उज्ज्वल थापाको वैकल्पिक राजनीतिको जगलाई आत्मसाथ गर्दै र समतामूलक समृद्धिको एजेन्डालाई केन्द्रमा राखेर रास्वपामा मिलेको उनी बताउँछन् ।
What you should know
काठमाडौँ — ‘तँ अब बल्ल नेता भइस्,’ रास्वपा समानुपातिक सूचीबाट सांसदमा निर्वाचित भएपछि प्रकाशचन्द्र परियारलाई बा लालबहादुरले हर्षविभोर हुँदै भने ।
झण्डै एक दशक वैकल्पिक राजनीतिमा विभिन्न उतारचढाव खेपिरहेका प्रकाशलाई बाले कहिल्यै नेता मानेनन् । बरु भन्थे, ‘प्रयासचाहिँ गरिरहेको छस् ।’ संसदीय यात्रा निश्चित भएपछि लालबहादुरले छोरालाई आशिर्वाद दिँदै भने, ‘यो ठूलो जिम्मेवारी हो । नहडबडाई मिहिनेत गरेर काम गर्नू । विचार गरेर बोल्नू ।’
बाको आशीर्वाद शिरोपर गरेर उनी प्रमाणपत्र बुझ्न गए । हातमा प्रमाणपत्र थमाउँदै गर्दा एकाएक उनका हात गह्रुँगा भए । परेलाले आँसु लुकाउन सकेनन् । त्यतिबेला उनको स्मृतिमा भाइ दयाराम नाचिरहे ।
२०६२/०६३ को जनआन्दोलनमा दयाराम राष्ट्रिय मान अधिकार आयोगको अनुगमनको सिलसिलामा जनकपुर पुगेका थिए । त्यतिबेला राज्यपक्षबाट भएको अन्धाधुन्ध गोली प्रहारबाट २२ वर्षकै उमेरमा उनी कहिल्यै नउठ्ने गरी ढले । भाइको सहादतले परिवारमा दिएको चोटले त अहिले पनि चहर्याइरहन्छ । तर भाइको न्यायका निम्ति पनि उनीहरूले संघर्ष गर्नुपर्यो ।
‘विडम्बना त के थियो भने, जुन मानव अधिकार आयोगमा उसले काम गरेको थियो, उसैले भाइको सहादतको मर्म बुझ्न सकेन । हामीले भाइलाई सहिद स्थापित गर्न, उसको नाममा स्मृति सभा, पुरस्कार र फेलोसिप राख्न आयोग र सरकारसँग वर्षौँसम्म खबरदारी गर्नुपर्यो,’ प्रकाश सम्झन्छन् ।
दलितप्रतिको पूर्वाग्रही सोचका कारण भाइको योगदानलाई सामान्यीकरण गर्ने प्रयत्न गरिएकोको हो कि ? प्रकाशलाई लागिरह्यो ।
हुन त जेनजी आन्दोलनमा थुप्रै अभिभावकको कोख रित्तियो । सयौँले आफ्नाहरूलाई गुमाए । घाइतेहरू चहर्याइरहेको घाउ बोकेर हिँडिरहे । प्रकाशले त्यतिबेला पनि दुई दशक अगाडिको आन्दोलनमा अस्ताएको भाइलाई हरदिन सम्झेर विथोलिँदै सोचें, ‘घटना पुरानो भए पनि, घाउचाहिँ पुरानो नहुँदो रहेछ ।’ त्यसकारण प्रकाशचन्द्र आफ्नो राजनीतिक जगलाई जहिल्यै पनि भाइको सहादतसँग लगेर जोड्छन् । ‘मलाई लाग्छ, यहाँसम्म आइपुग्दा भाइको त्यो बलिदान नै मेरो राजनीतिक यात्राको एउटा मुख्य जग हो ।’
सांसद बनिसकेपछि आउने बधाई र शुभेच्छा त थुप्रै थिए । तर एकजना मित्रले उनलाई बधाई दिएनन् । बरु घतलाग्दो प्रतिक्रिया दिए, ‘तिमी त एक दशकअगाडि नै सांसद हुनुपर्ने मान्छे । अहिले त तिमीले यो अनुभवबाट अरुलाई सिकाउनुपर्ने हो ।’
प्रतिक्रियाले उनलाई गम्भीर बनायो । आफूसँग भएको अबको समयलाई इमानका साथ कसरी अर्थपूर्ण बनाउने भन्ने कुरामा उनी थप घोत्लिए । ‘अहिले लाग्छ, लाखौँ मानिसले मलाई माइक्रोस्कोपबाट हेरिरहेका छन्, जहाँ मेरो इमान र क्षमताको हरेक पाइलामा परीक्षण हुनेछ । मैले यसलाई जतनले जोगाइराख्नु छ,’ उनी दृढ मुद्रामा भन्छन् ।
प्रकाश ०३३ साल कात्तिक ५ गते खोटाङको ऐंसेलुखर्कमा जन्मिए । जन्मेको केही वर्षमै उनको परिवार इटहरी झर्यो । इटहरी झर्नुपछाडिको पनि त कथा छ ।
उनका हजुरबा पहाडमा एक अगुवाका रुपमा चिनिन्थे । उनी समाजसेवा मात्र हैन, सिलाइ बुनाइ र बाजा बजाउन पनि उत्तिकै सिपालु थिए । त्यही गुण उनका बामा पनि सरेको थियो । हजुरबा ब्यान्ड मास्टर थिए । उनले तत्कालीन पञ्चायती व्यवस्थामा राजनीतिमा सक्रिय हुन चाहन्थे । तर दलित समुदायको व्यक्तिलाई राजनीतिमा निषेध गर्न ‘टाठाबाठा’ लागिपरे । किनाराकृत पारिएपछि त्यही पीडाको रापमा हजुरबा सपरिवार इटहरी झरे । प्रकाशचन्द्रको बाल्यकाल इटहरीमै बित्यो । इटहरीमा प्रकाशका बा सिलाइबुनाइ र दलित समुदायभित्र पुरेत्याइँ गर्थे ।
उमेरको आँखीझ्यालबाट बाल्यकाल चियाउँदा उनीसँग नमिठा भोगाइ पनि छन् । सङ्लो स्मृतिमा ती दृश्य कहिल्यै धमिला हुँदैनन् । पुजाआजा वा बिहे-बटुलोमा उनीहरूलाई अर्कै घेरामा राखिन्थ्यो । एकपटक प्रकाश साथीको घरमा गएका थिए । साथीको आमाबुबाले घृणाजन्य शब्दहरू पोख्दै छोरालाई गाली गरे, ‘यसलाई किन यहाँ ल्याएको ?’ उनी खाना खाइरहेका थिए । आफूमाथि अपमान वर्षिएपछि खाँदाखाँदैको भाग छाडेर हिँडे ।
‘एक बालकका लागि आत्मसम्मानमा लागेको त्यो चोट कुटाइभन्दा पनि ठूलो दुखाइ थियो,’ प्रकाश वर्षौँअघिका ती दिन सम्झँदै आँसु पुस्छन्, ‘यिनै घटनाहरूले मलाई समानताका पुस्तकहरू पढ्न र विभेद विरुद्ध लड्ने प्रेरणा दिए ।’
स्कुल छँदा प्रकाश हाजिरीजवाफदेखि वक्तृत्वकलासम्म अग्रस्थानमा हुन्थे । त्यतिबेला उनले दुई वटा छोटा शब्दहरूलाई निकै पछ्याएका थिए । ती थिए– प्राडा र प्रोफेसर । ती शब्दका अर्थ थाहा पाएपछि उनी जीवनमा प्रोफेसर बन्ने रहरलाई आफैंभित्र बुन्न थाले । प्रकाशचन्द्रका बा भने छोरालाई सरकारी कर्मचारी बनाउने रहर पाल्थे । ‘समाजमा उनीहरूलाई गर्ने सम्मान बाले देख्नुभएको थियो । त्यसकारण मलाई पनि उहाँ सरकारी कर्मचारी भएको हेर्न चाहनुहुन्थ्यो,’ उनी सुनाउँछन् ।
स्कुले जीवनमै छिमेकी बैदारको छोराको घरबाट पुस्तक मागेर उनले पढ्ने लत बनाएका थिए । ‘मैले पहिलो पुस्तक नै हिटलरको जीवनीको हिन्दी अनुवाद पढेको थिएँ । त्यसले मलाई अधिनायकवाद र इतिहासप्रति जिज्ञासु बनायो । तर मेरो मुख्य रुचि चाहिँ साहित्य र पत्रपत्रिकामा थियो,’ उनी बाल्यस्मृति उत्खनन् गर्छन् ।
२०४५ सालमा उनीहरूको घरमा आगलागी भयो । त्यही आगलागीमा उनले इटहरीको तरहरामा रहेको घर गुमाए । उनी कक्षा ४ मा पढ्थे । घरसँगै उनले आफ्नो झोला र पुस्तक जलिरहेको देखे ।‘म आफ्नो किताब र झोला बचाउन आगोभित्रै पस्न खोजेको थिएँ, तर मलाई बाहिर तानियो,’ उनी धुवाँमग्न दिनको त्यो उकुसमुकुस सम्झन्छन् ।
त्यही सालको अन्त्यतिर उनले आमा अम्बादेवी शिवा र बहिनी गुमाए । आमा प्रसव पीडामा थिइन् । बहिनी जन्मिएको दिनमै समयमै उपचार नपाएका कारण आमाले संसार छाडिन् । आमा बितेको १५ दिनमा बहिनी पनि बितिन् । ‘हजुरबाले बहिनीको लाशलाई बोकेर जंगलतिर रुँदै लगिरहेको दृश्य अहिले सम्झँदा पनि भाउन्न हुन्छ,’ प्रकाश थर्थराएको स्वरमा सुनिन्छन् ।
उनले २०५० सालमा एसएलसी पास गरे । धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आइए र बीए उत्तीर्ण गरेँ । बीए पढ्दै गर्दा उनका बाले विराटचोकमा जग्गा किनेका थिए । कारण त्यहाँ पूर्वाञ्चल विश्वविद्यालय आउँदै थियो । छोरोले बीए सकाएपछि त्यहीँ क्याम्पस पढाउन सजिलो हुन्छ भन्ने लाल बहादुरको सोच थियो ।
उसो त प्रकाश सिलाइ सीपमा पनि अब्बल थिए । आफैं दौरा-सुरुवाल, पाइन्ट-सर्ट र लेडिज कुर्ता सिलाउँथे । कलेज जाँदा आफैंले सिलाएको चिटिक्कको कपडा लगाएर जान्थे । तर, बाले उनलाई सिलाई मेसिन चलाउन रोकिदिए । ‘उहाँलाई डर थियो कि दैनिक पैसा कमाउने लतमा लागेर छोराले पढाइ बिगार्छ भनेर,’ प्रकाशचन्द्र सुनाउँछन् ।
इटहरीमा छँदा प्रकाशचन्द्रले तरहरा सार्वजनिक पुस्तकालय स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । त्यहाँ उनीहरूले उद्घोषण तालिम, लोक नृत्य र वक्तृत्वकला प्रतियोगिता आयोजना गरेर सामाजिक चेतना फैलाउने काम गर्थे । बीएपछि भने उनी काठमाडौं आए । आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरे ।
२०६० सालमा कान्तिपुर टेलिभिजनबाट पत्रकारिता अगाडि बढाए । त्यसअघि उनले कान्तिपुर दैनिकमै स्टिन्जरको रुपमा काम गरेका थिए । पत्रकारितामा करिब १ दशक सक्रिय भएपछि उनले विश्राम लिए । स्विस एम्बेसीमा मिडिया म्यानेजरका रुपमा तीन वर्ष काम गरे ।
उनी अमेरिका र अष्ट्रेलियामा फेलोसिप र तालिमका लागि पनि गए । तर त्यहीँ पलायन हुने सोच बनाएनन् । उनको मान्यता थियो, ‘जुन उद्देश्यका लागि विदेश गएको हो, त्यो पूरा भएपछि स्वदेश फर्किएर यहाँको माटोमा योगदान दिनुपर्छ ।’
सामाजिक न्याय, समावेशिता, सञ्चार र नेतृत्वसीपका लागि उनले सन २०१० मा अष्ट्रेलियन लिडरसिप अवार्ड प्राप्त गरेका थिए । सन् २०१२ मा सामाजिक न्याय र समावेशिता प्रवर्दधनमा योगदान गरेवापत दिल्लीमा डक्टर अम्बेडकर अन्तराष्ट्रिय अवार्ड पनि प्राप्त गरेका थिए ।
२०७२ को भूकम्पदेखि उनी उज्ज्वल थापाहरूको 'नेपाल युनाइट्स' अभियानमा जोडिएका थिए । २०७३ सालबाट भने उनी वैकल्पिक राजनीतिमा होमिए । २०७४ मा विवेकशील र साझा पार्टी एक भएपछि उनी संस्थापक सदस्य भए । पार्टीले राम्रो राजनीतिक अभ्यास सुरु गरेको थियो । तर बेलाबेला विवेकशील साझामा आन्तरिक उतारचढाव आइरह्यो ।
०७९ मा भने स्थानीय तह निर्वाचनको परिणाम र रवीन्द्र मिश्रको दस्तावेजलाई लिएर पार्टीभित्रको विवाद उत्कर्षमा पुग्यो । अन्ततः रवीन्द्र राप्रपामा प्रवेश गरे । पार्टी झन्झन् कमजोर बन्यो । तर उनीहरू विचलित भएनन् । ‘हामीले सुसंस्कृत राजनीतिको आशा देखाएका थियौँ। तर, पछि पार्टीमा वैचारिक मतभिन्नता र उथलपुथल आयो । उज्ज्वल थापाको निधन र नेतृत्वको विचलनका कारण पार्टी कमजोर बन्दै गयो । तैपनि हामीले लोकतान्त्रिक गणतन्त्र र सामाजिक न्यायको मर्मलाई मर्न दिएनौँ,’ प्रकाश सुनाउँछन् ।
उनी विवेकशील साझा पार्टीको पछिल्लो संरचनामा केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा थिए । पार्टीको पहिलो महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएका उनी अन्य राजनीतिक शक्तिहरूसँगको एकता र सहकार्यका लागि गठित उच्चस्तरीय राजनीतिक संवाद समितिको संयोजकका रूपमा पनि सक्रिय रहे । २०८२ सालको उत्तरार्धमा विवेकशील साझा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच भएको ऐतिहासिक एकता प्रक्रियामा मुख्य वार्ताकार र प्रस्तावकको रूपमा नेतृत्वदायी भूमिका खेले ।
विवेकशील साझाको ‘अवसान’पछि उनीहरूले जेनजी विद्रोह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को क्रेजलाई नजिकबाट नियालिरहेका थिए । पछि रास्वपामै समाहित भए ।
‘हामीले रास्वपालाई कहिल्यै प्रतिस्पर्धी ठानेनौँ, बरु 'निकटतम मित्र शक्ति' भन्यौँ,’ प्रकाश विवेकशील रास्वपामा समाहित गराउनुको कारण भन्छन्, ‘अन्ततः उज्ज्वल थापाको वैकल्पिक राजनीतिको जगलाई आत्मसाथ गर्दै र समतामूलक समृद्धिको एजेन्डालाई केन्द्रमा राखेर हामी रास्वपामा मिल्यौँ ।’
विवेकशीलमै हुँदा उनी हरेक मुद्दाहरूमा उभिइरहे, बुलन्द आवाज बोलिरहे । जस्तो कि रुकुममा २०७७ जेठ १० गते भएको दलित युवाहरूको हत्याविरुद्ध उनले सुरुदेखि नै सडकमा 'समतावाद जिन्दावाद' भन्दै नारा लगाए । मसाल जुलुसमा सहभागी भए । गत भदौ २३ गतेको जेनजी आन्दोलनकै बेलामा पनि प्रकाशचन्द्र जेनजी पुस्ताकी छोरीसँगै सडकमा थिए । निर्मला पन्तको बलात्कार पश्चात् हत्या प्रकरणमा पनि न्याको माग गर्दै सडकमा उभिए ।
पत्रकारिता हुँदै वैकल्पिक राजनीतिमार्फत् सडकमा खबरदारी गरिररहने प्रकाशचन्द्र अब सदनमा पुगेका छन् । सदन त्यस्तो ठाउँ हो, जसले सडकका दबिएका आवाजलाई अनुमोदन गर्छ । न्यायको नक्सा कोर्छ ।
त्यो जिम्मेवार ठाउँमा पुगेर उनी के चाहन्छन् त ? ‘मेरो पहिलो प्राथमिकता 'छुवाछुत कसुर तथा सजाय ऐन २०६८' लाई संशोधन गर्नु हुनेछ, ताकि यसले प्रभावकारी ढङ्गले काम गर्न सकोस् र अपराधीले उम्कने ठाउँ नपाओस्, ’ उनको वाचा छ ।
उनले केही भिजन बोकेका छन् । ‘४डी’को संज्ञा दिँदै उनी प्रस्ट्याउँछन्, ‘डेमोक्रेसी, डेभलपमेन्ट, डाइभर्सिटी र डिग्निटी यी असाध्यै महत्वपूर्ण कुरा हुन् ।’ नेपाललाई एक दशकभित्रै सम्मानजनक मध्यम आय भएको देश बनाउने लक्ष्यका साथ काम गर्ने संकल्प पनि उनी हामीलाई सुनाउँछन् ।
उनले गरेका संकल्प र वाचाहरू जनताले त सम्झिरहने छन् । उनी आफैंले कति सम्झेलान् ? संसदीय राजनीतिमा उनी आफ्ना वाचाप्रति कति प्रतिवद्ध होलान् । ‘मेरो नयाँ परीक्षा अब सुरु भएको छ,’ उनी स्वीकारोक्तिसहित दृढ सुनिन्छन् ।
