स्पष्ट रूपमा बोल्ने, हरेक विषयमा दखल राख्ने र आत्मविश्वासका साथ प्रस्तुत हुने प्रतिभाशाली व्यक्तिका रूपमा परिचित रमेश प्रसाईंको आवाज संघीय संसद भवनमा गुन्जिने छ, जहाँ उनले राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसदका रूपमा नयाँ यात्रा सुरु गरेका छन् ।
What you should know
विराटनगर — रमेश प्रसाईं जन्मजात दृष्टिविहीन हुन् । उनका दुवै आँखा छालाले पूर्ण रुपमा ढाकिएका छन् । तर, दृष्टिको सीमितताले उनको प्रतिभालाई कहिल्यै रोक्न सकेन । उनी स्पष्ट रूपमा बोल्ने, हरेक विषयमा दखल राख्ने र आत्मविश्वासका साथ प्रस्तुत हुने प्रतिभाशाली व्यक्तिका रूपमा परिचित छन् ।
अब उनको आवाज संघीय संसद भवनमा गुन्जिने भएको छ, जहाँ उनले राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसदका रूपमा नयाँ यात्रा सुरु गरेका छन् । विसं २०५० सालमा ताप्लेजुङको दुर्गम मैयाखोला गाउँमा जन्मिएका रमेशको बाल्यकाल सहज थिएन । विकट भूगोल, सीमित स्रोतसाधन र दृष्टिविहीनता यी तीनै चुनौतीसँगै उनले जीवनको सुरुवात गरेका थिए । सानैदेखि उनमा फरक क्षमता थियो । उनमा सिक्ने चाहना तीव्र थियो, विद्यालय जाने हुटहुटी बलियो थियो ।
तर, त्यो चाहना पूरा गर्न सजिलो थिएन । गाउँमा दृष्टिविहीन बालबालिकाका लागि कुनै विशेष विद्यालय थिएन । शिक्षाकै लागि संघर्ष गर्नुपर्ने अवस्था थियो । अन्ततः परिवारले उनका लागि गाउँ नै छाडेर झापा झर्ने निर्णय गर्यो ।
आठ वर्षको उमेरमा उनी परिवारसहित झापा झरे । झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयमा उनले पहिलोपटक औपचारिक शिक्षाको ढोका खोले । त्यहाँ उनीजस्ता विद्यार्थीलाई सामूहिक रूपमा पढाइन्थ्यो । कक्षा ५ सम्मको अध्ययनले उनलाई आत्मनिर्भर बन्ने आधार दियो ।
शिक्षक खिलप्रसाद शिवाकोटीको सल्लाह अनुसार ५ कक्षा पढिसकेपछि उनी धरानस्थित ज्ञानचक्षु विद्यालय पुगे । जुन दृष्टिविहीन विद्यार्थीका लागि देशकै एक प्रमुख शैक्षिक संस्था हो । त्यहाँ उनले पाठ्यपुस्तक मात्र पढेनन्, जीवन बुझ्न सिके । ज्ञानचक्षुबाट उनले एसएलसी उत्तीर्ण गरे । उच्च शिक्षातर्फ अघि बढ्दै उनले बीएड पूरा गरे । शिक्षा हाँसिल गरेपछि उनको अर्को लक्ष्य थियो—रोजगारी र आत्मनिर्भरता । विसं २०७६ मा उनी काठमाडौं उक्लिए, नयाँ अवसरको खोजी गर्दै ।
काठमाडौंमा उनले सुरुमा ‘इन्द्रेणी’ कार्यक्रममा गाउने काम गरे । त्यहीँबाट उनको सांगीतिक यात्रा थप सशक्त बन्यो । सुरेश गन्दर्भले गाएको पुरानो भाका ‘रिङके बुङको रागोलाई.....’ बोलको गीतलाई उनले रिमेक गरी गाएर थप चर्चा बटुले । लाइभ लोकदोहोरी गायनमार्फत उनले दर्शकको मन जित्न थाले ।
२०७९ को निर्वाचनपछि उनी टेलिभिजन पत्रकारितामा पाइला प्रवेश गरे । सञ्चारमाध्यममार्फत उनले आफ्ना विचारहरू व्यापक दर्शकमाझ पुर्याए । उनी ग्यालेक्सी फोर के टेलिभिजनसँग आबद्ध भए । त्यहाँ उनले सञ्चालन गरेको ‘लालमोहर’ कार्यक्रमले थप पहिचान दिलायो ।
यसै क्रममा उनी रास्वपा सभापति तथा पूर्व पक्रकार रवि लामिछानेसँग नजिकिए । सुरुमा व्यत्तिगत चिनजानबाट सुरु भएको सम्बन्धले उनलाई मिडिया हुँदै राजनीतिमा प्रवेश गराउने मार्ग तयार गर्यो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना प्रक्रियामा पनि रमेश प्रसाईं सुरुदेखि नै संलग्न थिए । पार्टी गठनका विषयमा उनले रवि लामिछानेसँग पटक–पटक छलफल गरेको सुनाए । नयाँ राजनीतिक विकल्प निर्माण गर्ने सोचमा उनी सक्रिय सहभागी बने ।
आज उनी रास्वपाका सह–प्रवक्ता मात्र होइनन्, पार्टीका एक प्रभावशाली नेताका रुपमा स्थापित भएका छन् । समानुपातिक उम्मेदवार छनोटका लागि गरिएको आन्तरिक निर्वाचनमा उनले १८ हजार २ सय २३ मत (करिब ९५ प्रतिशत) प्राप्त गरेका थिए ।
हाल उनी झापाको सीमावर्ती सहर काँकडभिट्टामा बसोबास गर्दै आएका छन् । आफ्नो व्यक्तिगत जीवनमा पनि उनी सरल, मिलनसार र सकारात्मक सोचका व्यक्ति मानिन्छन् । उनले २०७७ सालमा नन्दासँग विहे गरे । नन्दा पनि इन्द्रेणीमै काम गर्थिन् । त्यही उनीहरुबीच चिनापर्ची भयो र पछि त्यो सम्बन्ध विहेमा रुपान्तरण भयो। नन्दा काठमाडौंमा ‘इनर भिजन नेपाल’ नामक आश्रम चलाउँछिन् । जहाँ अभिभावकविहीन बालबालिका आश्रित छन् ।
रमेश राजनीतिकर्मी मात्रै होइनन्। उनी मोटिभेसनल स्पिकर पनि हुन् । उनको जीवनले एउटा सन्देश दिन्छ, दृष्टि आँखामा मात्र हुँदैन, दृष्टि सोचमा पनि हुन्छ । र जब सोच उज्यालो हुन्छ, तब अन्धकारले बाटो छेक्न सक्दैन। सांसद भएपछि रमेशका दुई तीन थान प्रतिबद्धता छन् । पहिलो हो, रास्वपाको चुनावी वाचापत्र सार्थक तुल्याउने । सेवा प्रवाहमा सुधार गर्ने, सुशासन ल्याउने, न्यायपालिकालगायतका क्षेत्रमा हुने भागबण्डाको सधैंका लागि अन्त्य गर्ने ।
अन्धकारलाई साथी बनाएर उज्यालोतर्फको यात्रा तय गरेका रमेश अब देशको राजनीतिक मञ्चमा उभिएका छन्, उही आत्मविश्वासका साथ, उही स्पष्ट आवाजका साथ र परिवर्तनको उही हुटहुटी बोकेर ।
