आईटी क्षेत्रबाट संसद‍्मा प्रतिनिधित्व गर्दै सिर्जना

सांसद बन्नुअघि उनी कुनै पनि राजनीतिक दलमा आबद्ध थिइनन् । आफ्नै क्षेत्रमा काम गर्दै आइरहेकी उनलाई देशको अवस्थाले राजनीतिमा डोर्‍याएको हो । ‘हामी आफ्नै क्षेत्रमा काम गरिरहेका थियौं तर जब देशको अवस्था नै कमजोर देख्यौं, तब त्यो सबै क्षेत्रमा असर पर्छ भनेर हामी राजनीतिमा सरिक भएका हौं,’ उनले भनिन् ।

चैत्र ६, २०८२

प्रकृति दाहाल

Creation representing the IT sector in Parliament

What you should know

काठमाडौँ — नेपालमा सूचना प्रविधि (आईटी) क्षेत्र विस्तार हुँदै गएको छ तर त्यसअनुसारको नीति, संरचना अझै पनि पर्याप्त हुन सकेको छैन । आईटी क्षेत्रको नीतिगत समस्या समाधान गर्ने उद्देश्यका साथ संसद् पुगेकी छन् सिर्जना श्रेष्ठ । आईटी क्षेत्रमा बिताएको २२ वर्षमा उनले विभिन्न प्राविधिक, व्यवस्थापकीय र व्यावसायिक पक्षमा काम गरिन् । कम्प्युटर एसोसिएसन नेपालको पूर्वउपाध्यक्षको जिम्मेवारीसमेत सम्हालिन् ।

सूचना प्रविधि क्षेत्रका नीतिगत विषय, उद्योगका चुनौती र सम्भावनालाई नजिकबाट बुझ्ने अवसर पाइन् । क्यान महासंघको उपाध्यक्षबाट राजीनामा दिएर उनी रास्वपाको समानुपातिक तर्फबाट सांसद निर्वाचित भएकी हुन् । उनी साइबर सेक्युरिटीको क्षेत्रमा विशेष रूपमा सक्रिय रहँदै आएकी छन् । व्यक्तिगत डाटा सुरक्षादेखि लिएर डिजिटल प्रणालीको सुरक्षित प्रयोगसम्मका विषयमा उनले काम गरिसकेकी छन् । यही अनुभवलाई नीति निर्माणमा प्रयोग गर्ने उद्देश्यसहित संसद्सम्म पुगेको उनको भनाइ छ । 

राजनीतिमा प्रवेश गर्नु उनका लागि नयाँ अनुभव हो । लामो समयदेखि व्यवसाय गर्दै जाँदा उनले धेरै चुनौतीको सामना गरिन् । नीतिगत अस्पष्टता, कार्यान्वयनमा कमजोरी, प्रविधि क्षेत्रमा आवश्यक सहयोगको अभाव र साइबर सुरक्षाजस्ता विषयका कमजोरी उनले नियालेकी छन् । समस्या मात्र भनेर नभई समाधानको बाटोमा पुग्न नीति निर्माणको तहमै पुगेर काम गर्नुपर्ने आवश्यकता महसुस गरेर संसद‍्को यात्रा तय गरेको उनले बताइन् । उनले भनिन्, ‘आईटी क्षेत्रमा काम गरिरहँदा हामीले धेरै समस्या भोग्यौं, ती समस्या नीतिमा नै रहेछ भन्ने बुझियो । त्यसैले ती समस्या हटाउन नीति निर्माण गर्ने ठाउँमै पुग्नुपर्छ भन्ने लाग्यो । यही सोचले राजनीतितर्फ डोर्‍यायो ।’ बाहिरबाट लबिइङ गरेर मात्र पर्याप्त परिवर्तन सम्भव नहुने भएको र देशको परिस्थिति बिस्तारै बिग्रँदै गएको देख्दा आफैं लाग्नुपर्छ भन्ने लागेकाले राजनीतिमा लागेकाे उनले बताइन् । 

उनका अनुसार नेपालमा आईटी क्षेत्रको विकासका लागि धेरै सम्भावना भए पनि नीतिगत कमजोरीका कारण त्यो सम्भावना उपयोग हुन सकेको छैन । विशेष गरी साइबर सुरक्षा, डाटा सुरक्षा, डिजिटल पूर्वाधार र स्टार्टअप प्रवर्द्धनका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ । ‘साइबर सुरक्षा अहिलेको सबैभन्दा महत्त्वपूर्ण विषय हो तर यसलाई अझै पनि गम्भीर रूपमा लिइएको छैन,’ उनले भनिन् ।

सांसद बन्नुअघि उनी कुनै पनि राजनीतिक दलमा आबद्ध थिइनन् । आफ्नै क्षेत्रमा काम गर्दै आइरहेकी उनलाई देशको अवस्थाले राजनीतिमा डोर्‍याएको हो । ‘हामी आफ्नै क्षेत्रमा काम गरिरहेका थियौं तर जब देशको अवस्था नै कमजोर देख्यौं, तब त्यो सबै क्षेत्रमा असर पर्छ भनेर हामी राजनीतिमा सरिक भएका हौं,’ उनले भनिन् ।

पार्टीले दिएको दुईदिने अभिमुखीकरणमा उनले राजनीतिक प्रक्रिया, कार्यप्रणाली र संरचनाबारे जानकारी पाइन् । अभिमुखीकरण कार्यक्रमले आफूलाई संसद‍्को काम, जिम्मेवारी र प्रक्रियाबारे बुझ्न सघाएको उनले सुनाइन् । राजनीति फरक लाग्ने उनी अहिले बुझ्न थालेको बताउँछिन् । उनका अनुसार अहिलेको संस‍द‍्मा विभिन्न क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको छ, जसले नीति निर्माणलाई अझ प्रभावकारी बनाउन सहयोग गर्न सक्छ । हरेक क्षेत्रका व्यक्तिहरू संसद‍्मा हुँदा विशेषज्ञताका आधारमा काम गर्न सहज हुने उनको बुझाइ छ ।

राजनीतिमा आएपछि उनले जनताको अपेक्षा र जिम्मेवारीलाई नजिकबाट महसुस गरेको बताइन् । उनले आफूले बटुलेको अनुभव, सीप र ज्ञानलाई अब देशका लागि प्रयोग गर्ने संकल्प लिएको पनि सुनाइन् । विशेष गरी आईटी क्षेत्रको विकास, डिजिटल नेपाल निर्माण र प्रविधिमैत्री नीति निर्माणमा आफूले सशक्त भूमिका निर्वाह गर्ने लक्ष्य लिएको उनले बताइन् ।

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully