व्यक्तिगत संघर्ष, पारिवार जिम्मेवारी र जागिरको सीमित दायराभित्र बितिरहेको रुबीकुमारीको दिनचर्यामा करिब एक महिनाअघि अचानक मोड आयो जब उनले श्रम संकृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईलाई भेटिन् । उक्त भेटले उनलाई राईको समर्थक मात्र बनाएन, सक्रिय राजनीति र संघीय संसद्को सांसद्सम्म बनाएको छ ।
What you should know
धरान — धनुषाको एउटा सामान्य परिवारकी युवती रुबीकुमारी ठाकुरले कहिल्यै कल्पना गरेकी थिइनन् कुनै दिन संघीय संसद्सम्म पुगिएला भनेर । व्यक्तिगत संघर्ष, पारिवार जिम्मेवारी र जागिरको सीमित दायराभित्र बितिरहेको उनको दिनचर्यामा करिब एक महिनाअघि अचानक मोड आयो जब उनले श्रम संकृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईलाई भेटिन् । उक्त भेटले उनलाई राईको समर्थक मात्र बनाएन, सक्रिय राजनीति र संघीय संसद्को सांसद्सम्म बनाएको छ । आज उनी देशकै कान्छी सांसद्का रुपमा परिचित छिन् ।
२५ वर्षीया रुबीकुमारीको रानीतिक यात्रा परम्परागत राजनीतिक घरानाबाट सुरु भएको होइन । उनको यात्रा त धनुषा जिल्लाको मझेलियास्थित ठाकुर बस्तीको सानो टोलबाट सुरु भएको हो । यो उमेरसम्म उनको जीवनमा सहज परिस्थित कहिल्यै आएन । टोलमै हजम गरेर जिविकोपार्जन गर्दै आएको उनको परिवारमाथि सामाजिक विभेद त छँदै थियो । त्यसमाथि ४ बहिनी र २ भाइको अध्ययन पूरा गराउने जिम्मेवारी पनि थियो । ठूलो परिवार, सीमित आम्दानी र दैनिक आवश्यकता पूरा गर्नुपर्ने जिम्मेवारीले उनलाई बाल्यकालदेखि कठोर बन्न सिकायो ।
रुबीका बाबु सोगराथ ठाकुर अहिले रोजगारीका लागि साउदी अरबमा छन् । आमा रेणु ठाकुर गृहिणी हुन् । दुई बिघा जमिन अधियाँमा लिएर खेती गर्दै आएको उनको परिवारको आम्दानीको स्रोत बाबुले विदेशबाट पठाउने रकम र उनले कमाइ नै हो ।
उनले २०७४ सालमा स्थानीय विद्यालयबाट एसइई उतिर्ण गरिन् । त्यसपछि धनुषाकै बलरा पोलिटेक्निकबाट ३ वर्षे डिप्लो (इन्जिनियरिङ) अध्ययन पूरा गरिन् । पढाइ सकेपछि उनी वस्तु आर्किटेक्चर कन्सल्टेन्सीमा काम गर्न थालिन् । सांसद बन्नुअघिसम्म उनी त्यहीँ कार्यरत थिइन् । करिब ७ महिनासम्म उनले नक्सा बनाउने, टूडी र थ्रिडी डिजाइनजस्ता प्राविधिक काम गरिन् । जहाँ उनले मासिक २० हजार जति कमाउँथिन् ।
उनी भन्छिन्, ‘भाइबहिनी सबै पढ्दै हुनुहुन्छ, त्यसैले अलिकति खर्च राखेर बाँकी पैसा घरमा दिने गर्थे ।’ उनको सोच केवल व्यक्तिगत करियरमा सीमित थिएन । समाजमा देख्दै भोग्दै आएको भेदभावले सामाजमा केही गर्ने चाहना उनीभित्र गहिरोसँग बसेको थियो ।
राजनीतिमा आकस्मिक प्रवेदेखि संसद्सम्म
राजनीतिमा उनको प्रवेश योजनाबद्ध थिएन । सामाजिक सञ्जालमार्फत उनी हर्क साम्पाङका गतिविधिहरू नजिकबाट नियालिरहेकी थिइन् । उनले साम्पाङमा ‘काम गर्ने नेता’ को फरक छवि देखिन् । जब चुनावी अभियानका क्रममा हर्क साम्पाङ धनुषा पुगे, पहिलोपटक साम्पाङलाई भेट्न पुगिन् । पहिलो भेटमै उनले साम्पाङको भाषण अन्य नेताभन्दा फरक पाइन् । स्पष्ट दृष्टिकोण, कामप्रतिको प्रतिबद्धता र मिहिनेतले उनलाई प्रभावित बनायो ।
उनी भन्छिन्, ‘मैले उहाँका कामहरू सामाजिक सञ्जालमा हेरेकी थिए । उहाँको कुरा सुनेपछि पनि केही गर्न सकिन्छ भन्ने महसुस भयो ।’ यसपछि सक्रिय रूपमा चुनावी अभियानमा भाग लिन थालिन् । मतदातासँग प्रत्यक्ष संवाद गरिन् र धनुषा-४ मा प्रचारको एक प्रमुख अनुहारका रूपमा उभिइन् ।
यसैबीच, पार्टीले उनलाई मधेशी जनजाति क्लस्टरबाट समानुपातिक सांसदका रूपमा सिफारिस गर्ने निर्णय गर्यो । यो खबर उनका लागि अप्रत्याशित थियो । उनी भन्छिन्, ‘म सामान्य मान्छे हुँ, सांसद बन्ने कल्पना पनि गरेको थिइन् ।’ पार्टीले उनलाई मधेसी क्लस्टरबाट सांसद बनाउने निणर्य गरेसँगै उनी देशकै कान्छी सांसद बनेकी छन् ।
संसद्मा उनले के गर्ने भनेर विभिन्न विषयलाई प्राथमिकतामा राख्न थालेकी छन् । विशेषगरी मधेसमा रहेको दाइजो प्रथा र बालविवाहजस्ता विषयलाई कार्यसूचीमा समावेश गरेकी छन् ।
उनी भन्छिन्, ‘दाइजो प्रथा कानुनले निषेध गरे पनि व्यवहारमा अझै कायम छ । महिलाहरू यसबाट पीडित छन् । बालविवाह पनि पूर्ण रूपमा रोकिएको छैन । यी विषयहरूलाई संसद्मा उठाउनेछु ।’ उनको प्राथमिकता सामाजिक न्याय र महिला सशक्तीकरणतर्फ पनि केन्द्रित छ ।
शिक्षा र राजनीति सँगै लैजाने सोच
रुबीकुमारी ठाकुर अब अध्ययनलाई पनि निरन्तरता दिन चाहन्छिन् । ब्याचलर (बीई) गर्ने लक्ष्य रहेको उनको भनाइ छ । शिक्षा र राजनीतिलाई सँगसँगै अघि बढाउने उनको योजना छ । २५ वर्षको उमेरमै सांसद् बनेकी रुबी अविवाहित छन् । व्यक्तिगत जीवनबारे उनी भन्छिन्, ‘ ५ वर्ष संसद्लाई दिन्छु, त्यसपछि मात्र विवाहबारे सोच्छु ।’
घरदैलो अभियानबाट सुरु भएको रुबीकुमारीको राजनीतिक यात्रा छोटो समयमै संघीय संसद्सम्म पुगेको छ । उनी भन्छिन् ‘धेरै कुरा सिक्नु छ र राजनीतिक बारे धेरै ज्ञान त छैन् तर म मेरो क्षेत्र र सामाजको लागी सधैं लागि पर्नेछु ।’
