समाजमा बिभेद र अभाव भोग्दै आएकी उनी अधिकारका लागि संचालन हुने अभियानहरुमा सक्रिय बनिन् । त्यही अभियानको सक्रियताले सुष्मा स्वर्णकार अब कानुन निर्माण गर्ने सर्वोच्चथलो प्रतिनिधिसभामा पुगेकी छन् ।
What you should know
नेपालगन्ज — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य भएकी ४३ वर्षीय सुष्मा स्वर्णकार ‘डिम्पल’ले सामाजिक अभियानमार्फत राजनीतिमा प्रवेश गरेकी थिइन् ।
दुई छोराछोरी हुर्किएपछि उनी घरधन्दाबाट बिस्तारै सामाजिक अभियानमा सक्रिय हुन थालिन् । समाजमा बिभेद र अभाव भोग्दै आएकी उनी अधिकारका लागि संचालन हुने अभियानहरुमा सक्रिय बनिन् । त्यही अभियानको सक्रियताले उनी अब कानुन निर्माण गर्ने सर्वोच्च थलो प्रतिनिधिसभामा पुगेकी हुन् ।
‘दलितलाई खै...’ भन्ने अभियानबाट जोडिँदै उनी अभियन्ताको रुपमा अगाडि बढिन् । दलित अधिकारको अभियानमा सक्रिय बाँकेको कोहलपुर नगरपालिका–५ घर भएकी सुष्माको परिवार छोराछोरी पढाउन काठमाडौं पुगेको थियो । उनको माइती भारत हो । भारतमा जन्मिएकी उनी आठ वर्षको उमेरमा उनी परिवारसँग नेपाल फर्किइन् । १८ वर्षको उमेरमा विवाह गरिन् । श्रीमान्को मूल घर सल्यान भए पनि उनको परिवार बसाइँसरेर बाँके आयो । २०५८ सालदेखि काठमाडौं कर्मथलो बनाइरहेकी सुष्माको नेपालगन्ज र काठमाडौं दुबै ठाउँमा बसोबास छ । उनले माध्यमिक तहसम्म अध्ययन गरेकी छन् ।
आफू दलित क्लस्टरबाट समानुपातिकतर्फ सांसद भएकाले पनि अब समाजमा दबाइएका आवाज बुलन्द गर्ने उनले सुनाइन् । ‘पहिला छोराछोरी सानै थिए परिवारको जिम्मेवारीले बाहिर आउने अवस्था रहेन् । छोराछोरी हुर्किएपछि अहिले आफु पनि अगाडि बढ्नुपर्छ भन्ने लागेर सामाजिक अभियानमा जोडिएकी थिए,’ उनले भनिन्, ‘विशेषगरी दलित महिलाको अधिकारको क्षेत्रमा आवाज उठाउन मेरो पहल रहनेछ ।’
हरेक परिवर्तन राजनीतिबाट मात्र सम्भव छ र त्यो हाम्रै पालामा हुनुपर्छ भन्ने लागेर रास्वपा प्रवेश गरेको उनले बताइन् । ‘जनतामा जुन खालको उत्साह अनि परिवर्तनको हुटहुटी छ । त्यसमा आफूलाई खरो रुपमा प्रस्तुत गर्ने चाहना छ,’ उनले भनिन्, ‘मैले बिभेद, अभावलाई नियालेकी मात्र छैन् प्रत्यक्ष भोगेकी छु । मेरो लागि यो एउटा अवसर मात्र होइन् । ती आवाजबिहीनहरुका मुद्दासँगै समग्र जनताको हितका लागि काम गर्ने दृढ संकल्प लिएकी छु ।’ उनका पति चक्रमान विश्वकर्मा दलित अधिकारकर्मी हुन् । पतिको प्रेरणाबाट अधिकारको क्षेत्रमा काम गर्न डोर्याएको उनले सुनाइन् ।
