२०७९ सालबाट पार्टीमा आवद्ध भएकी उनले विगतमा भोगेका विभेद, बेथितिविरुद्ध संसदमा आवाज उठाउने बताइन् ।
What you should know
दोलखा — क्याम्पसमा बेथितिविरुद्ध आवाज उठाउँदै आएकी २७ वर्षकी स्मृति सेन्चुरीले प्रतिनिधिसभाको यात्रा तय गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको दलित कल्स्टरबाट समानुपातिक सूचीमा रहेकी उनी संसदको यात्रामा समेटिएकी हुन् । २०७९ सालबाट पार्टीमा आवद्ध भएकी उनले विगतमा भोगेका विभेद, बेथितिविरुद्ध संसदमा आवाज उठाउने बताइन् ।
२०५५ चैत ६ मा साविकको लामिडाँडा गाविस हाल कालिञ्चोक गाउँपालिका–३ पोखरेमा जन्मिएकी उनी दुई वर्षकी हुँदा आमाको निधन भयो । उनलाई दुःखसुख गरेर बुबाले हुर्काए । घाँसदाउरासँगै खेतीपातीमा बुबालाई सघाउँदै विद्यालय पढेको उनले सुनाइन् ।
सोही गाउँको भगवती माध्यिमक विद्यालयबाट एसईई गरेर उच्च शिक्षाका लागि काठमाडौं लागिन् । उनका दाई सुरेश सेन्चुरीले अभिभावत्व दिए । हाल स्नाकोत्तर गरिरहेकी उनलाई दाई सुरेशले १८ वर्षदेखि साउदी अरबमा रोजगारी गरेर पढाईदेखि सबै खर्च व्यहोरेका छन् । स्नातक पढ्ने बेलामा सक्रिय राजनीतिमा लागेकी उनले बेथितिविरुद्ध आवाज उठाउने गरेकी थिइन् ।
हिजो बेथितिका कुरा उठाउँदा सुनुवाई नभएपछि आफैले कुरा उठाउने ठाउँमा पुग्नुपर्छ भनेर राजनीतिमा लागेको उनले बताइन् । ‘कुरा उठाउँदा सुनुवाई नहुँदो रहेछ, समाधान गर्ने ठाउँमै पुग्नु पर्छ भन्ने लागेर रास्वपामा लागेको हो,’ उनले भनिन्, ‘संसदमा पनि यी विषय खरो रुपमा रुपमा उठाउँछु, न्याय दिन र बेथितिविरुद्ध निरन्तर जनताको लागि आवाज बन्छु ।’
जिल्लाका मुख्य समस्याका विषयमा संसदमा आवाज उठाउने र समाधान गर्ने उनले प्रतिबद्धता गरेकी छन् । ‘मेरो पालिका अल्पसंख्यक थामी समुदायको बाक्लो बसोबास छ, उनीहरुको आर्थिक र चेतनावृद्धिमा काम गर्नुपर्ने छ,’ उनले भनिन्, ‘अन्य यस्ता जिल्लाभर धेरै समुदाय छन् उनीहरुको जीवनयापन परिवर्तन आर्थिक रप्मा मजबुत बनाउन संसदमा आवाज उठाउने छु ।’
