२८ सय ९० उम्मेदवारको जमानत जफत, ३५० लाई शून्य मत 

यसपटक काठमाडौंमा एमाले, कांग्रेस र नेकपाका उम्मेदवारको समेत जमानत जफत भएको छ । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाले जित हात पारेको थियो ।

फाल्गुन २७, २०८२

दुर्गा दुलाल

Deposits of 2,890 candidates forfeited, 350 received zero votes

काठमाडौं — हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका २ हजारभन्दा धेरै उम्मेदवारको धरौटी (जमानत) जफत भएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार यसपटकको निर्वाचनमा २८ सय ९० उम्मेदवारले जमानत समेत जोगाउन सकेनन् । 

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे १० प्रतिशत मत नल्याउनेमा प्रमुख दल कांग्रेस, एमाले, नेकपा र रास्वपाकै उम्मेदवार समेत छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिनेहरू धेरैको जमानत जफत भएको उनले बताए । उमेदवारहरूमध्ये जसले सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गर्छन् उनीहरूको जमानत फिर्ता हुने तर १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत रकम जफत हुने घिमिरेले बताए । यीमध्ये ३५० उम्मेदवारले एक मत समेत ल्याएका छैनन् । 

सूचना अधिकारी घिमिरेका अनुसार जमानत जफत भएका २८ सय ९० उम्मेदवारमध्ये ३ सय ५० जना उम्मेदवारले एक मत पनि प्राप्त गर्न सकेनन् । ती उम्मेदवारहरूले आफैलाई समेत मत नहालेको पुष्टि  भएको उनले दाबी गरे । प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेकामध्ये जम्मा ५१६ उम्मेदवारले मात्र कुल सदर मतको १० प्रतिशत कटाएर जमानत जोगाउन सफल भएका छन् । 

निर्वाचनसम्बन्धी कानुनअनुसार कुनै पनि उम्मेदवारले निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गरेमा मात्र जमानत रकम फिर्ता हुन्छ । सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएको खण्डमा उक्त धरौटी रकम राज्यको ढुकुटीमा जम्मा हुने प्रावधान छ । 

जमानत जोगाउन सफल (१० प्रतिशतभन्दा बढी मत ल्याउने) ५ सय १६ जना उम्मेदवारले धरौटी रकम फिर्ता पाउनका लागि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ९० दिनभित्र निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ । रितपूर्वक निवेदन दिएपछि उनीहरूले रकम फिर्ता पाउने आयोगले जनाएको छ । 

काठमाडौंमा एमाले, काग्रेंस र नेकपाका उम्मेदवारको समेत जमानत जफत भएको छ । काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाले जित हात पारेको थियो । 

२०७९ सालको निर्वाचनमा एमाले, कांग्रेस र एकीकृत समाजवादीका एक जना मात्र उम्मेदवारको जमानत जफत भएको थियो । त्यस्तै माओवादीको २ र जनमत पार्टीको ३८ जनाको जमानत जफत भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका ८२ उम्मेदवारको जमानत जफत भएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका ११४, लोकतान्त्रिक समाजवादी पार्टीका ४३, जनता समाजवादी पार्टीका ६२ र नागरिक उन्मुक्ति पार्टीका २० जनाको जमानत जफत भएको थियो ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully