रास्वपाबाट समानुपातिक सांसद बनेकी समिनाले स्वास्थ्य क्षेत्रमा हुने अनियमितता र सामाजिक मुद्दामा अग्रपंक्तिमा रहेर आवाज उठाउँदै आएकी छन् ।
What you should know
काठमाडौँ — बिहीबार समानुपातिकतर्फका ११० सांसदको प्रमाणपत्र वितरण भइरहेको थियो । त्यसैमा एक थिइन्, समिना मियाँ । काखमा डेढ वर्षकी छोरी च्यापेर आएकी थिइन् । रास्वपाबाट उनी मुस्लिम महिला क्लस्टरबाट सांसद बनेकी हुन् ।
‘यो सामान्य अवस्थामा भएको निर्वाचन थिएन । जेनजी भाइबहिनीको बलिदान र त्यागबाट भएको निर्वाचन हो,' उनले सुनाइन्, 'त्यसैले उमंगभन्दा पनि यसलाई मैले देशको ठूलो जिम्मेवारीका रूपमा लिएकी छु ।’
उनी सदनमा पुगेर स्वास्थ्य क्षेत्रमा हुने अनियमितताको बारेमा आवाज उठाउने बताउँछिन् । उनले भनिन्, ‘मैले स्वास्थ क्षेत्रमा काम गरिरहँदा देखेभोगेका सबै कुराबारे आवाज उठाउने छु । स्वास्थ्यकर्मीको न्यून दरबन्दी र दक्ष जनशक्ति विदेश पलायन हुने समस्याबारे म बोल्नेछु ।’ स्वास्थ्य सेवा साथै स्वास्थ्य प्रणालीमा भएका बेथितिमा आवाज उठाउन कहिल्यै पछि नपर्ने उनको भनाइ छ ।
३७ वर्षकी समिनाको राजनीतिक यात्रा भने राष्ट्रिय स्वत्रन्त्र पार्टीको स्थापना कालदेखि सुरु भएको थियो । ‘यस अगाडि २०७९ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यको मुस्लिम महिला क्लस्टरबाटै उम्मेदवार थिएँ । बन्द सूचीमा परे पनि त्यसबेला हाम्रो पार्टीको सिट संख्या कम आएका कारण म सांसद बन्न सकिनँ सकिनँ,’ उनले भनिन्, ‘अहिले पार्टीको आन्तरिक प्राइमरी इलेक्सनमा महिलातर्फ देशैभरिबाट सबैभन्दा बढी मत प्राप्त गरेकी थिए । समानुपातितर्फ अवसर पाएँ ।’
महिला शिक्षा, स्वास्थ्य साथै सशक्तीकरणमा विशेष ध्यान दिने योजना छ, जनताले हामीलाई जिताउनु भो, अब देश र जनतालाई जिताउने पालो हाम्रो चितवन घर भएकी समिना मुस्लिम समुदायको सामान्य परिवारमा जन्मिएकी थिइन् । उनका बुबाआमाले सानो फेन्सी व्यवसाय गरेर परिवार पालेका थिए । समिनाले बालकुमारी कन्या माध्यामिक विद्यालयबाट आफ्नो माध्यामिक तह सम्मको शिक्षा हासिल गरेकी थिइन् । त्यसपछि बुटबलबाट पीसीएल नर्सिङ, भरतपुरबाट ब्याचलर इन नर्सिङका साथै भारतको बैंगलुरुस्थित राजीव गान्धी युनिभसिर्टीबाट एमएससी नर्सिङ गरिन् ।
राजनीतिमा आउनु अगाडिसम्म उनले चितवन मेडिकल कलेजमा करिब ५ वर्ष ‘असिस्टेन्ट नर्सिङ अफिसर’ को रुपमा काम गरेकी थिइन् । काम गर्दै जाँदा उनले देशमा भनेजस्तो सेवा नपाएर बिदेसिन बाध्य आफ्ना सहकर्मी देखिन् । स्वास्थ्य क्षेत्रमा आबद्ध स्वास्थ्यकर्मीको न्यून दरबन्दी, १२ सकिनेबित्तिकै विदेश पलायन हुनेहरु देख्दा उनलाई चिन्ता लाग्थ्यो ।
समिना त्यस समयदेखि नै देशमा भएका खराब विकृतिलाई हटाउनुपर्छ भन्ने सोच्थिन् । उनी डा. गोविन्द केसीको सत्याग्रहमा पनि सँगसँगै थिइन् । स्वास्थ्य क्षेत्रमा हुने अनियमितता, महिलाका लागि आवाज, सामाजिक मुद्दामा उनले अग्रपंक्तिमा रहेर आवाज उठाउँदै आएकी छन् । साथै विभिन्न स्थानमा पुगेर स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा समेत दिएकी छन् ।
मुस्लिम समुदायमा अझै पछि रहेको र महिलाप्रतिको विभेदलाई चिर्नका संसद्मा आफ्नो आवाज अझ बुलन्द बनाउने उनको विचार छ । ‘मुस्लिम समुदायमा अझै पनि छोरीहरुले छोरासरह पढ्न पाएका छैनन् । महिला शिक्षा, स्वास्थ्य साथै सशक्तीकरणमा विशेष ध्यान दिने मेरो योजना छ,’ उनले भनिन्, 'मुस्लिम समुदायको मात्र नभएर हरेक समुदायका समस्याबारे म आवाज उठाउनेछु ।’
आफू सांसद बन्दा मुस्लिम समुदायका महिलाहरुलाई राजनीतिमा आउन प्रेरित गरेको उनको भनाइ छ ।
उनका श्रीमान् पेसाले सिभिल इन्जिनियर हुन् । श्रीमान् साथै घरपरिवारले आफूलाई राजनीतिमा आउँदा साथ दिएको उनले सुनाइन् । ‘मातृत्व र नेतृत्व दुवै सँगाल्ने मौका पाएकी छु । जेन्जी भाइबहिनीको बलिदानको सम्मान गर्न उहाँहरुको सपनालाई पूरा गर्ने अठोटका साथ राजनीतिमा आएकी छु,’ उनले भनिन्, ‘हरेक तरिकाले देशको भलाइका लागि काम गर्नेछु । जनताले हामीलाई जिताउनु भो, अब देश र जनतालाई जिताउने पालो हाम्रो ।’
