समानुपातिक व्यवस्थामार्फत पार्टीले उनलाई पनि सांसदको रुपमा चुन्यो । जसले उनलाई थप उत्साहित बनाएको छ ।
विराटनगर — लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएकी झापा विर्तामोड–९ गरामनीकी कांग्रेस नेतृ सुशीला ढकाल आचार्यको काँधमा नयाँ जिम्मेवारी आयो । समानुपातिक व्यवस्थामार्फत पार्टीले उनलाई पनि सांसदको रुपमा चुन्यो । जसले उनलाई थप उत्साहित बनाएको छ ।
खासमा सुशीलाले कहिल्यै पदको लोभ गरिनन् । उनले चाहेको भए पहिल्यै उनी सांसद भन्न सक्ने थिइन् । तर, उनले पदलाई प्राथमिकतामा राखिनन् । बरु राजनीतिलाई सेवा भावको रुपमा निरन्तर तपस्या गरिरहिन् । ‘राजनीतिलाई मैले कहिल्यै लाभको रुपमा लिइनँ’, ढकालले भनिन्,‘राजनीति मेरा लागि सधैं सेवाको रुपमा रह्यो ।’
लामो समयपछि ढकाल सांसद बनेपछि कांग्रेसीजनले यसलाई ठूलो उपलब्धिको रुपमा ठाने । तर, उनले यसलाई दशकौंको समर्पण, त्याग र अविचलित प्रतिबद्धताको परिणामको रुपमा लिएकी छन् ।
२०१८ सालताका पहाडी जिल्ला भोजपुर जन्मिएकी उनको बाल्यकाल सामान्य ग्रामीण परिवेशमै बित्यो । ऊ बेला धेरै महिलाहरु स्कुल जान पाउँदैनथे । तर, उनले स्कुल पढ्न पाइन् । उनको सोच र रुची भने सानैदेखि फरक थियो । विद्यालय जीवनमै उनले राजनीतिप्रति चासो देखाउन थालिन् । त्यतिबेला देशमा पञ्चायती व्यवस्था थियो, जसले नागरिक स्वतन्त्रता र लोकतान्त्रिक अधिकारलाई सीमित बनाएको थियो । त्यही परिवेशमा हुर्किएकी सुशीलाले अन्याय र दमनविरुद्ध आवाज उठाउन सिकिन् ।
खासगरी पञ्चायतविरुद्ध चर्का नारा उराल्न उनले भोजपुरमै सिकेकी थिइन् । जतिबेला उनी किशोर अवस्थामा थिइन् । विश्वप्रेमी हाईस्कुलबाट प्रारम्भिक शिक्षा हासिल गरेपछि उनले भोजपुरकै विद्योदय माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरिन् । विद्यार्थी जीवनमै उनी पञ्चायतविरुद्ध र बहुदलको पक्षमा सक्रिय भइन् । २०३६ सालको जनमतसंग्रहको समयमा उनी आन्दोलनमा संलग्न भएकै कारण प्रहरीले धरपकड नै गर्यो । त्यो समय उनका लागि चुनौतीपूर्ण थियो, तर त्यही संघर्षको जगमा टेकेर उनले राजनीतिक यात्रालाई अझ स्पष्ट दिशा तय गरिन् ।
एसएलसीपछि उनको परिवार झापा बसाइँ सरेपछि उनको जीवनमा नयाँ मोड आयो । भद्रपुरस्थित मेची क्याम्पसमा आईए अध्ययनका लागि भर्ना भएपछि उनले विद्यार्थी राजनीतिमा अझ सक्रियता बढाइन् । त्यही समयबाट उनको राजनीतिक पहिचान विस्तार बढ्न थाल्यो । उनले त्यही मेसोमा बुझिन्, ‘राजनीति सत्ताका लागि मात्रै होइन, समाज परिवर्तनका लागि पनि रहेछ ।’
उनको राजनीतिक यात्रामा विभिन्न संगठनहरूको महत्त्वपूर्ण भूमिका रह्यो । नेपाल विद्यार्थी संघ, तरुण दल हुँदै महिला संघसम्म आइपुग्दा उनी पार्टीभित्र एक सक्षम, सक्रिय र विश्वासिलो नेतृका रूपमा स्थापित भइन् । विशेषगरी महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा उनले उल्लेखनीय काम गरिन् । महिला संघ झापाको सभापति भएर उनले दुई दशक बिताइन् ।
उनको नेतृत्वमा महिला संघले जिल्लामा महिला अधिकार, समानता र सहभागिताका विषयमा विभिन्न अभियान सञ्चालन गर्यो । उनले महिलाहरूलाई संगठनमा सहभागी गराउने मात्र होइन, उनीहरूको नेतृत्व क्षमता विकास गर्ने कामलाई सधैं प्राथमिकतामा राखिन् ।
राजनीतिमा सफलता सधैं सहज हुँदैन । १२औं महाधिवेशनमा उनले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिइन् तर पराजय भोग्नुपर्यो । यद्यपि, उनले हारलाई अन्त्य होइन, नयाँ सुरुवातका रूपमा लिइन् । निरन्तर सक्रियता र योगदानका कारण १४औं महाधिवेशनमा भने उनले केन्द्रीय सदस्यमा विजयको झन्डा फरफराइन् । ‘त्यो सफलता मेरो धैर्य र दृढताको प्रतीक थियो’, उनी भन्छिन् ।
सुशीलाको राजनीतिक जीवनमा जनआन्दोलनहरूले पनि विशेष स्थान ओगटेका छन् । २०४६ सालको जनआन्दोलनमा उनी सक्रिय सहभागी बनिन्, जसले नेपालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना गर्यो । त्यसैगरी २०६२/०६३ को दोस्रो जनआन्दोलनमा त उनी अग्रपंक्तिमा रहेर भूमिका निभाइन् । यस क्रममा उनी केही समय प्रहरी हिरासतमा समेत रहनुपर्यो ।
उनले द्वन्द्वका समयमा व्यक्तिगत क्षति पनि व्यहोर्नु पर्यो । उनको घरमा नकाबधारी समूहले लुटपाट गर्यो । आजसम्म पनि त्यस घटनाको सत्य बाहिर आएको छैन । तर, यस्तो घटनाले उनको मनोबल कमजोर पार्न सकेन । बरु अझ दृढ भएर समाज र राष्ट्रका लागि काम गर्ने साहस जुट्यो ।
उनको राजनीतिक दर्शन सधैं स्पष्ट रह्यो । उनलाई लाग्छ, ‘राजनीति सेवा हो, लाभको माध्यम होइन ।’ यही विचारले उनलाई सधैं प्रेरित गर्यो । उनले कहिल्यै पद वा व्यक्तिगत लाभका लागि राजनीति नगरेको दावी गर्छिन् । बरु, समाजका लागि योगदान दिने उद्देश्यले निरन्तर सक्रिय रहिन् ।
लामो समयसम्म अवसर नपाउँदा पनि उनी निराशा भइनन् । ‘अवसरबाट वञ्चित हुँदा पनि म कहिल्यै असन्तुष्ट भइनँ’, उनी भन्छिन्, ‘किनभने मैले राजनीति लाभका लागि होइन, सेवाका लागि गरेकी हुँ ।’ यही सोचका कारण उनी कांग्रेस नेतृको रुपमा अरूभन्दा भिन्न पहिचान बनाउन सफल भइन् ।
पछिल्लो समयसम्म पनि उनी पार्टी राजनीतिमा सक्रिय रहँदै महिला अधिकार, सामाजिक न्याय र समावेशीताका मुद्दामा निरन्तर आवाज उठाइरहेकी थिइन् । अन्ततः उनको लामो संघर्ष र योगदानको कदर गर्दै समानुपातिक सूचीमार्फत सांसद बन्ने अवसरको ढोका खुल्यो । ‘विशेष परिस्थितिमा पाएको यो अवसरलाई पूर्ण सदुपयोग गर्नेछु’, भन्छिन्,‘महिला हक र अधिकारका क्षेत्रमा सदनमा कुरा उठाउने छु ।’
