विद्यालय तहदेखि नै कांग्रेसप्रति झुकाव राख्दै आएकी ३० वर्षीया गुरुङलाई यसपटक कांग्रेसले समानुपातिकबाट संसद्मा पठाएको हो ।
What you should know
सोलुखुम्बु — सोलुखुम्बुको दुर्गम गाउँ जुबुमा जन्मेकी गीता गुरुङ यसपटक कांग्रेसबाट संसद्मा पुग्ने कान्छी सांसद हुन् । विद्यालय तहदेखि नै कांग्रेसप्रति झुकाव राख्दै आएकी ३० वर्षीया गुरुङलाई यसपटक कांग्रेसले समानुपातिकबाट संघीय संसद्मा पठाएको हो ।
सानैदेखि पढाईमा अब्बल गीताले २०६६ सालमा विशिष्ट श्रेणीमा एसएलसी उतिर्ण गरेकी हुन् । यसपछि उच्च शिक्षाका लागि उनी काठमाडौं गइन् । उनले काठमाडौंको त्रिचन्द्र कलेजबाट विज्ञान विषयमा स्नातक गरिन् ।
त्रिचन्द्र गएपछि भने गीताको राजनीतिक चेत र आकांक्षाले एउटा लय समातिसकेको थियो । सुरुमा पढाई लेखाईबाटै भविष्य बनाउने सपना देखेकी गीतालाई अब भने राजनीतिले तान्न थालिसकेको थियो । भनिन्छ, मान्छेको जीवनमा २ वटा दिन महत्वपूर्ण हुन्छन् । पहिलो जन्मिएको दिन र अर्को किन जन्मिए भन्ने थाहा पाएको दिन । गीतालाई अब आफू राजनीतिकै लागि जन्मिएको भन्ने लाग्न थालिसकेको थियो ।
स्कुले जीवनमै नेविसंघको इकाई सभापति बनिसकेकाले पनि उनीमा विद्यार्थी राजनीतिप्रतिको आकांक्षा बढिरहेको थियो ।
नेविसंघको कार्यकर्ता भएको हिसाबले त्रिचन्द्र क्याम्पसमा विद्यार्थीका समस्या उठान गर्ने र समाधान गर्नेतर्फ उनका अभियानहरू स्वतस्फूर्त रुपमा बढ्न थाले । बिस्तारै उनी उपत्यकाका जिल्लाहरूमा संगठन निर्माण गर्दै उपत्यका बाहिरका जिल्ला र गृह जिल्ला सोलुखुम्बुमा पहिचान बनाउन र संगठन बनाउनतिर लागिन् ।
२०७९ सालको निर्वाचनसम्म आइपुग्दा गीता गुरुङ कांग्रेस नेतृको रुपमा परिचित भइसकेकी थिइन । त्यही पहिचानले उनलाई २०७९ सालको निर्वाचनमा प्रदेश सभा सदस्यको समानुपातिक उम्मेद्वार बनायो । तर अन्तिम बन्दसूचीमा पर्न सकिनन् । यद्यपि, जे हुन्छ राम्रैका लागि हुन्छ भने झै आज उनी संघीय सांसद् बनिन् । त्यो पनि पार्टीकै कान्छी सांसदका रुपमा ।
यसपटक देशैभर कांग्रेसले हार व्यहोर्नु पर्यो तर सोलुखुम्बु भने कांग्रेसको गढ झै बन्यो । किनकी प्रत्यक्ष र समानुपातिक गरी ३ जना सांसद यहाँबाट प्रतिनिधिसभामा गएका छन् । ३ सांसदमध्ये आदिबासी जनजाति क्लष्टरबाट सांसद बनेकी हुन् गीता । पछिल्लो समय कांग्रेसको घटेको मत र साख दुवैलाई जोगाउने र बढाउने दायित्व उनमा छ । त्योभन्दा महत्वपूर्ण जिल्लाको समग्र विकास निर्माणको खाका बनाउने र नीतिगत व्यवस्था गर्ने जिम्मेवारी पनि ।
नेविसंघको पहिलो महिला अध्यक्ष बन्ने हुटहुटीसहित संगठन विस्तारका लागि देशभर पुगिन् गीता । तर, समयमा अधिवेशन नहुने समस्याका कारण उनको तयारी बिफल भयो । अर्को तर्फ उमेरहदका कारण उनले त्यो अवसर प्राप्त गर्न सकिनन् । तर, पार्टी राजनीतिबाट उनी सांसद् बनेकी छन् ।
नेविसंघको नेतृत्व गर्ने अवसर नपाए पनि उनका सामु सम्भावनाको नयाँ ढोका खुलेको छ । संसदीय राजनीतिमा उनी सिकारु हुन् । तथापि, युवा र हिमाली क्षेत्रको आवाजलाई संसद्सम्म पुर्याउने पर्याप्त आत्मविश्वास उनमा देखिन्छ । संसद् भवन छिर्दैगर्दा उनी अनुभवको लामो फेहरिस्त होइन, उत्साह बोकेर आएकी छन् ।
जसरी विद्यार्थी राजनीतिमा हुँदा केन्द्रमा रहेर पूर्व–पश्चिम जहाँ जे परे पनि पुगेकी थिइन् त्यसरी नै सदनमा नागरिकको आवाजलाई विशेषतः युवा महिलाको प्रतिनिधित्व हुने हिसाबले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने गीताले बताइन् ।
चुनाव प्रचारका क्रममा जिल्लाका कुनाकुनामा पुग्दा नागरिकको चेतना विस्तार हुँदै गएको अनुभूति उनले गरिन् । पहिलेजस्तो सडक बनाइदिन्छु, पुल बनाइदिन्छु, बिजुली ल्याइदिन्छु भनेर मात्र भोट पाइने स्थिति नरहेको उनको अनुभव छ ।
खासगरी युवालाई देशमै अड्याउने र ग्रामीण उत्पादन वृद्धि कसरी गर्ने भन्ने विषयमा अब केन्द्रित हुने उनको भनाइ छ । त्यसैगरी, हिमाली जिल्ला सोलुखुम्बुले जलवायु परिवर्तनका कारण ठूलो असर झेलिरहेको छ । यसलाई पनि संसद्मा प्रभावकारी ढंगमा उठाउने गीताको योजना छ ।
कांग्रेसमा पछिल्लो समय देखिएको आन्तरिक किचोलाबाट उनी निकै चिन्तित छिन् । पार्टीमा शिरपुच्छार २ कित्ता देखिएको छ । यसलाई जतिसक्दो चाँडो सल्ट्याउनु पर्ने उनको भनाइ छ । आज पार्टीले ठूलो झड्का बेहोरे पनि कांग्रेसको राजनीतिक सुन्दर भविष्यप्रति उनी विश्वस्त छिन् ।
