२०५१ मा जन्मेकी छोरीलाई कहिले सँगै बोकेर त कहिले आफन्तकोमा छाडेर बलावती शर्माले राजनीतिक यात्रा बढाइरहिन् । २०६० सालमा रोल्पामा पार्टीको जिल्ला सहइन्चार्ज भएकै बेला २०६१ म खारा लडाइँमा उनी सक्रिय भइन् ।
What you should know
बागलुङ — नाताले पूर्वशिक्षा मन्त्री तथा माओवादीका तत्कालीन सचिव नेकपाका नेता देवेन्द्र पौडेलकी पत्नी हुन् । तर बलावती शर्माको राजनीतिक यात्रा भने फरक छ ।
२०२८ फागुनमा बागलुङको पैयुँथन्थापमा जन्मेकी बलावती शर्मा विद्यालयमै राष्ट्रिय जनमोर्चाको अखिल छैठौंमा आबद्ध थिइन् । २०४५ सालमा एसएलसी परीक्षा दिएर निस्किँदा उनी पक्राउ परिन् । राजकाज मुद्दा लाग्यो । झण्डै ६ महिना त आफ्नै बाबुआमा पनि बोलेनन् ।
२०४६ सालमा पार्टी संगठनले नै देवेन्द्र पौडेलसँग विवाह गराइदियो । बलावतीले अखिल छैठौंमै बसेर राजनीति गरिन् भने पति देवेन्द्र बाबुराम भट्टराईको एकता केन्द्रमा लागे । फरक दल र संघर्षका कारण झण्डै सम्बन्ध बिच्छेदसम्मको अवस्था पुगेको उनको स्मरण छ ।
२०५२ देखि भने दुवै जना नेकपा माओवादीमा आबद्ध भएर भूमिगत भए । उनी महिला संगठनको काठमाडौं जिल्ला अध्यक्ष थिइन् । २०५१ मा जन्मेकी छोरीलाई कहिले सँगै बोकेर त कहिले आफन्तकोमा छाडेर शर्माले राजनीतिक यात्रा बढाइरहिन् । २०६० सालमा रोल्पामा पार्टीको जिल्ला सहइन्चार्ज भएकै बेला २०६१ म खारा लडाइँमा उनी सक्रिय भइन् । जसका कारण उनलाई पार्टीले दक्षिण ब्यूरो, उपत्यका महिला इन्चार्जलगायतको जिम्मेवारी पनि दियो । ३ महिना सेन्टर जेल बस्दा उनले छोरी समेत सँगै लगेको बताइन् ।
पार्टीले दिएको जिम्मेवारीमा लगातार लागेकै कारण उनलाई जनआन्दोलन २०६२/०६३ पछि बनेको अन्तरिम व्यवस्थापिका संसदमा माओवादीले छोटो समयकालागि संसद सदस्य बनायो । त्यसपछि उनले पहिलो संविधानसभामा बागलुङ क्षेत्र नं ३ मा उमेदवार बनिन् । कांग्रेसका नरबहादुर पुन ‘निरज’सँग पराजित भइन् । माओवादीको देशभर लहर चलेको बेला बागलुङमा भने माओवादीले निर्वाचन जित्न सकेन ।
त्यसपछिका हरेक निर्वाचनमा उनी दाबेदार बनिरहिन् । तर टिकट पाइनन् । यसअघि २०७४ र २०७९ मा पौडेल बागलुङ क्षेत्र नं २ का उम्मेदवार थिए । पहिलो पटक एमाले र राष्ट्रिय जनमोर्चाको गठबन्धन र दोस्रो पटक कांग्रेससँगको गठबन्धनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भए । पति प्रत्यक्षमा लडेकोले जिल्लाभित्र उनले स्थान पाउन सकिनन् ।
यो पटक भने बलाबतीले समानुपातिकबाट निर्वाचित बन्ने अवसर पाइन् । महिलाको हक हितमा मात्र बोल्ने नभइ उनले जिल्लाको विकासमा निकै चासो राखिन्छन् । संसद भएका बेला होस् या नभएको बेला, उनी विकासका योजना भित्र्याउने काममा निरन्तर लाग्छिन् । उनको संसद यात्राले विकासकालागि अझै पनि केही काम गर्न सकिने सम्भावना भएको नेकपाका नेता राजिव घिमिरे बताउँछन् ।
यो पटक नेकपाले बागलुङमा जनमोर्चासँग गठबन्धन गरेको थियो । क्षेत्र नं २ मा नेकपाका नेता ज्ञामनाथ गैरे उम्मेदवार थिए । तर रास्वपाका सोम शर्मा विजयी बन्दा कांग्रेसका टेकराज दोस्रो र गैरे तेस्रो भए । निर्वाचनमा परिणाम दिन नसके पनि जिल्लाको प्रतिनिधित्व भएकोमा नेतृत्व सन्तुष्ट छ । आलोचकले भने नेता पौडेलको परिवार मोहले नछाडेको बताउँछन् ।
डेढ वर्षकी छोरीलाई परिवारको जिम्मा लगाएर उनी जनयुद्धमा होमिएको स्मरण गर्दै शर्माकी छोरी गरिमाले सामाजिक सञ्जालमा समेत यसपाली न्याय भएको बताइन् । ‘परिवारका सदस्य पालैपालो होइन, एउटी आमाको जीवनको त्याग, साहस र समर्पणको प्रतिफल बल्ल मिल्यो,’ उनले भनेकी छिन्, ‘समाजमा धेरै काम गर्नुभएको छ, अब संसदमा पनि आवाज सुन्न पाइनेछ ।’
राजनीतिमा सक्रिय भएरै उनले राजनीतिशास्त्र, अंग्रेजी, लैंगिक अध्ययनमा स्नातकोत्तर गरेकी छन् भने कानुनमा स्नातक समेत हुन् । अहिले उनी लैंगिक अध्ययनमा विद्यावारिधी गर्दैछिन् । भन्छिन्, ‘क्यान्सर रोगले ग्रसित भएर रोग जित्न पनि सफल भएँ, राजनीतिक यात्रा र आँटेका पढाई पनि पूरा गरेरै छाड्छु ।’ संसदमा रहँदा भूँइमान्छेका आवाजलाई संसदमा पुर्याउने उनले बताइन् ।
