दलित महिला अभियन्ता पवित्रा विक संसद्‌ यात्रामा

२०६१ सालपछि कांग्रेसको भातृ संगठन नेपाल महिला संघ मकवानपुरको कोषाध्यक्ष जिम्मेवारी वहन गरिसकेकी पवित्रा नेपाल दलित संघको केन्द्रीय सदस्यसमेत बनिसकेकी छन्

चैत्र ५, २०८२

प्रताप विष्ट

Dalit female activist Pavitra BK on a journey to Parliament

What you should know

हेटौंडा — दुई दशकदेखि जातीय विभेदविरूद्ध लड्दै आएकी हेटौंडा उपमहानगरपालिका–२ की पवित्रा विश्वकर्मा (विक)लाई कांग्रेसले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनाएको छ । उनले बिहीबार प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फबाट निर्वाचित भएको प्रमाणपत्र बुझेकी छन् ।

दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा समानुपातिकतर्फबाट प्रनितिधिसभा सदस्य बन्ने शौभाग्य उनले मात्र पाएकी छन् । ५ जेठ २०३४ मा दाङको तत्कालिन हलुवार गाविस–१ मा जन्मेकी पवित्राको ८ कक्षा पढ्दै गर्दा १४ वर्षकै उमेर मागी विवाह भएको थियो ।

विवाहपश्चात पनि उनले पढाईलाई निरन्तरता दिइन् । उनले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । विवाहपश्चात विक दम्पती २०४८ सालमा काठमाडौं गएर एक वर्षपछि फेरि हेटौंडा आएका हुन् । 

हेटौंडामा अहिले उनको स्थायी बसोबास छ । दलित महिला संघ (फेडो)मा २०५८ सालदेखि निरन्तर सक्रिय रहँदै आएकी पवित्रा २०६१ सालमा फेडो मकवानपुरको अध्यक्ष बनिन् ।

जातीय विभेदविरुद्ध र दलित महिलाहरूको घाउमा मलमपट्टी लगाउँदै दलित महिला अभियन्ता बनिन् । फेडो बागमती प्रदेशको अध्यक्षको जिम्मेवारीसमेत वहन गरेकी विकसँग समावेशी महिलाहरूको सन्जाल संकल्पको अध्यक्ष बन्दाका अनुभव समेत छ ।

२०६१ सालपछि कांग्रेसको भातृ संगठन नेपाल महिला संघ मकवानपुरको कोषाध्यक्ष जिम्मेवारी वहन गरिसकेकी पवित्रा नेपाल दलित संघको केन्द्रीय सदस्यसमेत बनिसकेकी छन् । उनी कांग्रेसको १४औं महाधिवेशनको महासमिति सदस्यको रुपमा निर्वाचित भएकी थिइन् । विक यसअघि २०७४ को निर्वाचन पनि समानुपातिकतर्फको उम्मेदवार बनेकी थिइन् । ४८ वर्षीया विक त्यो बेला प्रतिनिधिसभाको सदस्य बन्ने अवसर पाइनन् । 

आफू दलित क्लस्टरबाट सांसद चुनिएको र सोही कारण दबिएका आवाजहरू बुलन्द गर्ने सोचाइ राखेको उनले सुनाइन् । कानुनको ठेलीमा मात्र होइन जातीय विभेदको अन्त्य व्यवहारमा नै उतार्नका लागि आफ्नोतर्फबाट अझ शसक्त रुपले पहलकदमी लिने बताइन् ।

बालविवाह भएको विगतको पीडालाई स्मरण गर्दै उनले भनिन्, ‘बालविवाह अझै पनि हाम्रो समाजमा व्याप्त छ । त्यसमा पनि दलित र आदिवासी जनजाति समुदायमा अधिक छ । यसलाई न्यूनिकरण गर्न आफ्नोतर्फबाट सक्दो प्रयास गर्नेछु ।’

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully