राज्यले नागरिकलाई दिनुपर्ने सेवामा विभेद रहेको कुरा आफूले नजिकबाट नियालेको ज्ञानु पौडेलले बताइन् । यही अन्तर पूरा गर्दै सुशासनयुक्त राज्य निर्माण गर्ने उद्देश्यले नै आफूले रास्वपा रोजेको र राजनीतिक यात्रामा अघि बढेको उनको भनाइ छ ।
What you should know
काठमाडौँ — रूपन्देही क्षेत्र नं ३ की ज्ञानु पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट खस आर्य महिलाको समानुपातिक क्लस्टर हुँदै संसद् प्रवेश गरेकी छन् । लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको अनुभव, जनताको पीडा र देशप्रति केही गर्नुपर्छ भन्ने हुटहुटीले उनलाई संसद्सम्म डोहोर्याएको हो ।
५२ वर्षीया पौडेल राजनीतिमा आउनुअघि एक सक्रिय सामाजिक अभियन्ताका रूपमा चिनिन्थिन् । सहकारी, उद्यमशीलता, महिला सशक्तिकरण, बालबालिकाको हकहित र सामाजिक न्यायका क्षेत्रमा उनको अनुभव छ । रूपन्देहीमा सञ्चालित जनउत्थान सहकारी संस्थामा आबद्ध भई लामो समयसम्म कार्यरत रहिन् ।
सहकारीमार्फत समुदायको आर्थिक अवस्था सुधार गर्ने, महिलालाई आत्मनिर्भर बनाउने र साना उद्यमलाई प्रोत्साहन गर्ने काममा भूमिका निर्वाह गरेकी छन् । करिब १९ वर्षको सहकारी अनुभवले उनलाई सहकारीको आधारभूत पक्ष बुझ्ने अवसर पनि दियो । सहकारी ऐन, नियम, नीति निर्माण तथा कार्यान्वयनका विषयमा आफूले काम गरेको उनले बताइन् । उनले नीति नियम कार्यान्वयनका विषयमा सधैं प्रश्न गरिरहिन् । ‘हामीले सधैं यो भएन, त्यो भएन भनेर गुनासो मात्रै गरिरह्यौं, प्रश्न गरिरह्यौं तर नीति बनाउने स्थानमा पुगेर आफैं अगाडि बढ्न मन लागेर राजनीतिमा आएकी हुँ,’ उनले आफ्नो अनुभव सुनाइन् ।
नेपालमा धेरै समस्या कार्यान्वयनको तहमा देखिएको अनुभव पनि उनले सँगालेकी छन् । राज्यले नागरिकलाई दिनुपर्ने सेवामा विभेद रहेको कुरा आफूले नजिकबाट नियालेको उनले बताइन् । यही अन्तर पूरा गर्दै सुशासनयुक्त राज्य निर्माण गर्ने उद्देश्यले नै आफूले रास्वपा रोजेको र राजनीतिक यात्रामा अघि बढेको उनले बताइन् ।
रास्वपाको सिद्धान्त, वाचापत्र र परिवर्तनको एजेन्डाले आफूलाई आकर्षित गरेको उनको भनाइ छ । रास्वपामा प्रवेश गर्नुको मुख्य कारण बताउँदै उनले भनिन्, ‘सामाजिक क्षेत्रमा काम गर्दा मैले धेरै समस्या देखेँ, ती समस्याको समाधान नीति र कानुनमार्फत मात्र सम्भव छ भन्ने महसुस गरेरै रास्वपा प्रवेशको सोच बनाएकी हुँ । किनकि, मेरो सोच र रास्वपाको सोच ठ्याक्कै मिलेको छ । यही कारण यस पार्टीमार्फत राजनीतिमा आउने निधो गरेकी हुँ ।’ उनी यसअघि कुनै पनि राजनीतिक दलमा सक्रिय थिइनन् । अहिले नेपालमा देखिएको परिवर्तनको चाहना र नयाँ सोचको आवश्यकताले आफू यस पार्टीमा आबद्ध भएको पनि उनको जिकिर छ ।
महिला युवा लक्षित उद्यमशीलता विकासमा समाज अगाडि बढ्न नसकेको आफूले देखेको उनले बताइन् । उद्यमशीलतालाई विकास गर्नुपर्ने धारणा राख्दै उनले भनिन्, ‘हामी आत्मनिर्भर बन्नुपर्छ, उद्यमी बन्नुपर्छ भन्ने कुरा त धेरै सुनिन्छ, तर त्यसका लागि आवश्यक संरचना, नीति र सहजीकरणको खुबै कमी छ ।’ युवाहरूलाई उद्यमतर्फ आकर्षित गर्ने र रोजगार सिर्जना गर्ने नीति निर्माणमा जोड दिने चाहना आफ्नो रहेको उनले सुनाइन् ।
लुम्बिनी प्रदेशमा बसोबास गर्ने ज्ञानु पौडेलका लागि आफ्नो क्षेत्रको विकास पनि प्राथमिकतामा परेको छ । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वभरका मानिसको आस्था र आकर्षणको केन्द्र बनेको छ । यही पर्यटकीय क्षेत्रलाई थप उजागर गर्ने नीति रहेको उनले सुनाइन् ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको विषयमा उनले चिन्ता व्यक्त गरेकी छन् । यसबारेमा चासो व्यक्त गर्दै उनले भनिन्, ‘यो केवल लुम्बिनीको मात्र होइन, सम्पूर्ण देशको प्रतिष्ठासँग जोडिएको विषय हो । विमानस्थल सञ्चालनमा ल्याउन नीतिगत तथा प्रशासनिक बाधाहरू हटाउन आवश्यक छ, जसका लागि संसदबाट पहल गर्नुपर्ने भूमिका खेल्नेछु ।’
संसद्मा पुगेपछि उनले विशेष रूपमा सामाजिक न्याय, सेवा प्रवाह, सहकारी सुधार र कृषि आधुनिकीकरणका विषयमा काम गर्ने योजना बनाएकी छन् । सहकारी क्षेत्रमा भएको विकृति र विसंगति सुधार गर्ने जिम्मेवारी पनि आफ्नो काँधमा रहेको उनको भनाइ छ ।
