भारतको निर्भया काण्डदेखि नेपालको भूकम्पसम्म रिपोर्टिङ गरेकी सुम्निमा उदास अब सांसदको भूमिकामा सामाजिक रूपान्तरणका लागि क्रियाशील हुँदैछिन्।
What you should know
काठमाडौँ — तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ८ वर्षअघि ‘हामीले सिंगापुर, अमेरिका, चीन, बेलायतमा जस्तो अति उत्कृष्ट विद्यार्थी कहिले प्रधानमन्त्रीका रूपमा पाउँछौं’ भन्ने प्रश्न गरेर चर्चामा आएका थिए, सागर ढकाल ।
‘बेलायतमा ७० वर्षदेखि सफल प्रधानमन्त्री अक्सफोर्ड विश्वविद्यालयका छन्, तर, नेपालको विगत ७० वर्षदेखिको हाम्रो मन बुझ्ने प्रधानमन्त्री पायौं, तपाईंले कहिले विस्थापित हुने ?,’ उनले सोधेका थिए ।
त्यसबेला ‘मैले नेपालमा अक्सफोर्ड’ कहाँबाट ल्याउने भन्दै देउवाले दिएको जवाफ भाइरल भएको थियो । २०७९ सालको चुनावमा उनले आफैंले देउवालाई विस्थापित गराउने उद्देश्यले डडेलधुरामै गएर संसदीय चुनावमा चुनौती पनि दिए, तर उनलाई हराउन सकेनन् ।
जेन-जी आन्दोलनपछि २१ फागुनमा भएको चुनावपछि ढकाल स्वयं मात्र निर्वाचित भएका छैनन्, शैक्षिक पृष्ठभूमिमा अक्सफोर्ड जोडिएका युवा पनि सांसद बनेका छन् । तिनैमध्येकी एक हुन्, समानुपातिकबाट सांसद बनेकी सुम्निमा उदास ।
रास्वपाले नवनिर्वाचित सांसदहरूका लागि राखेको प्रशिक्षणमा सहभागी भएपछि उनले अक्सफोर्ड प्रवेश गर्नुअघि भएको कक्षा सम्झिइन् ।
‘अक्सफोर्डमा सुरूमा जाँदा त्यस्तै महसुस हुन्थ्यो, कति धेरै दायित्व भने जस्तो हुन्थ्यो,’ उनले भनिन्, ‘यो पनि मलाई कर्पोरेट तालिम जस्तो लाग्यो, एकदमै इन्टेन्स, यत्रो जिम्मेवारी र दायित्व हुँदा डर पनि लाग्यो ।’ उदासले सन् २००२ देखि २००३ सम्म युनिभर्सिटी अफ अक्सफोर्डमा कला इतिहास, समालोचना र संरक्षणमा स्नातकात्तर अध्ययन गरेकी थिइन् । त्यसअघि उनले अमेरिकाको भर्जिनियास्थित वासिङ्टन एन्ड ली युनिभर्सिटीबाट ब्रोडकास्ट जर्नलिज्ममा स्नातक अध्ययन गरेकी थिइन् ।
पूर्वकूटनीतिज्ञ भीम उदासकी छोरी उनी पाकिस्तान, इटानी, स्विजरल्यान्ड, जोर्डन, रसिया, अमेरिका, म्यानमारसहितका १० देशमा बस्दै हुर्किएकी थिइन् ।
सीएनएनकी पूर्व दक्षिण एसिया प्रमुख
पढाइ सकेपछि उनले चार महिना विदेश सम्बन्ध समितिमा रहेका सिनेटर रिचर्ड जी लुगरका लागि क्यापिटल हिलमा इन्टर्नसिप गरेकी थिइन् । सन् २००१ सेप्टेम्बरदेखि उनले अमेरिकी समाचार संस्था सीएनएनका लागि ‘न्युज असिस्टेन्ट’का रूपमा काम गरेकी थिइन् ।
सन् २००६ मा न्यूयोर्कबाट हङकङ सरेर कार्यक्रम निर्माताका रूपमा उनले काम गरेकी थिइन् । त्यसको ४ वर्षपछाडि उनले भारतको नयाा दिल्लीमा आएर दक्षिण एसिया ब्युरोमा काम गरेकी थिइन् । उनले सीएनएनका लागि १६ डिसेम्बर २०१२ मा भारतमा गुडिरहेको बसमा भएको सामूहिक बलात्कारको प्रकरण कभर गरेकी थिइन् ।
भारतको बहुचर्चित बलात्कार र हत्याको घटनामा ६ आरोपीले पछि मृत्युदण्डको सजाय पाएका थिए । २३ वर्षीय मेडिकल विद्यार्थी निर्भयाको बलात्कारपछि हत्या हुादा देशभरि न्यायको माग गर्दै विरोध प्रदर्शन भएको थियो ।
यो घटनापछि भारतमा महिला हिंसाविरुद्धको कानुनकै समीक्षा भयो र २०१२ मा संशोधन गरेर बलात्कार जस्तो जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था गरिएको थियो ।
यो घटनाबारे रिपोर्टिङ गर्दाको अनुभवबारे उनले सीएनएन इन्टरनेसनलको वेबसाइटमा लेखेकी छिन्, ‘त्यो घटनाले महिला हिंसाको बहसमा जेहाद छेड्यो, सचेतना पनि बढ्यो । अहिले महिलाहरू बलात्कारका घटना मात्र होइन, यौन दुर्व्यवहार, छेडछाड, स्टकिङ, भोएरिज्मजस्ता अपराधबारे पनि उजुरी गर्न साहसी भएका छन् ।’
भारतीय कानुनले हिंसा पीडितको नाम सार्वजनिक गर्न निषेध गर्छ । ‘तर उनको परिवार र लाखौं भारतीयका लागि उनी सधैं मिडियाले दिएको नाम निर्भया अर्थात् निडर महिलाका रूपमा सम्झिइनेछिन्,’ उनले भनेकी छन् । उदासलाई सन् २०१३ मा सीएनएनले दक्षिण एसिया ब्युरो प्रमुखमा बढुवा गर्यो ।
सुम्निमालाई ब्युरो प्रमुख बनाएको घोषणा गर्दा सीएनएन इन्टरनेसनलकी म्यानेजिङ एडिटर एलाना लीले भनेकी थिइन्, ‘उनी एक प्रतिबद्ध पत्रकार हुन्, जसले विश्वभरिका दर्शकसम्म महत्त्वपूर्ण समाचार पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । उनलाई दिल्ली संवाददाताका रूपमा नियुक्त गरेसँगै यस विविध र गतिशील क्षेत्रमा हाम्रो उपस्थितिलाई अझ सुदृढ बनाउने अपेक्षा गरेका छौं ।’
विश्वको सबैभन्दा ठूलो लोकतन्त्र र उदाउँदो आर्थिक शक्तिका रूपमा रहेको भारत २०१४ को निर्वाचनतर्फ अघि बढ्दै गर्दा विश्वको ध्यान त्यतैतर्फ केन्द्रित हुने भन्दै उनलाई जिम्मेवारी दिइएको भनिएको थियो ।
उदासले नयाँदिल्ली उच्च अदलालतबाहिर भएको बम विस्फोट, भ्रष्टाचारविरोधी आन्दोलन, भारतीय गाउँमा रहेका दासत्व प्रथान लगायतबारे महत्त्वपूर्ण रिपोर्टिङ गरेकी थिइन् । नेपालमा भूकम्प गएका बेला पनि उनी सीएनएनका लागि काम गर्न काठमाडौं आएकी थिइन् ।
बिहेमा राहुल गान्धी अतिथि, भारतमा तरंग
अहिले सांसद बनेकी उदासको बिहेमा चार वर्षअघि भारतीय कांग्रेसका नेता राहुल गान्धीसमेत सहभागी भएका थिए । गान्धीको काठमाडौं यात्रालाई लिएर भारतमा ठूलै विवादसमेत भएको थियो ।
आफ्ना केही साथीसहित काठमाडौं आएका गान्धी काठमाडौंको मेरियट होटलमा बसेका थिए । म्यानमारका लागि पूर्वराजदूतसमेत रहेका उनका बुबा भीम उदासले त्यसबेला कान्तिपुरसँग भनेका थिए, ‘हामीले गान्धीजीलाई छोरीको बिहेमा उपस्थित हुन निमन्त्रणा पठाएका थियौं ।’
काठमाडौं आएका बेला गान्धी काठमाडौंको एनओडी क्लबमा समेत पुगेका थिए । त्यहाँको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भारतको सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) का सामाजिक सञ्जाल विभाग प्रमुख अमित माल्भ्या र केन्द्रीय मन्त्री गिरिराज सिंहले पनि ट्वीट गर्दै आलोचना गरेका थिए ।
माल्भियाले भनेका थिए, ‘सन् २००८ मा पनि मुम्बई आक्रमणमा पर्दा राहुल गान्धी नाइटक्लबमा थिए, अहिले उनको पार्टी संकटमा रहेका बेला पनि उनी नाइटक्लबमै छन् ।’ यो विवाद यति बढ्यो कि कांग्रेसका मुख्य प्रवक्ता रणदीप सुरजेवालाले जवाफ नै दिनु पर्यो । उनले भनेका थिए, ‘राहुल गान्धीबिना निम्तो पाकिस्तान गएका प्रधानमन्त्री नरेन्द्र मोदी जस्ता होइनन्, राहुल गान्धी मित्रराष्ट्र नेपालमा एक साथीको निजी विवाह समारोहमा सहभागी हुन गएका हुन् । संयोगवश ती साथी पत्रकार पनि हुन् ।’
उदासको बिहे २० वैशाख २०७९ मा व्यवसायी निमा मार्टिन शेर्पासँग भएको थियो । २२ वैशाखमा बौद्धस्थित हायात होटलमा रिसेप्सन थियो, जहाँ भारतका अरु भीआईपीहरू पनि सहभागी थिए । पत्रकारिता छाडेपछि उदास ‘द लुम्बिनी म्युजियम इनिसिएटिभ’मा कार्यकारी निर्देशकका रूपमा काम गरिरहेकी थिइन् ।
‘रोम हुँदै अम्मान, मस्कोदेखि याङ्गुन, पेशावरदेखि नयाँदिल्ली र जेनेभादेखि न्युयोर्कसम्मका सांस्कृतिक रूपमा समृद्ध सहरहरूमा हुर्किएकी एक नेपालीका रूपमा उनले सधैं आफ्नो हजारौं वर्षा पुरानो समृद्ध बौद्ध, हिन्दू सम्पदालाई विश्वमञ्चमा पर्याप्त रूपमा प्रस्तुत र प्रवर्द्धन नगरिएको महसुस गरिन्,’ यसको वेबसाइटमा भनिएको छ, ‘ सन् २०१६ मा उनले नेपाल सरकारलाई पत्र लेख्दै अत्याधुनिक संग्रहालय निर्माण गर्ने प्रस्ताव राखिन्, भगवान बुद्धको जन्मस्थलमा ।’
सन् २०१८ सेप्टेम्बरमा नेपाल सरकारले नेपाल–आधारित गैरनाफामूलक संस्था बुद्ध फाउन्डेसनलाई आगामी ३५ वर्षका लागि लुम्बिनीमा विश्वस्तरीय संग्रहालय निर्माण, डिजाइन, क्युरेसन, व्यवस्थापन र सञ्चालन गर्ने जिम्मेवारी सुम्पिएको भनिएको छ ।
सुम्निमाले पत्रकारितामा रहँदा ‘हराएका आत्माहरू’ शीर्षकको एउटा वृत्तचित्रसमेत बनाएकी थिइन्, जसले नेपालमा मूर्तिहरूको अवैध तस्करीबारे उजागर गरेको थियो ।
