एलिजा गुरुङ: विकट भूगोलबाट संसदसम्म

सन् २०१९ मा 'मिस जनजाति' बनेकी एलिजा गुरुङ निरन्तर समाजिक काममा खटिँदै उत्तरी गोरखाको चुमनुब्री र धार्चे क्षेत्रको विकट भूगोलबाट संसदमा पुग्ने पहिलो महिला बनेकी छन्।

चैत्र ६, २०८२

हरिराम उप्रेती

Eliza Gurung: From remote geography to parliament

What you should know

गोरखा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अभिमूखीकरणमा एलिजा गुरुङको सामुन्ने प्रतिनिधिसभा सदस्य सुधन गुरुङले भन्दै थिए,‘दिदी नखटेको भए गाह्रै पर्थ्यो ।’ सुधनले गोरखा–१ बाट प्रत्यक्ष तर्फ उम्मदवारी दर्ता गराएदेखि नै एलिजा चुनावी प्रचारमा खम्बा बनेर उभिइन् । एलिजाको खटाईबाट प्रभावित बनेका सुधन भन्दै थिए, ‘यस्तो खट्नुभयो, यस्तो खट्नुभयो, छोरीमान्छे, डाँडाकाँडामा बाइकमा हिँडेर होस् कि जसरी होस्, सबै ठाउँ पुग्न भ्याउनुभयो ।’ 

सुधन चुमनुब्री–३ सिर्दिवासका हुन् भने एलिजा धार्चे–२ केरौजा गाउँमा जन्मिएकी हुन् । उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिका उपेक्षामा परेको आवाज संघीयता लागु भएदेखि चर्को रुपमा उठ्दै आएको छ । अघिल्ला निर्वाचनमा यी दुई पालिकालाई समेटेर विशेष, स्वायत्त वा संरक्षित क्षेत्र घोषणाको विषय उठ्ने गरेको छ । यो निर्वाचनले यस्तो संयोग जुराएको छ, विशेष क्षेत्र घोषणाको माग हुँदै आएको गोरखाकै विकट मानिने उत्तरी भूगोल थातथलो भएका दुई युवा सांसद बनेका छन् । 

रास्वपाका ४८ जना समानुपातिक महिला सांसदको सूचीमा अटाएकी एलिजा उत्तरी गोरखाको चुमनुब्री र धार्चे क्षेत्रबाट पहिलो महिला सांसद समेत बनेकी हुन् । यसअघिको कुनै पनि निर्वाचनमा प्रत्यक्ष र समानुपातिमा धार्चे र चुमनुब्रीबाट प्रतितिनिधित्व हुने गरी महिला सांसद बनेका थिएनन् । चुमनुब्री–२ केरौंजाको विकट गाउँमा जन्मिएकी एलिजाले सानैदेखि समाजसेवामा देखाएको रुचिले सांसद बन्ने अवसरको ढोका खुल्यो । विद्यालय तहदेखि नै एलिजा गाउँमा हुने विझिन्न कार्यक्रममा सत्रियताका साथ सहभागी बन्थिन् । गाउँमै रहेको सिर्जनशील युवा क्लबमा आवद्ध बनेर एलिजा सामाजिक कार्यक्रममा सामेल हुन्थिन् । 

धार्चे–२ को केरौंजा माविमा माध्यमिक तहको अध्ययन गरेपछि उच्च शिक्षाका लागि गाउँनजिकै क्याम्पस थिएन । फुपुको घर मनाङमा पुगेर थोजो क्याम्पसमा उनले प्लस टु अध्ययनका गरिन् । २०७२ वैशाखको भूकम्पले गोरखाका अधिकांश बस्ती तहसनहस बन्दा एलिजाको गाउँ केरौंजा अतिप्रभावित बन्यो । भूकम्प लगतै एजिला केयर नेपालको सामाजिक परिचालकमा नियुक्त भएर गाउँ फर्किइन् ।

‘भूकम्पले एउटै घर सग्लो थिएन, सबै टेन्ट टाँगेर बसेका थिए,’ उनले भनिन्,‘सबै गाउँले डरैडरमा थिए, त्योबेला अवारेनस प्रोगाम चलायौं, कम्बल, सोलारलगायतका अत्यावश्यक सामग्री पनि बाँडेका थियौं ।’ भूकम्प लगतै सामाजिक परिचालक बनेर गाउँ डुल्दै हिँड्दा एलिजा स्थानीयस्तरमा अझै परिचित  बनिन् । पद्धति विकास सेवा केन्द्र, एकीकरण नेपाललगायतका संस्थामा पनि चार वर्षसम्म उनले सामाजिक परिचालकको रुपमा काम गर्ने अवसर पाइन् । 

सन् २०१९ मा एसके इन्टरटेनमेन्टले आयोजना गरेको ‘मिस आदिवासी जनजाति’को ताज पनि एलिजाले जितिन् । ‘मिस जनजाति’को ताज पहिरिएपछि दुर्गम गाउँकी युवती एलिजालाई देशैभर परिचित हुने अवसर जुर्‍यो । तत्कालीन समयमा एलिजा तमु हृुला छोजधिा गुरुङ राष्ट्रिय परिषद्को जिल्ला सदस्य र उत्तरी गोरखा तमु समाजको पनि सदस्य रहेकी थिइन् । २०७६ मंसिरमा ‘मिस आदिवासी जनजाति २०१९’ की एलिजालाई धार्चे गाउँपालिकाले बालविवाह न्यूनीकरण दूत पनि घोषणा गरेको थियो । 

एलिजाको परिवारिक पृष्ठभूमि तत्कालीन समयमा कांग्रेस निकट थियो । उनले तत्कालीन समयमा गिरिजाप्रसाद फाउण्डेसन मार्फत पनि मनाङ, सिन्धुपाल्चोकलगायतका क्षेत्रमा खाद्यान्नलगायतका सामग्री विरतणमा पुग्ने अवसर पनि पाइन् । सुजाता कोइरालासँग नजिकिएर फाउण्डेसनको युथ मेम्बरको रुपमा उनी जोडिएकी थिइन् । समाजसेवामा सक्रिय हुँदै अघि बढेकी एलिजा रवि लामिछानेको टेलिभिजन कार्यक्रमबाट निकै प्रभावित थिइन् ।

लामिछानेले टेलिभिजन छाडेर राजनीति सुरु गरेपछि एजिलाले पनि उनकै पार्टीसित जोडिने मौका पाइन् । २०७९ असारमा रास्वपाले वनाएको संस्थापक २५ केन्द्रीय सदस्यभित्र एलिजा पनि समेटिइन् । २०७९ को निर्वाचनमा पनि रास्वपाले एलिजालाई समानुपातिक उम्मेदवार बनाएको थियो । तर १३ जना मात्र समानुपातिक सांसद बन्दा त्यतिबेला उनी अटाइनन्  ।

यस पटकको निर्वाचनबाट रास्वपाको समानुपातिकमा ४८ जना महिलालाई सांसद बनाउँदा १३ औं नम्बरमा रहेकी एलिजा पनि समेटिएकी हुन् । दुर्गम भुगोलमा जन्मिएर संसदीय यात्रा अघि बढाएकी एलिजा आफ्नो क्षेत्रमा देखिएका समस्यालाई सदनमा उठाउने बताउँछिन् । ‘हामीले आश्वासन भन्दा पनि पहल गर्ने हो,’ उनले भनिन्,‘विकट गाउँमा जन्मिएकी छोरीले यो ठाउँमा पुगेर यतिसम्मको काम गर्न सकिन् भनेर उदाहरणीय बन्ने गरी अघि बढ्छु ।’ 

गोरखाको उत्तरी क्षेत्रमा अझै पनि बालविवाह हुने गरेकाले यसको न्यूनीकरणमा पनि काम गर्ने उनको योजना छ । ‘बालविवाह रोक्न के गर्न सकिन्छ, यस तर्फ पनि आवाज उठाउँछौं,’ उनले भनिन्,‘उत्तरी क्षेत्रमा उत्पादित कृषि उपजले बजार पाएको छैन, सडक सञ्जाल विस्तार गरेर वा कसरी यस क्षेत्रको उत्पादन बजार ल्याउन सकिन्छ त्यसतर्फ पनि पहल गर्छौं ।’ 

गोरखा–१ का प्रत्यक्षतर्फका निर्वाचित सुधन गुरुङले चुनावी बाचापत्रमा चुमनुब्री र धार्चेजस्तो हिमाली क्षेत्रलाई समेटेर ‘विशेष विकास क्षेत्र’ घोषणा गरी लक्षित सेवा पूर्वाधार ल्याउन राष्ट्रिय पहल गर्ने विषयलाई समेटेका छन् । एलिजा पनि चुनावी बाचापत्रमा भनिएजस्तै उत्तरी क्षेत्रमा देखिएको शिक्षा, स्वास्थ्य, रोजगारका जस्ता विषयलाई पहिलो प्राथमिकतामा राखेर सदनमा कुरा उठाउने बताउँछिन् । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully