हरिना कामीः सामाजिक विभेद चिर्दै संसदको यात्रा

डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा अभाव, सामाजिक बन्धन, विभेदबीच हुर्किएकी ३७ वर्षीया हरिना कामी घाँसदाउरा, मेलापात र खेतीपाती भ्याउँदै सामाज परिवर्तनको अभियानमा संलग्न रहेर कांग्रेसबाट प्रतिनिधिसभामा पुगेकी छन्।

चैत्र ६, २०८२

तर्कराज भट्ट

Harina Kami: Journey to Parliament breaking social divide

What you should know

डडेल्धुरा — नेपाली कांग्रेसले दलित क्लस्टरबाट समानुपातिक सूचीमा पहिलो नम्बरमा सिफारिस गरेकी डडेल्धुराकी हरिना कामी प्रतिनिधिसभा सदस्य बनेकी छन् । सामान्य परिवार, साधारण परिवेश र संघर्षपूर्ण जीवनयात्राबाट अघि बढ्दै ३७ वर्षीया कामीको संसद यात्रा सामाजिक रूपान्तरणको एक उदाहरण हो ।

डडेल्धुराको भित्री मधेश क्षेत्र परशुराम नगरपालिका–१२ तुलाभाडीमा कर्मघर बनाएकी कामीको जन्म गन्यापधुरा गाउँपालिकामा भएको हो । बाल्यकाल सामान्य ग्रामीण परिवेशमै बित्यो । सीमित स्रोतसाधन, सामाजिक बन्धन, विभेद र अवसरको अभावबीच हुर्किएकी उनी त्यतिबेलाको समाजको प्रतिनिधि पात्र थिइन्, जहाँ छोरीहरूलाई धेरै पढाउनु आवश्यक ठानिदैनथ्यो र सानै उमेरमा विवाह गरिदिने चलन व्यापक थियो ।

यस्तै सामाजिक संरचनाबीच उनले कक्षा १० सम्मको अध्ययन पूरा गरिन् । औपचारिक शिक्षाको यात्रा त्यहीँ रोकियो, तर सिक्ने र केही गर्ने चाहना भने रोकिएन । विवाहपछि उनी तुलाभाडी आइन् र त्यहीँबाट उनको जीवनले नयाँ मोड लियो । विवाहपछिको जीवन सामान्य ग्रामीण महिलाझैं घाँसदाउरा, मेलापात र खेतीपातीमै बित्यो । २०६४ देखि २०६८ सालसम्म उनी गाउँमै रहेर घरधन्दा र कृषि कर्ममा व्यस्त रहिन् । तर यही बीचमा उनले समाजभित्रका असमानता, विशेषगरी दलित, महिला र किसानको अवस्था नजिकबाट देखिन् । समाजका लागि ‘केही गर्नुपर्छ’ भन्ने सोच त्यतिबेलै पलाएको उनी बताउँछिन् ।

उनको सामाजिक सक्रियता महिला समूहबाट सुरु भयो । गाउँका महिला, आमा समूह र किसानहरूलाई एकत्रित गर्दै उनले सामूहिक कामको अभ्यास सुरु गरिन् । विशेषगरी कृषि समूह गठन गरेर महिलाहरूलाई आत्मनिर्भर बनाउने अभियानमा लागिन् । तुलाभाडी क्षेत्रमा उनले गाई, भैंसी र बाख्रापालनसँगै डेरी व्यवसायको अवधारणा अघि बढाइन् । समूहमार्फत दूध उत्पादन संकलन गरी बजारसम्म पुर्‍याउने काम सुरु भयो । आत्मनिर्भर हुन नसकेका स्थानीय महिला आफ्नै कमाइबाट परिवार धान्न सक्ने अवस्थामा पुगे । स्थानीय उत्पादन धनगढीसम्म पुग्न थालेपछि किसानहरूमा आत्मविश्वास बढ्यो । आर्थिक रूपमा सबल बन्न थालेपछि सामाजिक हैसियत पनि क्रमशः परिवर्तन हुन थाल्यो ।

समाज परिवर्तनका लागि सामाजिक कर्मले मात्र पुग्दैन, नीति निर्माण तहमा पुग्नुपर्छ भन्ने अनुभवले कामीलाई अझ ठूलो सोचतर्फ डोर्‍यायो । तर राजनीतिमा लाग्ने सोच सुरुमा थिएन । समुदायमा काम गर्दै जाँदा राजनीति अपरिहार्य जस्तो लाग्न थालेको उनी बताउँछिन्।

राजनीतिक यात्राको पहिलो उपलब्धि भने २०७४ को स्थानीय तह निर्वाचन बन्यो । परशुराम नगरपालिका–१२ बाट वडा सदस्यमा निर्वाचित भइन् । त्यससँगै उनी कार्यपालिका सदस्यसमेत बनिन् । उनले दलित, महिला र किसानको उत्थानलाई प्राथमिकतामा राखिन् । स्थानीय सरकारबाट उपलब्ध स्रोत र साधनलाई यिनै वर्गतर्फ केन्द्रित गर्न उनले पहल गरिन् । उनको कार्यकालमा गाउँमा कृषि, पशुफालन र महिला सशक्तीकरणका कार्यक्रम पनि भए । 

सुरुमा राजनीति गर्न घरपरिवारबाट अपेक्षित सहयोग नपाएको उनी बताउँछिन् । समाजमा महिलाले घरबाहिर निस्केर राजनीति गर्नु सहज थिएन । सामाजिक काम र जनसेवामा उनको सक्रियता देखेपछि परिवार र आफन्तको साथ बढ्दै गयो । अहिले भने उनीहरू नै उनको सबैभन्दा ठूलो शक्ति बनेका छन् । समाज पनि परिवर्तन हुँदै गएको उनी अनुभव गर्छिन् । ‘पहिले महिलाले धेरै पढ्नु हुँदैन, घरमै बस्नुपर्छ भन्ने सोच थियो,’ उनी भन्छिन्, ‘तर अहिले त्यो सोच क्रमशः बदलिँदै गएको छ ।’ उनको आफ्नै जीवन पनि त्यस परिवर्तनको उदाहरण हो । 

२०७९ सालको स्थानीय तह निर्वाचनमा उनी पुनः वडा सदस्यका लागि उम्मेदवार बनिन् । त्यसपटक भने उनी चार मतले पराजित भइन् । त्यो हारलाई उनले अनुभवका रूपमा लिएर सामाजिक र राजनीतिक सक्रियता निरन्तर राखिन् ।

यसैबीच कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेकी उनी, जेन्जी आन्दोलनपछि पुनर्गठित राजनीतिक सन्दर्भमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि डडेल्धुराबाट समानुपातिकतर्फ दलित क्लस्टरमा पहिलो नम्बरमा सिफारिस भइन् । अन्ततः उनी प्रतिनिधिसभा सदस्य बन्न सफल भइन् । उनले यो सफलतालाई व्यक्तिगत उपलब्धि मात्रै नभई जनताको विश्वासको परिणाम भएको बताएकी छिन् । ‘अब मेरो जिम्मेवारी अझ ठूलो भएको छ,’ उनी भन्छिन्,‘म संसदमा दलित, आदिवासी जनजाति, महिला, युवा र पछाडि परेका सबै वर्गको आवाज उठाउनेछु ।’

प्रतिपक्षमा रहे पनि जनताको आवाज उठाउने आफ्नो दायित्वबाट पछि नहट्ने उनको अठोट छ । आवाजविहीनको आवाजका रुपमा आफुलाई प्रस्तुत गर्ने उनले बताइन् । सामान्य ग्रामीण परिवेशबाट उठेर संसदसम्म पुगेकी कामीको यात्रा सहज थिएन । सीमित शिक्षा, आर्थिक अभाव, सामाजिक विभेद यी सबै चुनौती पार गर्दै उनी यहाँसम्म आइपुगेकी हुन् । तर उनले जीवनमा कहिल्यै हार मानिनन् । अब उनले दलित, महिला र किसानहरूको अधिकार सुनिश्चित गर्न, आर्थिक रूपमा सशक्त बनाउन र सामाजिक न्याय स्थापना गर्न संसदभित्र आवाज उठाउने बताएकी छन् ।

तर्कराज

Link copied successfully