सामान्य परिवारमा जन्मिएकी डा. प्रमिला गच्छदारको दुई दशक लामो संघर्ष, शिक्षा र निरन्तर प्रयत्नले उनलाई प्रतिनिधिसभासम्म पुर्याएको छ ।
What you should know
विराटनगर — राजनीति गर्न कि त विरासत चाहिन्छ, कि त धनबल । तर, कोशी प्रदेशको राजनीतिबाट राष्ट्रिय राजनीतिमा उदाएकी डा. प्रमिला गच्छदार यो भाष्यलाई चुनौती दिने एक सशक्त पात्र हुन् । उनीसँग न विरासत थियो, न धनबल नै । थियो त मात्रै हुटहुटी ।
विराटनगर नजिकैको एउटा गाउँको सामान्य परिवारमा जन्मिएकी प्रमिला नीति निर्माणको सर्वोच्चथलो प्रतिनिधिसभासम्म पुग्नु जीवनको कुनै संयोग मात्र होइन, बरु दुई दशक लामो अथक संघर्ष र प्राज्ञिक साधनाको नतिजा हो ।
केही समय अघिसम्म उनी कोशी प्रदेश योजना आयोगकी सदस्य थिइन् । नेपाली कांग्रेसले समानुपातिक बन्द सूचीमा नाम समावेश गरेपछि राजीनामा दिइन् । प्रतिनिधिसभाको समानुपातिक सांसदमा निर्वाचित भएपछि प्रमिलाको परिचय थप फराकिलो बनेको छ ।
२०३२ मंसिर १३ मा सुनसरीको सानो गाउँ बर्जुमा प्रमिलाको जन्म हुँदा ग्रामीण भेगमा छोरीलाई स्कुल पठाउने चलन थिएन । त्यसमाथि आदिवासी थारु समुदायमा त छोरीलाई स्कुल पठाउनु ‘अपराध’झै मानिन्थ्यो ।
तर, प्रमिलाका लागि स्कुल पढ्ने कुरा जटिल थिएन । किनकि उनी शिक्षित परिवारकी छोरी थिइन् । बुवा दुखाराम गच्छदार विराटनगर–४ स्थित गोग्राह माविका प्रधानाध्यापक थिए । जसले घरमा शैक्षिक वातावरण थियो । उनले प्राथमिक शिक्षा गाउँकै विद्यालयबाट सुरु गरिन् । अक्षर चिन्ने बेलादेखि नै उनमा अध्ययनप्रति विशेष रुचि थियो ।
सुनसरीको बेलगाँछीस्थित एक आधारभूत विद्यालयवाट ५ कक्षासम्म पढेपछि उनी विराटनगरको गोग्राह मावि भर्ना भइन् । त्यहीँबाट एसएलसी उत्तीर्ण गरेपछि उनले विज्ञान विषय रोजिन् । विराट साइन्स क्याम्पसबाट आइएस्सी र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट बिएस्सी पूरा गरिन् । विज्ञान जस्तो कठिन विषयमा उनको दख्खल देखेपछि धेरैले प्राविधिक क्षेत्रमा जान सुझाए । तर, उनले चाहीँ अध्ययनलाई बहुआयामिक बनाउने निधो गरिन् ।
वनस्पति र समाजशास्त्र गरी दुई वटा फरक धारका विषयमा स्नातकोत्तर गरिन् । वनस्पति शास्त्रमा विराटनगरकै डिग्री कलेजबाट र समाजशास्त्रमा पाटन बहुमुखी क्याम्पसबाट डिग्री गरिन् । विज्ञानले उनलाई तथ्य र प्रमाणमा आधारित हुन सिकायो भने समाजशास्क्रले समाजको संरचना र मानिसका दुःख बुझ्न मद्दत मद्दत गर्यो । अध्ययनकै त्रममा उनले गत वर्ष त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा विद्यावारिधि गरिन्।
डा. प्रमिलाको राजनीतिक यात्रा चाहीँ २०६३ को मधेश आन्दोलनबाट थालनी भयो । मधेश आन्दोलनपछिको राजनीतिक परिवर्तनसँगै उनी खासगरी जातीय पहिचानको आन्दोलनमा संगठित बन्न थालिन् । नेता विजयकुमार गच्छदारसँगको पारिवारिक नाताले सुरुमा उनलाई तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) मा आबद्ध हुन प्रेरित गर्यो । पार्टीको केन्द्रीय सदस्य र भ्रातृ संगठन ‘युवा फोरम’ को उपाध्यक्षका रूपमा काम गर्दा गाउँ–गाउँ पुगेर कार्यकर्ता संगठित गर्न सिकिन् ।
२०७३ मा फोरम लोकतान्त्रिक कांग्रेसमा विलयपछि उनले महाधिवेशन प्रतिनिधि र विभिन्न विभागहरूमा रहेर कार्यक्षमता प्रदर्शन गर्ने मौका पाइन् । हाल उनी नेपाली कांग्रेस कोशी प्रदेशको सह–महामन्त्री र महासमिति सदस्य हुन् ।
राजनीति र प्राज्ञिक क्षेत्रको सन्तुलन मिलेकै कारण उनलाई कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्यमा नियुक्त गरेको थियो, २०८१ असोज १० मा । करिब १४ महिनाको कार्यकालमा प्रदेशको विकासको खाका कोर्न, बजेटको प्राथमिकीकरण गर्न र दीर्घकालीन योजना बनाउन महत्वपूर्ण भूमिका खेलेको दाबी गर्छिन् ।
कुनै पनि महिला नेतृत्वमा पुग्न लाग्दा समाजले उनको क्षमताभन्दा बढी उनको ‘कनेक्सन’ खोज्ने गर्छ । प्रमिलाले पनि त्यो आरोपको सामना गर्नुपर्यो । पूर्वमन्त्री विजयकुमार गच्छदारसँग जोडेर सामाजिक सञ्जालहरुमा टिप्पणी गर्ने काम पनि भयो । तर, उनी यसलाई समाजको संकीर्ण सोच मान्छिन् । उनी स्पष्ट पार्छिन्, ‘थर एउटै हुँदैमा नाता जोडिने होइन । म आफ्नै पौरख, शिक्षा र राजनीतिक संघर्ष पार गर्दै यहाँसम्म आएकी हुँ ।’ खासमा प्रमिलाका बाआमाका सहपाठी मात्रै हुन् विजय गच्छदार । उनीहरुको पारिवारिक नाता पनि छैन ।
संसदमा प्रवेश गरेसँगै डा. प्रमिलाका काँधमा ठूलो जिम्मेवारी आइलागेको छ । उनले नीतिगत सुधार, सुशासन र भ्रष्टाचार नियन्त्रणसँगै महिला र सीमान्तकृतको आवाज सदनमा बुलन्द पार्ने जनाएकी छन् । अब डा. प्रमिलाको परिचय अब एउटा थारु छोरीका रुपमा मात्र सीमित रहेन । नीतिगत सुधारको सपना बोकेर उनी पहिलो पटक संसद उक्लिएकी छन् ।
