सामज परिवर्तनको हुटहुटीले स्थापित राजनीतिक दल अदलबदल गर्दै बुटवल उपमहानगरपालिका–११ की ५० वर्षीय मञ्जु ज्ञवाली भुसाल बिहीबारदेखि रास्वपाको समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेकी छन् ।
What you should know
बुटवल — सानैदेखिको राजनीतिक चेत, दर्जन बढी संघसंस्थामा सक्रिय आबद्धता र सामाजिक पृष्ठभूमिले मञ्जु ज्ञवाली भुसाललाई देशको नीति निर्माण तहमा पुर्याएको छ ।
सामज परिवर्तनको हुटहुटीले स्थापित राजनीतिक दल अदलबदल गर्दै बुटवल उपमहानगरपालिका–११ की ५० वर्षीय मञ्जु ज्ञवाली भुसाल बिहीबारदेखि रास्वपाको समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेकी छन् ।
२०३२ सालमा अर्घाखाँचीको साविकको चिदिका गाविस–४ मा जन्मिएकी भुसालका हजुरबुबा मनबहादुर ज्ञवाली २०२२ सालअघि नै अञ्चलाधीश बनेका थिए । दुई हजुरआमा गितादेवी ज्ञवाली २०२२ सालमा गुल्मीको दौंघा गाविसको प्रधानपञ्च र अर्की हजुरआमा हिरादेवी ज्ञवाली अर्घाखाँचीको चिदिका गाविसकी प्रधानपञ्च भएकी थिइन् । बाबु मेघनाथ ज्ञवाली २०४६ अघि उपप्रधानपञ्च र बहुदल आएपछि गाविसको उपाध्यक्ष भएका थिए । त्यही पृष्ठभूमिले मञ्जुलाई राजनीतिमा जोडेको थियो ।
हजुरआमाहरुकै प्रेरणाले राजनीतिमा जोडिएकी मञ्जुले भने बहुदल आएपछि विद्यार्थी जीवनमै नेविसंघ रोजिन् । अर्घाखाँचीका तत्कालीन विद्यार्थी नेता सोमा कुमालको हात समातेर राजनीतिमा जोडिएकी उनले २०५१ सालमा नेविसंघको सदस्यता लिएकी थिइन् । तरुण दल, कांग्रेसको गाउँ सचिव भएकी उनी २०५९/२०६० सालतिर भने कम्युनिष्ट बनिन् ।
जनयुद्धको प्रभाव बढिरहेका बेला पारिवारिक पृष्ठभूमिका बुटवलका माओवादी नेता भक्ति पाण्डेको सम्पर्कले उनी माओवादी बनिन् । २०७४ मा माओवादी र एमालेको एकतापछि उनी नेकपाबाट एमाले बनिन् । २०८२ भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि एमाले छोडेकी उनले दुई महिनाअघि रास्वपा प्रवेश गरेर समानुपातिक सांसदको अवसर पाएकी हुन् ।
राजनीतिकसँगै मञ्जुको पृष्ठभूमि सामाजिक अभियन्ता र दर्जनौं सघंसंस्थाको नेतृत्वदायी भूमिका पनि जोडिएको छ । ११ वर्षको उमेरदेखि नै राष्ट्रियताका विषयमा जान्ने र बुझ्न खोज्ने उनको स्वभाव थियो । बाल्यकालदेखि नै नेतृत्व र सामाजिक उत्तरदायित्वको चेतना विकास गर्दै गएकी मञ्जु राजनीतिलाई सेवा र आम्दानीको लागि पेशा व्यवसायी गर्नुपर्छ भन्ने धारणा राख्छिन् ।
आफ्नो परिवारमा हजुरआमा र बाबुले राजनीति गर्दा नै धेरै धन सम्पत्ति र बहुमुल्य गहना सिध्याएकाले आफुले राजनीति र पेशालाई सँगसँगै अघि बढाइरहेको उनले बताइन् । समाजलाई सकारात्मक दिशा दिने, समस्याको समाधान खोज्ने र सर्वसम्मत निर्णय लिन सक्ने क्षमता उनीसँग देखिन्छ ।
मञ्जु सक्रिय सामाजिक अभियन्ता पनि हुन् । अर्घाखाँचीमा जन्मिए पनि रूपन्देहीलाई कर्मथलो बनाएर व्यवसाय गरिरहेकी उनी देशका ७७ जिल्ला मध्ये निर्माण व्यवसायी संघको जिल्ला अध्यक्ष बन्ने एक मात्र महिला हुन् । निर्माण व्यवसायी महासंघको पूर्वकेन्द्रीय सदस्य, लुम्बिनी प्रदेश पूर्वउपाध्यक्ष पनि हुन् । जेसिज २०१६ को महिला अध्यक्ष, २०१७ को राष्ट्रिय कोओर्डिनेटरदेखि घरेलु तथा साना उद्योग महासंघकी महिला जिल्ला सभापति, चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश सदस्य र पश्चिम नेपाल ट्रक व्यवसायी समिति पूर्व सल्लाहकारसमेत भएकी मञ्जुले शिक्षामा १२ कक्षासम्मको अध्ययन गरेकी छन् ।
श्रीमान् नारायणप्रसाद भुसालको साथ, सहयोगले राजनीतिक नेतृत्वको नीति निर्माण तहमा पुग्न सफल भएको बताउने भुसालले प्रतिनिधिसभामा सुकुम्बासी समस्या समाधानका लागि प्राथमिकताका साथ ध्यान दिने, जेनजीका सपना पूरा गर्ने, रूपन्देही, गुल्मी र अर्घाखाँचीका निर्माण क्षेत्रका समस्या, विकासका पूर्वाधार, रोजगारी स्थापना, उद्योग क्षेत्रको विकासका लागि काम गर्ने संकल्प गरेकी छन् । ‘मुख्ययतः जेनजीका सपना पूरा गर्ने पहिलो जिम्मेवारी हो,’ उनले भनिन्, ‘आर्थिक नियमितता, भ्रष्टाचारको नियन्त्रण गर्ने, रोजगारी स्थापना गर्ने र सेवा प्रवाहमा देखिएका समस्या समाधान गर्ने मेरो संकल्प छ ।’
राजनीतिलाई आम्दानीको स्रोत हैन्, सेवा गर्ने माध्यम हो भन्ने सोचको विकास गर्न पनि आफुले सक्दो प्रयास गर्ने उनले बताइन् ।
