भएकाले हातखुट्टा टेकेर घस्रिँदै हिँड्नुपर्छ ।’

नीति निर्माणको सर्वोच्चथलो प्रतिनिधिसभामा पुगेर विशेषगरी सामाजिक सुरक्षाका लागि कर्णाली मैत्री नीतिबारे पैरवी गर्ने उनको योजना छ । ‘कर्णाली प्राकृतिक स्रोतसाधनको धनी भए पनि उचित प्रयोग र परिचालन हुन नसक्दा सुखी र सुखारी कर्णालीबासी बन्न सकेको छैन,’ उनले भनिन्, ‘कर्णालीबाट प्रतिनिधित्व गर्ने सबै जनप्रतिनिधिको साझा बुझाई र पहल कदमीले कर्णालीको विकास गर्न सकिने आशा छ ।’ 

रारा, फोक्सुन्डो जस्ता मनमोहक ताल, बडिमालिका, चुलीमालिका, पुग मालिका, महाबै, चन्दननाथ, छायानाथलगायतका पर्यटकीयस्थल रहेको कर्णालीमा त्यसको संरक्षण र विकासका लागि दिर्घकालीन योजना बन्न नसकेको सुनाउँदै कर्णालीको जल, जंगल, जडीबुटीको संरक्षणका लागि आवाज उठाउने योजना रहेको उनले बताइन् । समाजमा पछाडि पारिएका वर्ग विशेषगरी अपांगता भएका, विपन्न, एकल महिला, जेष्ठ नागरिकको सामाजिक सुरक्षा र संरक्षणका लागि आवाज उठाउने योजना उनको छ ।   

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully