पूर्वप्रधानमन्त्री मनमोहनका कुटनीतिज्ञ हमाल संसद् यात्रामा

नेकपा माले, एमाले, एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सम्म आइपुग्दा पूर्वकुटनीतिज्ञ प्रमेशकुमार हमालले करिब ५ दशक राजनीतिक यात्रा तय गरिसकेका छन् ।

चैत्र ८, २०८२

गंगा बीसी

Former Prime Minister Manmohan Singh's diplomat Hamal visits Parliament

What you should know

काठमाडौं — पूर्वकुटनीतिज्ञ प्रमेशकुमार हमालले तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल निकट रहेर लामो समय काम गरे । यसबीचमा उनलाई सांसद बन्ने अवसर धेरैपटक आएका थिए तर उनी पार्टीको नीति निर्माणमै रमाए ।

नेकपा माले, एमाले, एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सम्म आइपुग्दा उनले करिब ५ दशक राजनीतिक यात्रा तय गरिसकेका छन् । पार्टीको नीति निर्माण हुँदै यसपटक भने उनी मुलुकको कानुन बनाउने गरी संसद्मा प्रवेश गरेका छन् ।

अब उनले ५ दशक लामो राजनीतिक अनुभव संसदीय अभ्यासमा खर्चिने छन् । निर्वाचनबाट नेकपा खुम्चिएको बेला उनी जस्ता अनुभवी राजनीतिकर्मीले प्रतिपक्षका रुपमा संसद्मा प्रभावकारी भूमिका खेल्ने पार्टीको अपेक्षा पनि छ । उनले पनि जिम्मेवार प्रतिपक्षको भूमिकामा आफ्नो दल तयार रहको प्रष्ट पारे । 

०६२/०६३ को जनआन्दोलन सफल भएपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । राजतन्त्रको विकल्प खोज्दै बनेको नयाँ सरकारले राज्यको निकायहरूको आमूल परिवर्तन गर्ने खाका ल्याएको थियो । दरबारको व्यापक अधिकार कटौती गर्दै गणतन्त्रको बाटोमा सरकार र राजनीतिक दल अघि बढे । त्यही सरकारले उनलाई युरोपियन युनियन हेर्नेगरी नेदरल्याण्ड र लक्जिमबर्गको राजदूतका रुपमा नियुक्त गर्‍यो । ‘मेरो राजनीतिका यात्रा यतिबेलादेखि कुटनीतितिर डोरियो,’ उनले भने ।  

नेपालमा राजतन्त्रविरुद्ध आन्दोलन सफल भए पनि उनी भने राजा भएको देशमा राजदूत बनेर काम गर्न थाले । 

‘त्यो बेलाको एउटा ‘इन्ट्रेस्टिङ’ घटना यहाँ सम्झन्छु । म नेपालमा राजा हटाउने आन्दोलनमा संलग्न थिएँ । रानजदूत भइसकेपछि राजा भएकै देशमा कसरी शान्तिपूर्ण तरिकाले राजतन्त्रको अन्त हुन्छ भन्ने जिज्ञासा मेटाउने काम गर्दै थिएँ,’ उनले सम्झिएँ ।

पूर्वप्रधानमन्त्री मनमोहनको पालामा बनेका थिए यूएन प्रतिनिधि  

०५१ मा भएको निर्वाचनमा एमाले सबैभन्दा ठूलो दल बन्यो । एमाले अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा सरकार बन्यो । त्यो सरकारले संयुक्त राष्ट्र संघको प्रतिनिधिको रुपमा उनलाई नियुक्त गर्‍यो । ९ महिनापछि एमाले सरकार ढल्यो, उनलाई फिर्ता बोलाइयो ।

उनी २०३३ सालमा विद्यार्थी संगठनमा जोडिएका थिए । २०३५/०३६ सालको आन्दोलनमा सक्रिय रुपमा सरिक भए । ‘म त्यसपछि २०३७ सालमा नेपाल बैंक लिमिटेडको अधिकृतको रुपमा काम गर्न थालेँ । त्यहाँ पनि म राजनीतिमा संलग्न थिए,’ उनले भने, ‘मेरो विशेष जिम्मेवारी बौद्धिक क्षेत्रको समन्वय गरी संगठन नेतृत्व गर्ने र परिचालन गर्ने थियो । पछि बैंकको बोर्ड बसेर मलाई निष्कासन गर्‍यो ।’

०४६ सालको आन्दोलन सफल भैकेपछि पार्टीले उनलाई कृषि वन तथा भूमि सुधार मन्त्रालयको सहल्लाहकार नियुक्त गर्‍यो । यो उनको राजकीय काममा पहिलो सहभागिता थियो ।

२०४७ सालमा उनले एमाले निकट नेपाल बुद्धिजीबी परिषद्को संयोजक, ०५३ सालसम्म महासचिव भएर बुद्धिजीबी परिषद्को नेतृत्वमा रहे ।

२०६२ मा रातन्त्रविरुद्ध कांग्रेस, एमालेलगायत ७ राजनीतिक दल सडकमा थिए । माओवादी युद्धमै थियो । एमाले नेताहरू झलनाथ खनाल, वामदेव गौतम माओवादीसँग वार्ता गर्ने गृहकार्यमा लागेका थिए । त्यो टिमको एक सदस्यमा हमाल पनि थिए । उनी दिल्लीमा रहेर राजतन्त्रविरुद्ध संघर्ष गर्न माओवादीसँग हात बढाउँदै थिए ।

‘दिल्लीमा त्यो बेला खास गरेर माओवादीसँग सहकार्य गरेर आन्दोलन सञ्चालन चर्काउने भन्ने थियो,’ उनले भने ।  

एमाले र माओवादीबीच ०७४ मा चुनावी गठबन्धनपछि पार्टी एकता भयो । त्यसबेला नेकपाले नीति अध्ययन प्रतिष्ठान बनायो । संयोजक झलनाथ खनाल भए भने सहसंयोजक हमाल ।

भदौ २०७८ मा एमाले विभाजन भएपछि नेकपा एकीकृत समाजवादी गठन भयो । समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल र उपाध्यक्षमा प्रमेश हमाल भए  । माओवादी र एकीकृत समाजवादीबीच गत कार्तिकमा एकता भएपछि उनी केन्द्रीय सचिवालयको जिम्मेवारीमा रहेर काम गरेका छन् । ०८२ को निर्वाचनमा उनी निर्वाचन परिचालन समितिको सचिव रहेर काम गरे । नेकपाले समानुपातिकतर्फको खस आर्य समूहबाट उनलाई सांसद बनाएको छ ।

‘एउटा असल विधायकको रुपमा काम गर्न सके भने त्यो मेरो निमित्त एउटा महत्वपूर्ण उपलब्ध हुनेछ,’ उनले भने, ‘हामी जिम्मेवार प्रतिपक्षको भूमिकामा हुनेछौं ।’

२०१३ सालामा काठमाडौंमा जन्मेका उनी हाल ललितपुरमा बस्दै आएका छन् ।

गंगा

Link copied successfully