दन्त चिकित्सक अंकिता अब संसद्‍मा

ठाकुर मधेशी महिलाको प्रतिनिधित्व गर्दै संसद्‍मा पुगेकी हुन् । यसलाई आफूले व्यक्तिगत उपलब्धि मात्र नभई मधेशका महिलाको आवाज संसद‍्सम्म पुर्‍याउने अवसरका रूपमा लिएको उनले बताइन् ।

चैत्र ५, २०८२

प्रकृति दाहाल

Dentist Ankita now in Parliament

What you should know

काठमाडौँ — बिरामीको दाँत जाँच्दै आएकी डा. अंकिता ठाकुर अब फरक जिम्मेवारी बोकेर अघि बढ्ने भएकी छन् । चार वर्षदेखि दन्त चिकित्सकका रूपमा सेवा दिँदै आएकी उनी अहिले देशको नीति निर्माण गर्ने थलो संसद्‍मा पुगेकी छन् । ललितपुरस्थित नोभा डेन्टल एन्ड एस्थेटिक क्लिनिककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अंकिताको काम सीमित कोठाभित्र हुन्थ्यो, जहाँ बिरामी आउँथे, समस्या सुनाउँथे र उनी उपचार गराएर फर्काउँथिन् । 

मधेशी महिला क्लस्टरबाट उनी रास्वपाको समानुपातिक सूचीमा परेर संसद् पुगेसँगै उनको दायरा पनि फराकिलो भएको छ । राजनीति र चिकित्सक फरक पाटो रहेको उनको अनुभव छ । राजनीतिको फरक अनुभव सुनाउँदै उनले भनिन्, ‘डाक्टर हुनु भनेको एउटा कोठामा बसेर बिरामी हेर्नु हो, जसको दायरा सानो र सीमित हुन्छ । राजनीति भनेको फराकिलो क्षेत्र रहेछ, जहाँ सम्पूर्ण जनताको दैनिकीसँग जोडिएका विषयमा काम गर्नुपर्ने हुन्छ ।’

उनी सांसद बन्नुअघि कुनै पनि राजनीतिक दलसँग आबद्ध थिइनन् । उनले ‘फ्रेन्ड्स अफ जू’ नामक समूहको अध्यक्ष भएर करिब ६ वर्ष काम गरिन् । यस अवधिमा उनले विभिन्न सामाजिक गतिविधिको नेतृत्व गरिन् । रक्तदान कार्यक्रम आयोजना गर्ने, सरसफाइ अभियान सञ्चालन गर्ने, वातावरण संरक्षणका लागि जनचेतना फैलाउने जस्ता काममा उनी निरन्तर सक्रिय रहिन् । यी गतिविधिले उनलाई समाजका विभिन्न पक्षसँग नजिकबाट जोड्ने अवसर दिएको उनले बताइन् । 

युवाहरू राजनीतिमा आउनुपर्छ, विशेष गरी मधेशका महिलाहरूले नेतृत्व लिनुपर्छ भन्ने सोचले आफूलाई राजनीतिमा आउन प्रेरित गरेको उनले बताइन् । ‘देश बनाउन सबैले जिम्मेवारी लिनुपर्छ । यसमा पनि खास गरी युवा र महिला अगाडि आउनु आवश्यक छ भन्ने लागेर राजनीतिमा आएँ,’ उनले भनिन् । 

ठाकुर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पछिल्लो दुई वर्षदेखि अनौपचारिक रूपमा जोडिएकी थिइन् । रास्वपा पार्टी अन्य दलभन्दा फरक सोच र दृष्टिकोण भएको पार्टी लागेकाले आकर्षण बढेको उनले बताइन् । रास्वपा पार्टीमार्फत राजनीति गर्नुको कारण खुलाउँदै उनले भनिन्, ‘भ्रष्टाचारविरुद्ध युवाहरूले केही गर्नुपर्छ भन्ने स्पष्ट एजेन्डा भएको पार्टी भएकाले म त्यसतर्फ आकर्षित भएँ । अन्य दलका बाचापत्र, सोच र नेतृत्वशैलीभन्दा रास्वपा फरक देखिएकाले यही पार्टीबाट अघि बढ्ने सोच बनाएकी हुँ ।’

रास्वपा समावेशी चरित्र बोकेको पार्टी रहेको पनि उनले बताइन् । ‘यहाँ विभिन्न क्षेत्रका पेसागत व्यक्तिहरू छन् । डाक्टर, इन्जिनियर, शिक्षक, व्यवसायी सबै क्षेत्रका मानिस यहाँ अटाएका छन् । उनीहरूको शिक्षा र दक्षताले देश विकासमा सहयोग पुग्छ भन्ने लागेको छ,’ उनले अगाडि भनिन् । 

ठाकुर मधेशी महिलाको प्रतिनिधित्व गर्दै संसद्‍मा पुगेकी हुन् । यसलाई आफूले व्यक्तिगत उपलब्धि मात्र नभई मधेशका महिलाको आवाज संसद‍्सम्म पुर्‍याउने अवसरका रूपमा लिएको उनले बताइन् । ‘मधेशका महिलाहरू अझै पनि धेरै क्षेत्रमा पछाडि छन्, तिनीहरूको आवाज बुलन्द गर्न उनीहरूकै प्रतिनिधित्व गर्न आएकी हुँ,’ उनले भनिन् । 

उनले मधेश क्षेत्रका महिलाहरूले भोगिरहेका समस्या नजिकबाट देखेकी छन् । शिक्षा, स्वास्थ्य, आर्थिक अवसर र सामाजिक संरचनाका कारण उनीहरू अझै पनि पछि परेको उनको बुझाइ छ । अधिकारका बारेमा पूर्ण जानकारी नपाएको अवस्था रहेको उनले सुनाइन् । संसद्‍मा पुगेपछि उनले मधेशका महिलाहरूका मुद्दालाई प्राथमिकताका साथ उठाउने योजना बनाएकी छन् । मधेशी महिलाको प्रतिनिधित्व संसद्‍मा गर्ने बताउँदै उनले भनिन्, ‘मधेशका महिलाको आवाज बनेर संसद्‍मा बोल्न चाहन्छु । समस्याहरूलाई अगाडि ल्याएर कानुन निर्माण प्रक्रियामा जोड दिन मन छ ।’ 

उनको अर्को लक्ष्य नीति निर्माण र सुधार परिवर्तन गर्ने रहेको छ । संसद्‍मा पुगेपछि विद्यमान नीति तथा नियममा भएका त्रुटिहरू पहिचान गरेर सुधार गर्ने योजना बनाएकी छन् । नयाँ कानुन बनाउने मात्र नभई भएका कानुनलाई पनि प्रभावकारी बनाउने आफ्नो उद्देश्य रहेको उनले बताइन् ।

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully