पारिवारिक बाध्यता झेल्दै संसदसम्म रत्ना थापा

घर, शिक्षण र श्रीमानको उपचारको जिम्मेवारीका बीच रत्ना थापाले आफ्नो सपना नछाड्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट संघीय संसदमा स्थान सुरक्षित गरेकी छन् ।

चैत्र ६, २०८२

मेनुका ढुंगाना

Ratna Thapa reaches Parliament despite family constraints

What you should know

अछाम — थोरै बोल्ने, काम पर्दाबाहेक दैलो बाहिर खासै ननिस्कने । वर्षौंदेखि पारिवारिक जिम्मेवारी धानिरहेकी अछामकी ४१ वर्षीया रत्ना थापा धामीको परिचय अब फेरिएको छ । घर र चुलोचौकोमै सीमित रहेकी रत्ना अब देशको सर्वोच्च नीति निर्माण तह संघीय संसद्मा पुगेकी छन् ।

पञ्चदेवल विनायक नगरपालिका–२ का जनकबहादुर धामीसँग २० वर्षको उमेरमा विवाह हुँदा रत्नाले भर्खरै एसएलसी उत्तीर्ण गरेकी थिइन् । माइतीमा छोरीको भूमिकामा रहेकी उनले बुहारीको जिम्मेवारी थपिँदा आफूलाई मानसिक रूपमा बलियो बनाउन त खोजिन्, तर दुर्गमको परिवेश र घरायसी परिस्थिति उनका लागि पटक–पटक बाधक बने ।

विवाह लगत्तै उनले पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिइन् । सुत्केरी अवस्था र नवजात शिशुको स्याहारकै बीच उनले प्राथमिक तहको शिक्षक अनुमति पत्र (लाइसेन्स) परीक्षा दिइन् । उक्त परीक्षामा पास भएपछि घरनजिकैको सरस्वती माध्यमिक विद्यालयमा उनले पढाउन सुरु गरिन् । तर, संघर्षको अर्को अध्याय त्यतिबेलै सुरु भयो, जब काखमा ६ महिनाकी छोरी हुँदाहुँदै उनको गर्भमा दोस्रो सन्तान (छोरा) रहे ।

यो समय उनका लागि निकै कष्टपूर्ण रहृयो । श्रीमान् काम र पढाइको सिलसिलामा घरबाहिर रहनुपर्ने बाध्यता भएकाले घरको काम, विद्यालयको जिम्मेवारी र साना बालबालिकाको हेरचाहको सबै भार उनकै एक्लो काँधमा आइलाग्यो । दुर्गमको जनजीवन, त्यसमाथि एक्लो संघर्ष । तर उनले कहिल्यै हार मानिनन् । उनले जेनतेन दुवै सन्तानलाई हुर्काइन् र आफ्नो पढाइलाई पनि निरन्तरता दिइन् ।

उनले विनायकस्थित विद्यामन्दिर माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरिन् । उनको अध्ययनप्रतिको भोक यतिमा मात्र रोकिएन । तेस्रो सन्तान गर्भमा भएकै बेला उनी पञ्चदेवल बहुमुखी क्याम्पसमा स्नातक तहमा भर्ना भइन् । ४ महिनाको शिशुलाई काखमा बोकेर उनले स्नातक तह प्रथम वर्षको परीक्षा दिन मंगलसेन पुगिन्। 

करिब १० वर्षसम्म रत्नाको जीवन अछामको त्यहीँ परिचित भूगोल, स्कुलका विद्यार्थी र घरको आँगनकै वरिपरी घुमिरहृयो । एउटी सामान्य गृहिणी र गाउँकै विद्यालयकी शिक्षिकाका रूपमा उनी आफ्नो संसारमा रमाइरहेकी थिइन् । दशक लामो शिक्षण यात्राले उनलाई समाजसँग जोडेको थियो भने उच्च शिक्षाको संघर्षले भोलिका लागि ठूला सपना देख्न सिकाएको थियो । ठिक त्यहीँ बेला, जब उनी आफ्नो वैयक्तिक विकासको उचाइँ चढ्दै थिइन्, उनको जीवनमा फेरि अर्को एउटा ठूलो ‘तुफान’ आइलाग्यो ।

काठमाडौंमा व्यापार व्यवसाय गर्दै आएका श्रीमान् अचानक मिर्गौलाको गम्भीर बिरामी परे । यो खबर रत्नाका लागि कुनै ‘चट्याङ’भन्दा कम थिएन । एकातिर १० वर्षदेखि पसिना बगाएको शिक्षण पेशा, अर्कोतिर भर्खरै सुरु गरेको उच्च शिक्षाको सपना । तर, अझै अर्कोतिर जीवनसाथीको अवस्था र सन्तानको भविष्य । अन्ततः उनले आफ्नो सपनाको आहुति दिने कठिन निर्णय गरिन् । ‘मैले वर्षौंसम्म अछामका उकाली–ओराली गर्दै आफ्ना सपनालाई अक्षरमा कोरेकी थिएँ । जब श्रीमानको स्वास्थ्य नै धरापमा पर्‍यो, मेरा ती सबै प्रमाणपत्र र जागिर गौण बने,’ उनले भनिन्, ‘मेरा लागि मेरो सिन्दूर र छोराछोरीको ओठको मुस्कानभन्दा ठूलो अरू केही थिएन ।’

अछामको त्यो स्कुल, चिनिएका अनुहार र आफ्नै माटो छोडेर उनी श्रीमानको उपचार र छोराछोरीको हेरचाहका लागि काठमाडौंतिर लागिन् । अछामको विकट गाउँबाट काठमाडौंको अस्पतालका कोठाहरूमा ठोक्किन पुगेको उनको यो यात्रा धैर्यता र त्यागको एउटा जिउँदो प्रतिविम्ब बन्यो । ‘सबै छोडेर काठमाडौं आउने बेला सारा समाज एकातिर हुँदा पनि मेरी छोरी पढाउँछु । उसलाई राम्रै ठाउँमा पुर्याउँछु भनेर मेरो पक्षमा उभिएका मेरा बुवाको अनुहार सम्झेँ,’ उनले भनिन्,‘सकेको सबै प्रयास गर्दा पनि केही गर्न सकिन भन्ने पछुतो सधैं लागि रहन्थ्यो ।’

काठमाडौंको बन्द कोठा र अस्पतालको चक्करबीच रत्नाका दिन बित्दै गए । सानै उमेरदेखि विद्यालयमा चक–डस्टरसँग खेलेकी र अछामका उकाली–ओरालीमा गरेकी रत्नाका लागि चार पर्खालभित्रको बन्दी जीवन असहृय हुन थाल्यो । काठमाडौंको त्यो कोठामा बसेर उनले श्रीमान् र छोराछोरीका लागि मात्रै समय दिइनन्, बरु एक महिलाले यो समाजमा बाँच्नका लागि कति धेरै सम्झौता गर्नुपर्छ भन्ने महसुस पनि गरिन् । त्यही बन्द कोठाको छट्पटीले नै उनलाई भित्रभित्रै ठूलो विद्रोहका लागि तयार पारिरहेको थियो ।

काठमाडौंको त्यो शान्त कोठामा श्रीमान्को कुरुवा बसिरहँदा रत्नाको मन भने अछामका उकाली–ओराली र त्यहाँका भूइँतहका मानिसका समस्यामै अल्झिरहन्थ्यो । टेलिभिजनमा रवि लामिछानेले चलाउने ‘सिधा कुरा जनतासँग’ कार्यक्रम उनको नियमित सहारा बन्यो । अछाममा आफूले भोगेका अभाव, स्वास्थ्य सेवाको सास्ती र प्रशासनिक झमेला लामिछानेले पर्दामा उठाएको देख्दा उनलाई लाग्थ्यो,‘कसैले त हाम्रो आवाज बोलिरहेको छ ।’

लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन भएको खबरले उनको मनमा एउटा नयाँ आशाको दियो बाल्यो । दशकौंदेखि घरभित्रै सीमित भएकी रत्नालाई त्यो नयाँ अभियानमा जोडिने तीव्र इच्छा त भयो, तर पहुँच र माध्यम फेला पार्न सकिनन् । उनी लामो समयसम्म रास्वपाको मौन समर्थक बनेर मात्रै बसिन् । अन्ततः उनले आफ्नो मनको कुरा छिमेकी भाई तथा रास्वपा अछाम क्षेत्र नम्बर २ का सभापति जीवन तिमिल्सैनालाई सुनाइन् ।

तिमिल्सैनाले नै उनलाई पार्टीको मूलधारसँग जोड्ने पुलको काम गरिदिए । दशकौंदेखि बन्द कोठा र पारिवारिक चौघेरामा थुनिएको उनको रहर र क्षमताले त्यसपछि मात्र खुल्ला आकाश पायो । ‘मैले वर्षाौसम्म आफूलाई कोठाभित्र सीमित राखें, तर मेरो चेतना कहिल्यै थुनिएन । जब रास्वपा र रवि लामिछानेको विचारसाग जोडिने मौका पाए,’ उनले आफ्नो राजनीतिक यात्राबारे भनिन्, ‘मलाई लाग्यो, अब मेरा ती अधुरा आत्मकथा संसद्को रोस्टममा उभिएर सुनाउने बेला आएको छ । पार्टीमा मात्र जोडिएकी होइन, आफ्नै दबिएका सपनासँग पुनः जोडिएकी हुँ ।’

पार्टीमा सक्रिय भएपछि पिछडिएको क्षेत्र र महिला कोटाबाट अछामबाट उनको नाम समानुपातिक सांसदका लागि सिफारिस भयो । अन्ततः, संघर्षको लामो श्रृखंला पार गर्दै उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट संघीय सांसदको रूपमा चुनिन सफल भइन् । ‘म जुन माटोमा जन्मिएँ र जहाँका उकाली–ओरालीमा संघर्ष गरेँ, अब संसदमा त्यही माटोका दबिएका आवाज बोल्नेछु,’ उनी भन्छिन्, ‘अछाम जस्ता विकट क्षेत्रका महिलाका लागि कस्तो कानुन चाहिन्छ, त्यसका लागि मेरो प्रयास हुनेछ । म संख्या पुर्‍याउन मात्र होइन, परिवर्तनको संवाहक बन्न संसद् जाँदैछु ।’

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully