२०७० मा समानुपातिकबाटै दोस्रो संविधानसभा सदस्य निर्वाचित भएका कृपाराम रानालाई यसपटक पनि एमालेले समानुपातिकबाटै प्रतिनिधिसभा सदस्य बनाएको हो ।
What you should know
कञ्चनपुर — पश्चिम नेपालको कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको रानाथारु समुदायबाट दोस्रो पटक संसदीय यात्रामा पुगेका छन्, कृपाराम राना । थारु समुदाय भित्रैकै एउटा जातिका रुपमा चिनिने यो समुदायको आफ्नै मौलिक रहनसहन र भेषभुषा छ । कृषिमा निर्भर यो समुदायबाट प्रतिनिधिसभा सदस्य बन्ने कृपाराम राना एक्ला हुन् । उनी नेकपा एमालेबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य भएका हुन् ।
शिक्षण पेशाबाट राजनीतिमा आएका रानाको संसदमा यो दोस्रो 'ईनिङ्स' हो । २०७० मा दोस्रो संविधानसभा सदस्यमा पनि समानुपातिकबाटै निर्वाचित भएका राना यसपटक पनि समानुपातिकबाटै निर्वाचित भएका हुन् ।
कञ्चनपुरको बेदकोट नगरपालिका–२ जडेपानीमा सामान्य परिवारमा जन्मिएका राना १३ वर्ष शिक्षण पेशामा संलग्न रहे । आफैले ७ कक्षासम्म अध्ययन गरेको बैजनाथ माविमा उनले २०५३ देखि २०७० सम्म अध्यापन गरे। स्नातकोत्तरसम्म अध्ययन गरेका उनको परिवार कृषि पेशामै निर्भर थियो । इण्टरपास भएपछि कृषिसँगै उनले अध्यापनको काम थालेका हुन् ।
राना भलमन्सा परिवारका सदस्य पनि हुन् । बुवा शालिकराम राना र बाजे दयाराम रानाले वर्षौं भलमन्साको काम गरे । अहिले भने बुवा बृद्ध भएपछि भलमन्साको काम अर्को परिवारमा गएको छ । उनको परिवारले सय वर्ष भन्दा बढी भलमन्साको जिम्मेवारी निर्वाह गरेको थियो । ‘सामान्य कृषि परिवारमै जन्मिएकाले पठनपाठन पनि त्यति सहज थिएन,’ बाल्यकालका दिन सम्झिँदै रानाले भने, ‘आफैले अलि अलि आम्दानी गर्दै अध्ययन गरेको हुँ ।’ बुवाबाजेको भलमन्साको कामबाटै प्रभावित भएर उनी राजनीतिमा लागेका हुन् । ८ कक्षामा अध्ययन गरिरहेकै बेला अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका हुन् । अहिले एमालेका केन्द्रीय सदस्य समेत हुन् ।
सामाजिक क्षेत्रमा पनि विद्यालय व्यवस्थापन समितिदेखि रेडक्रस, सामुदायिक वनलगायत विभिन्न संघसंस्थाको नेतृत्व गरिसकेका छन् । उनी रानाथारु समाजको पूर्वकेन्द्रीय अध्यक्ष समेत हुन् । रानाथारुको भाषा सूचीकरणदेखि व्याकरण र शब्दकोष निर्माणमा पनि उनले नेतृत्व गरेका छन् । रानाथारु समुदायलाई सूचीकृत गर्नेदेखि कर्मचारी प्रशासन ऐनमा आरक्षणका लागि समेत उनले पहल गरेका थिए ।
एमालेमा पनि उनी शालिन नेताका रुपमा चिनिन्छन् । थारु समुदायको अधिकारका लागि उनी जहिल्यै अग्रस्थानमा देखिन्छन् । ‘रानाथारु सारु समुदायकै एउटा जाति हो,’ उनले भने, ‘दुवै पछाडि परेको समुदाय हो, यसको उत्थानका लागि धेरै काम गर्नुपर्नेछ ।’
२०७८ को जनगणना अनुसार रानाथारु समुदायको जनसंख्या १ लाख हाराहारी छ । तर वास्तविक जनसंख्या भने अझै बढी रहेको उनको दाबी छ । रानाथारु समाजको केन्द्रीय अध्यक्ष भएका बेला पनि उनले यो कुरा उठान गरेका थिए । कञ्चनपुरको बेदकोटसँगै शुक्लाफाँटा, लालझाडी, बेलडाँडीलगायतका स्थानीय तहमा रानाथारु समुदायको बसोबास छ । परम्परागत पहिरन, चाँडपर्व र खानपानले यो समुदाय चिनिन्छ । कृषि र पशुपालनमै रमाउने यो समुदाय शिक्षामा भने निकै पछाडि रहेको छ ।
