‘अन्याय’ सहन नसक्ने ज्वालाको संसद‍्मा परीक्षा

पूर्वी पाँचथरको पहाडमा जन्मिएर समथर झापामा हुर्किएकी ३३ वर्षीया ज्वाला संग्रौला अबदेखि सुदूरपश्चिमको अछामसँगै पिछडिएको क्षेत्रको प्रतिनिधिका रूपमा संघीय संसद्‍मा उभिने भएकी छिन् ।

चैत्र ८, २०८२

मेनुका ढुंगाना

Jwala, who cannot tolerate 'injustice', faces a test in Parliament

What you should know

अछाम — सार्वजनिक वृत्त होस् या सामाजिक सञ्जाल- यस्ता प्लेटफर्ममा फरक पात्रका रूपमा ज्वाला संग्रौला परिचित छन् । उनको नाम सुन्नेबित्तिकै कतिपयको मनमा अन्यायविरुद्धको ‘आवाज’ गुन्जन्छ । कतिपयले उनलाई ‘विवादास्पद अभियन्ता’का रूपमा सम्झन्छन् । परिचयको पाटो जे जस्तो भए पनि उनी चुपचाप अन्याय सहन सक्दिनन् ।

पूर्वी पाँचथरको पहाडमा जन्मिएर समथर झापामा हुर्किएकी ३३ वर्षीया ज्वाला अबदेखि सुदूरपश्चिमको अछामसँगै पिछडिएको क्षेत्रको प्रतिनिधिका रूपमा संघीय संसद्को रोस्टममा उभिने भएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद निर्वाचित ज्वालाको यात्रा सडकको धूलो र प्रहरीको हिरासत हुँदै सिंहदरबारको उच्च आसनसम्म पुगेको छ । उनको यात्रा रोमाञ्चक र संघर्षपूर्ण छ ।

प्रारम्भिक जीवन ग्रामीण आमसर्वसाधारणको जस्तै अभाव र सपनाका बीच गुज्रियो । केही समय शिक्षण पेसामा पनि बिताइन् । त्यसबेला कक्षा कोठामा बालबालिकालाई अक्षर मात्र सिकाइनन्, समाजको ऐना पनि देखाइन् । उनको स्वभाव ‘जन्मजात विद्रोही’को जस्तै थियो । थिचोमिचो, महिलामाथि हुने विभेद र सरकारी अड्डा–अदालतमा हुने कर्मचारीतन्त्रको ढिलासुस्तीले उनलाई सधैं पोल्ने गर्थ्यो ।

यसैबीच रोजगारी र सफल भविष्यको खोजीमा जापान पुगिन् । त्यहाँको व्यस्त जीवनका बावजुद उनले नेपालका विकृतिमाथि प्रहार गर्न छाडिनन् । जापानबाट सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत सुरु डिजिटल आन्दोलनले उनलाई छोटो समयमै चर्चाको शिखरमा पुर्‍यायो । विमानस्थलमा हुने सेटिङ, वैदेशिक रोजगारीका नाममा हुने ठगी र दुर्गमका महिलामाथि हुने हिंसाविरुद्ध जापानबाटै उठाएको आवाजले काठमाडौंका सत्ताधारीलाई झस्काउन थालिसकेको थियो ।

मुलुक फर्किएपछि पूर्णकालीन सामाजिक अभियन्ताका रूपमा उनी सडकमा उत्रिइन् । सडकको आन्दोलन र राजनीतिको मैदानमा होमिनुअघि ज्वालाले सञ्चार र प्रत्यक्ष सामाजिक सेवाको लामो अनुभव सँगालेकी थिइन् । केही समय नारी टेलिभिजनमा आबद्ध भएर सञ्चारकर्मीका रूपमा काम गरिन् । विशेष गरी महिलाका मुद्दा र समाजका लुकेका अन्यायलाई क्यामेराको लेन्सबाट नियाल्ने र बाहिर ल्याउने मौका पाइन् । यसले भुइँतहका मानिससँग जोडिन झन् सजिलो बनायो ।

कालिकोटमा निर्माणाधीन रास्कोट अस्पतालसँग उनको सामाजिक सेवाको कडी जोडिन्छ । रास्वपा सभापति रवि लामिछानेको अग्रसरतामा सुरु मानवीय कार्यमा ज्वालाले फिल्डमा खटिएर ठूलो ऊर्जा खर्चिन् । नागरिकले स्वास्थ्य सेवा नपाएर अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले श्रमदान र सामाजिक अभियानमा होमिइन् ।

सामाजिक सञ्जाललाई चर्चाको माध्यम मात्र बनाइनन् । असहायका लागि डिजिटल माध्यमबाट सहयोग जुटाइन् । उपचार नपाएर अस्पतालको बेडमा छट्पटाइरहेका बिरामी हुन् वा आर्थिक अभावले पढ्न नपाएका बालबालिकाका लागि ज्वालाले फेसबुकका माध्यमबाट देश–विदेशमा रहेका नेपालीलाई जोडेर करोडौं रुपैयाँ सहयोग जुटाइन् । सामाजिक सञ्जालको शक्तिलाई कसरी अभावमा रहेका मानिसको जीवन बचाउन प्रयोग गर्न सकिन्छ भन्ने उनले व्यवहारमै देखाइन् ।

कहिले राहदानी विभागको लाइनमा भेटिन्थिन् त कहिले उनी हस्पिटलको गेटमा पीडितको न्यायका लागि चिच्याइरहेकी हुन्थिन् । उनले नेतृत्व गरेका कतिपय आन्दोलनले पीडितलाई तत्काल न्याय त दिलाए, तर उनको खरो शैलीले उनलाई विवादको घेरामा पनि तान्यो । कानुनी मर्यादा उल्लंघनको आरोपमा हिरासत भोग्नुपर्‍यो । ती भोगाइले उनलाई गलाउनुको साटो झन् तिखार्ने काम गर्‍यो । ‘मैले सडकमा चिच्याउँदा धेरैले मलाई अराजक देखे,’ उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘त्यसमा मेरो व्यक्तिगत स्वार्थ थिएन । जबसम्म राज्यका निकायहरूले सामान्य नागरिकको कुरा सुन्दैनन्, तबसम्म कसै न कसैले त ठूलो स्वरमा चिच्याउनै पर्छ ।’ 

उनको जीवनमा अछाम एउटा नयाँ र शक्तिशाली कडीका रूपमा जोडिएको छ । मंगलसेन–५ का हिमाल उपाध्यायसँग वैवाहिक सम्बन्धले उनलाई सुदूरपश्चिमकी ‘बुहारी’ बनायो । यो साइनो पारिवारिक मात्र नभएर राजनीतिक रूपमा पनि उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । अछामको नागकिता भएकै कारण पिछडिएको क्षेत्रको क्लस्टरबाट संसद्को उम्मेदवार बन्ने बाटो तय गरिन् । उनको यो कदम आलोचनामुक्त भने रहेन ।

कतिपयले अवसरवादीको संज्ञा दिए भने कतिपयले अछामको भूगोल र जनजीवन नटेकेरै यहाँको प्रतिनिधित्व गरेको भन्दै प्रश्न उठाए । तर, ज्वालाले यस्ता आलोचनालाई चिर्दै आएकी छन् । ‘मैले अछामको नागरिकता चुनाव लड्न लिएको होइन । म अछामको बुहारी हुँ र मेरो सन्तानको रगतमा त्यही माटो मिसिएको छ,’ उनले भनिन्, ‘भूगोल मात्र पिछडिएको हुँदैन, काठमाडौंको सोच पनि पिछडिएको हुन्छ ।’

सांसद निर्वाचित भएसँगै नागरिकका मनमा उब्जिएका शंका मेट्न अब कार्यशैलीबाट उत्तर दिनुपर्ने उनी बताउँछिन् । यहाँका दीर्घकालीन समस्यालाई प्रमुख एजेन्डा बनाएको उनले बताइन् । उनका अनुसार अछामको सबैभन्दा ठूलो कलंक छाउपडी प्रथा हो । युगौंंदेखि महिलाले गोठमा बस्नुपर्ने यो कुप्रथालाई कानुनले मात्र होइन, सामाजिक चेतनाले जरैदेखि उखेल्नुपर्ने छ । ‘म संसद‍्मा छाउपडी प्रथाका विरुद्ध भाषण मात्रै गर्ने छैन, अछामका गाउँगाउँमा पुगेर ती गोठहरू भत्काउने र महिलाको आत्मसम्मान फर्काउने अभियानको नेतृत्व गर्नेछु,’ उनले भनिन् ।

शिक्षा र स्वास्थ्यको नाजुक अवस्था सुधार उनको अर्को प्राथमिकता हो । उपचार नपाएर सुत्केरीले बाटोमै ज्यान गुमाउनुपर्ने नियति बदल्न अस्पतालको स्तरोन्नति र दक्ष जनशक्ति व्यवस्थापनमा उनले जोड दिएकी छन् । सेती र मध्यपहाडी लोकमार्गजस्ता सडक विकासका ठूला योजनालाई गति दिनु मुख्य जिम्मेवारी रहेको उनले बताइन् । जिल्लाका पर्यटकीय क्षेत्रको प्रवर्द्धनलाई महत्त्व दिएकी छन् ।

‘सुदूरकै गहना मानिने वैद्यनाथ धाम, रामारोशन क्षेत्र जस्ता गन्तव्यलाई राष्ट्रिय स्तरमा चिनाएर स्थानीयको जीवनस्तर उकास्ने योजना छ,’ उनले भनिन्, ‘ममाथि गरिएका शंकाहरू मेरो कामका अगाडि फिका हुनेछन् । अछामको माटोले मलाई सांसद बनाएको छ र म यो माटोको ऋण विकास, शिक्षा र पर्यटनमा देखिने गरी परिवर्तन ल्याएर तिर्नेछु ।’

सभापति लामिछाने नेतृत्वमा ‘घण्टी’ को लहर देशभर फैलिन थालेपछि ज्वालाले व्यक्तिगत आन्दोलनलाई संस्थागत गर्ने निर्णय गरिन् । रास्वपाको सुशासनको एजेन्डाले उनलाई राजनीतिमा आउन प्रेरित गर्‍यो । पार्टीले उनको सक्रियतालाई पत्यायो र समानुपातिक सूचीको पिछडिएको क्षेत्रबाट सांसदका रूपमा सिफारिस गर्‍यो । पहिले सडकमा प्रहरीको लाठी सामना गर्ने ज्वाला अब संसद्को मर्यादित घेराभित्र रहेर देशको भविष्य कोर्ने कानुन निर्माणमा सहभागी हुनेछिन् ।

संसद् छिर्दै गर्दा ज्वालाका अगाडि चुनौतीका अग्ला पहाडहरू छन् । सडकको आक्रोश र अभियन्ताको छविबाट बाहिर निस्केर सदनको मर्यादित बहस र तर्कमा आफूलाई रूपान्तरण गर्नु उनको सबैभन्दा ठूलो परीक्षा हुनेछ ।

‘सडकमा कराउँदा मेरो स्वर मात्र सुनिन्थ्यो, अब सदनमा मेरा शब्दहरूले कानुन बोल्नेछन् । म सुदूरका ती महिलाहरूको प्रतिनिधित्व गर्नेछु, जो आज पनि कुप्रथाको सिकार हुन बाध्य छन्,’ उनले भनिन्, ‘म ती युवाहरूको आवाज बन्नेछु, जो खाडीको तातो बालुवामा पसिना बगाउन विवश छन् । मेरो उपस्थितिले सदनलाई सधैं भुइँमान्छेका समस्या सम्झाइ रहनेछ ।’

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully