गीताकुमारी सेन्दाङः विद्यार्थी राजनीतिदेखि संसद् सदस्य

राष्ट्रियसभा सिफारिसमा असन्तुष्टि जनाउँदै उजुरी दिएकी सेन्दाङ अन्ततः कोशी प्रदेशको सिफारिसमा प्रतिनिधिसभा सदस्य बनेकी छिन्।

चैत्र ९, २०८२

आनन्द गौतम

Geeta Kumari Sendang: From student politics to member of parliament

What you should know

ताप्लेजुङ — गत मंसिरमा गीताकुमारी लिङ्देन सेन्दाङलाई नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले राष्ट्रियसभा सांसदकालागि सिफारिस गरेको थियो । जुन सम्भावना भन्दा बाहिर थियो । तर, सेन्दाङले भने बिहीबार समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्यको यात्रामा पाइला टेकेकी छन् ।  

कांग्रेसमा तत्कालीन सभापति शेरबहादुर देउवा र वर्तमान सभापति गगन थापाको टिम जिल्ला तहसम्मै छ, ताप्लेजुङ पनि यसमा अछुतो छैन । जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, सचिवद्वय युक हांविर हांगाम र गणेशबावु निरौला शेरबहादुर देउवा पक्षीय पदाधिकारी हुन् । निवर्तमान जिल्ला सभापति एवं निवर्तमान प्रतिनिधिसभा सदस्य लिलादेवी बोखिम, महिला संघका निवर्तमान सभापति गीता सेन्दाङ, महाधिवेशन प्रतिनिधि टिका गुरुङ, बलबहादुर तामाङलगायत जिल्लाका नेताहरु गगन थापा पक्षधर थिए । 

प्रतिनिधिसभा सदस्य निर्वाचनकालागि उम्मेदवार सिफारिस गर्न मंसिर २५ मा नेपाली कांग्रेस ताप्लेजुङमा पहिलो छलफल भयो । कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको पार्टीले प्रतिनिधिसभाका प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभाकालागि उम्मेद्वारको नाम सिफारिस गर्न जिल्ला कार्यसमितिलाई पत्राचार गरेको थियो । 

केन्द्रको पत्रानुसार जिल्ला कार्यसमितिले पहिलो दिन मंसिर २५ मा केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि, पूर्वपदाधिकारी समेतको संयुक्त बैठक बोलाएर उम्मेदवारका विषयमा राय माग्यो । नगद शुल्कसहित अकांक्षीहरुको मनोनयन पनि माग्यो । भोलिपल्ट जिल्ला कार्यसमितिको बैठक बस्यो । यो बैठकले प्रत्यक्ष तर्फको प्रतिष्पर्धाका लागि पार्टी सभापति समेत रहेका गजेन्द्रप्रसाद तुम्याहाङको नाम एकल सिफारिस गर्ने निर्णय गर्यो । समानुपातिक तर्फ प्रताप प्रकाश हाङ्गाम, केशवप्रसाद दाहाल र कल्पनादेवी सिटौलाको नाम सिफारिस गर्यो । 

प्रतक्ष्यतर्फ निवर्तमान सभापति एवं सांसद लिलादेवी बोखिम, महाधिवेशन प्रतिनिधि टिका गुरुङ, बलबहादुर तामाङलगायत इच्छुक थिए । समानुपातिक तर्फ सेन्दाङ समेतले मनोनयन दर्ता गराएका थिए । दुई दिन भएको छलफलमा गुरुङ, तामाङलगायतले तुम्याहाङलाई प्रत्यक्षतर्फ एकल नाम सिफारिसकालागि आफ्नो दाबी छोडे । 

जिल्ला कार्यसमितिले प्रत्यक्षका आकांक्षी बोखिम र समानुपातिकका आकांक्षी सेन्दाङसमेत १० जनालाई प्रतिनिधिसभामा नभइ राष्ट्रिय सभाको उम्मेदवाकालागि सिफारिसको निर्णय गरेर केन्द्रमा नाम पठायो । जिल्लाले गरेको यो निर्णयप्रति बोखिम र सेन्दाङले असहमति जनाएर प्रतिवाद गरे । दुवैले कांग्रेसको कोशी प्रदेश कार्यसमितिमा उजुरी दिए । उजुरीसँगै आफुहरुमाथि अन्याय भएको भन्दै नाम समावेश गरेर केन्द्रमा पठाउन दबाव दिए । 

कोशी प्रदेश कार्यसमितिले जिल्लाले गरेको सिफारिसलाई फेरबदल गर्यो । प्रतिनिधिसभाकालागि प्रत्यक्षतर्फ बोखिम र समानुपातिकमा सेन्दाङको नाम थपेर केन्द्रमा सिफारिस गर्यो । प्रदेशको त्यहीँ सिफारिसले सेन्दाङलाई सांसद बनाएको छ । पार्टी केन्द्रले निर्वाचन आयोगमा पठाएको पहिलो सूचीमा सेन्दाङको नाम आदिवासी जनजातितर्फ तेस्रो नम्बरमा राखियो । सच्याउने समयमा भने आदिवासी जनजाति महिला तर्फको पहिलो नम्बरमै समेटियो र संसदीय यात्राको बाटो खुल्यो । 

सिदिङवा गाउँपालिका–५ मेहेले माइत भएकी सेन्दाङको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट भएको हो। कक्षा ८ मा अध्ययनरत रहँदा उनी निलगिरी मावि मेहेलेको नेपाल विद्यार्थी संघमा आवद्ध भएकी थिइन् । त्यतिबेला कांग्रेसका उम्मेद्वार मणि लामाको चुनावी आमसभामा जाँदा सिनाममा एमाले र कांग्रेसबीच भएको झडपमा उनी घाइते पनि भएकी थिइन् । एमाले कार्यकर्ताले हानेको ढुंगाले सेन्दाङको टाउकोमा चोट लागेको थियो । कक्षा ९ मा अध्ययनरत रहँदै तत्कालीन जिल्ला विकास समिति सभापति दिपेन्द्र सेन्दाङसँग विवाह भएको थियो । 

हक्की स्वभावकी सेन्दाङ निडर र आफ्नो कुरा प्रष्टसँग राख्छिन् । अहिले जिल्लाबाट प्रतिनिधित्व गर्ने चार सांसदमध्ये नियमित जिल्लामा बसेर जिल्लाको वस्तुस्थिति पूर्णरुपमा बुझेकी छन् । सेन्दाङ जिल्लामा बसेर ‘चेलीमाइती सहकारी संस्था’ सञ्चालन गर्दै आएकी थिइन् । 

प्रत्यक्षबाट निर्वाचित क्षितिज थेबे, समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित मिङ्मा ग्याबु शेर्पा र रमेश प्रसाईं  जिल्लामा कमै बसेका छन् । सिरिजङ्गा गाउँपालिका–१ सिनामका थेबे, फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा शेर्पा र मैवाखोला गाउँपालिका–५ फाकुम्बाका प्रसाईं काठमाडौं बस्दै आएका छन् । उनीहरु बेलाबेला जिल्ला आउने गर्छन् । आठराईत्रिबेणी गाउापालिका–२ फुलबारी पुर्ख्यौंली घर भए पनि सेन्दाङको परिवार सदरमुकाम फुङलिङको तोक्मेडाँडामा रहेको आफ्नै निवासमा बस्दै आएको छ । 

प्रजातन्त्र पुनस्थापनापछि २०४८ सालमा तत्कालीन जिल्ला विकास समितिका सभापति बनेका गीताका श्रीमान् दिपेन्द्र सेन्दाङ २०७४ मा कांग्रेसबाट निर्वाचन क्षेत्र नम्बर ‘ख’ बाट प्रदेशसभा सदस्यमा पराजित बनेका थिए । श्रीमान्–श्रीमती दुवै राजनीतिमा क्रियाशील भएकाले कांग्रेसका केन्द्रका नेता ताप्लेजुङ आउँदा सेन्दाङ निवासमा बस्ने, खाना खाने गरेका थिए । नियमित जिल्लामा बस्ने भएकाले जिल्लाका समस्या  
पार्टीको महाधिवेशन प्रतिनिधि, महिला संघको सभापतिलगायतको जिम्मेवारी पूरा गरेकी सेन्दाङले जिल्लाका समस्या र चुनौतीका विषयदेखि महिला अधिकारका विषयलाई संसदमा बुलन्द गर्ने प्रतिवद्धता निर्वाचनताका व्यक्त गरेकी छन् । 

चीन र भारतसँग सीमाना जोडिएको र भौगोलिक हिसाबले डोल्पा र हुम्लापछिको तेस्रो ठूलो जिल्ला भएकाले यहाँका विकास पूर्वाधार, सम्भावनालगायतका विषयमा पहल कदमी गर्ने तयारी सेन्दाङको छ । नेपालमै सबैभन्दा बढी अलैंची उत्पादन गर्ने जिल्ला भएको र यहाँका अधिकांश किसान यसैमा निर्भर भएकाले त्यसको बजारीकरण र मूल्य निर्धारणकालागि पहल गर्ने उनको योजना छ ।

पाथीभरा केबलकार निर्माण पक्षधर उनले सरकारबाट स्विकृत योजनालाई बिना अवरोध सञ्चालनकालागि सांसदमा कुरा उठाउने अपेक्षा निर्माण पक्षको छ । पाथीभराका केबलकार निर्माण हुनुपर्छ र हुनुहुँदैन भनेर मत विभाजित भइरहँदा उनले केबलकारको पक्षमा कडा रुपमा वकालत गरेकी थिइन् । जिल्लामा सञ्चालित हाइड्रो पावरलगायतको गतिकालागि आवस्यक समन्वय गर्ने र निर्माण व्यवसायीको समयमै रकम भुक्तानीकालागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने सेन्दाङ बताउँछिन् । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully